पाँचथर । फिदिममा चेसिस नम्बर शंकास्पद देखिएको एक बोलेरो जिप थप अनुसन्धानका लागि इटहरी पठाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले अनुसन्धानका क्रममा नियन्त्रणमा राखिएको मे १ च ३८७८ नम्बरको बोलेरो जिपलाई कागजात र चेसिस नम्बरमा फरक भेटिएपछि मंगलबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी (सुनसरी) पठाइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथर, फिदिमका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक पूर्ण गौतमका अनुसार बोलेरो जिपको प्रारम्भिक जाँचका क्रममा कागजातमा उल्लेख गरिएको चेसिस नम्बर र सवारीमा रहेको नम्बर नमिलेको पाइएको छ।
उनका शब्दमा, “कागजात र चेसिस नम्बरबिच स्पष्ट रूपमा फरक भेटिएकाले प्राविधिक परीक्षण तथा कागजातको सत्यता पुष्टि गर्न इटहरी पठाइएको हो। अब त्यहाँको परीक्षणपछि मात्र वास्तविकता पुष्टि हुनेछ,” गौतमले बताए।
पाँचथर झापा आवतजावत गर्दै आएको अवस्थामा शंकास्पद देखिएपछि सो बोलेरो फिदिममै रोकिएको थियो। कागजात र सवारी विवरणमा अनियमितता देखिएको आशंकामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
गौतमले थपे, “यदि चेसिस नम्बर, कागजात वा दर्तासम्बन्धी अनियमितता प्रमाणित भएमा कानुनअनुसार कारबाही गरिनेछ। अहिलेको चरणमा सवारी थप परीक्षणको प्रक्रियामा छ,” उनकाे भनाइ छ।




