पाँचथर–लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । शंकर पोखरेलले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई बिहीबार दिउँसो तीन बजेसम्मको समय दिएर सरकार गठनका लागि दाबी पेस गर्न भनेका थिए । सोही समयभित्र प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गर्न लागेका हुन् ।
विपक्षी गठबन्धन दलका नेताहरु प्रदेश प्रमुखलाई भेट गर्न बिहीबार ११ बजेतिर जाने बताइएको छ । काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले आज सरकारका लागि दाबी पेस गर्न लागेको हो । आजै साँझसम्म प्रदेश प्रमुखले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने माओवादी प्रमुख सचेतक तुलाराम घर्ती मगरले रातोपाटीलाई बताए । विपक्षी गठबन्धनले यसअघि नै केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको थियो ।