काठमाण्डौं । साबिक बिजेता समेत रहेको पोर्चुगल बेल्जियम संग पराजित भएको छ । गए राति भएको यूईएफए युरो कप अन्तर्गत सम्पन्न खेलमा पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा बेल्जियमले साविक विजेता पोर्चुगलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
बेल्जियमको जितमा थोर्गेन हजार्डले निर्णायक गोल गरे। उनले खेलको ४२ औं मिनेटमा गरेको गोल पोर्चुगललाई हराउन पर्याप्त बन्यो । दोस्रो हाफमा पोर्चुगलले बेल्जियममाथि दवाब बढाए पनि गोल फर्काउन सकेन। यद्यपि केही राम्रा अवसरहरु भने बनाएको थियो।