सुनसरी । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले भारतबाट अवैधरुपमा आयात गरेर इञ्जिन र चेसिस नम्बर किर्ते गरी चलाइएका ५ वटा बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले ताप्लेजुङबाट बिभिन्न मितिमा नियन्त्रणमा लिएका ती सवारीसाधन मंगलबार सार्वजनिक गरेको हाे । नियन्त्रणमा लिएका सवारीसाधनको विवरण यातायात व्यवस्था कार्यलयमा समेत नमिलेको प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
कार्यालयले नियमित जाँच तथा अभिलेख परीक्षणका क्रममा फरक–फरक किसिमका त्रुटि, परिवर्तन र अभिलेख नपुगेका सवारीसाधन फेला पारेको जनाएको छ । कार्यालयका अनुसार को १ ज ११११ नम्बरको सवारीसाधनमा सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर एएफ३१एल३२७६४ भए पनि सवारीमा जडान गरिएको इन्जिन नम्बर डीडब्लू ४६०२३ भेटिएको छ।
त्यसैगरी ना २ ज ७९५५ नम्बरको सवारीसाधनमा परिवर्तन गरिएको इन्जिन नम्बर रेकर्डमा भएअनुसार नपाइएको, रङ परिवर्तनसमेत गरिएको पाइएको छ। उक्त सवारीमा जीजी८१एफ४१४८४ र जीए९४एल६९४८१ इन्जिन नम्बर उल्लेख भएको छ भने चेसिस नम्बर एमए१पीएसजेडजीएके९८एम७७६४४ रहेकाे छ ।
यस्तै, ना २ ज ८४८३ नम्बरको सवारीसाधन यातायात व्यवस्था कार्यालय नारायणीको अभिलेखमा नपरेको तथा सवारी दर्ता किताब संकलन नभएको पाइएको छ । उक्त सवारीको इन्जिन नम्बर जीबी९४डी२७२७८ र चेसिस नम्बर एमए१डब्लूइ२जीबीके९२डी८७४१८ रहेको ट्राफिक प्रहरीले जनाएको छ।
ना ३ च ३९२८ नम्बरको सवारीसाधन कम्पनीबाट आयात नभएको अवस्थामा इन्जिन नम्बर रि–पञ्च गरिएको भेटिएको छ । सो सवारीको इन्जिन नम्बर डीएफ१४एल३८५४२ र चेसिस नम्बर एमए१बीपी४डीएफसी१२एल७४०२७ रहेको छ। त्यसैगरी गा १ च ६६५४ नम्बरको सवारीसाधन आयातकर्ता कम्पनीले आयात नगरेको तथा यातायात व्यवस्था कार्यालय गण्डकीलाई विवरण उपलब्ध नगराएको पाइएको छ। उक्त सवारीको इन्जिन नम्बर जीएफ७४इ६०८६९ र चेसिस नम्बर एमए१एक्सबी२जीकेए७२इ२६५८६ रहेको छ ।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएका सबै सवारीसाधन थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइने जनाइएको छ।




