मलाई हल्का सुनौलो रंगको उदाउदै गरेको सुर्य, निलो आकासमा फाटेको अस्ताउदै गरेको सुर्य पनि मनपर्छ । सललल बगेको पानीको आवाज, हावाको बेगको त्यो धुन एकदमै मिठो लाग्छ । सब्जी मन्डिको भिड भन्दापनि सेउतीको पुलमा एक्लै घन्टौ बस्न सक्छु ।
शहरको कोलाहल भन्दा शान्त गाउँ औधी मनपर्छ । साना ,छिटै टुङिने गल्ली भन्दा अग्ला डाडा ,फराकिला फाँट अनि घुम्तिमाथि बाट खुल्ला देखिने बजार असाध्यै मनपर्छ । अचेल मलाइ भिडभाड भन्दा एकान्त मनपर्छ ।
मलाइ चराले गुड बाहिरबाट आफ्ना बचेरालाइ चारो खुवाउदै गरेको दृश्य त झन उखपात नै मनपर्छ । पर बिजुलीको तारमा बसेर चुम्मन गरेकी भगेरी पनि मनपर्छ । पानीको थोपा माटोमा खस्दाको त्यो बास्ना पनि प्रिय लाग्छ । बिहानै कुहु कुहु आवाज, को हाँे को हाँे भन्ने चराको सुसेली, मोबाईल को अलार्म भन्दा मिरमिरे बिहानिमा कुखुराले बिझ्याइदिएको कुखुरी काँ….पनि मनपर्छ ।
अचेल माया प्रेम प्रती मेरो धारणा परिवर्तन भएको छ । म प्रेमलाइ झन्डै टेलिफोन र मोबाईल फोनसँग दाज्न थालेको छु । पहिला ल्यान्डलाइन फोन गाउँभरी एउटै हुन्थ्यो । लामो समय कुरा गर्दा नि डिसकनेक्ट नहुने तर आज भोलिको प्रेम मोबाईल जस्तो नेटवर्क गैहाल्ने भएको हो कि जस्तो लाग्न थालेको छ । कोठा भित्रबाट संसार त पुगिन्छ तर नजिकै भएको साथी सन्चै त छ, थाहाहुदैन ।
प्रेम त हाम्रा हजुरबुवा हजुर आमाको पालामा देखिन्थियो कोशौँ टाढाबाट प्रेम पत्रमा कति हो, कति प्रेमका थोपा डुबुल्की मारी ती पत्र बर्षौ सम्म कन्तुरमा सारिको थाङ्नुमा त कहिले जनैले बाधेर धौराको गोजिमा सहिद हुन्थिए । तर अचेल प्रेम भ्यालेनटाइनडेमा छताछुल्ल देखिन्छ कि त शहरका पार्कमा जादा देखिन्छ । त्यो प्रेमलाई कैले मैले अङ्गालोमा पोखिएको देखेको छु कि एक अर्काको ओठमा लत्पतिएको । अचेल असल प्रेमि खोज्न जाने नै हो भने कि दुई घन्टाको सिनेमा हेर्न जानुपर्छ कि त लेखकको किताबमा मा,नत्र अन्त भेट्न निकै गाह्रो छ ।
एकदिन होइन होइन हप्ता महिना नै देखे त्यस्तो प्रेम जुन बिल्कुल लेखकले मिलाएर लेखे जस्तो थियो । कुनै थिएटरमा नाटक हेरे जस्तो नि थियोे । यो भिडभाड भन्दा अलि टाढा, सामाजिक संजालमा ब्याप्त भन्दा पर छुटै, हेर्दा बेबिसालको थियो त्यहाँ प्रेम ।
धरानमा साना अनि सफा गल्ली प्रसस्त छन, क्याफे, मःम हाउस पनि जहाँ त्यही छन् । यि मध्येको सुनसान कफि सप छुट्टै अनि शान्त छ । शान्त अनि सुनसान ठाउँ त्यसैनी मनपर्ने मलाइ । झन त्यहाँ १९९० का गित मधुरो आवाजमा बज्दै हुन्थियो। विभिन्न कलात्मक ढुंगाको आकृतिले सजिएको त्यो क्याफे,अग्रेजी, नेपाली साहित्यका गजब संग्राहलय नै थियो, त्यहाँका किताब पनि कलात्मक ढंगले सझाइएका थिए। सुनसान त्यो कफि सप बिस्तारी मेरो रोजाई बन्दै थियो ।
घन्टौँ त्यहा बस्न म कफि भन्दा नि किताब खानु गएको हु कि, जस्तो लाग्थ्यो । मैले सरुभक्तको पागल बस्ती त्यही कफि क्याफेमा जादा पढेकी थिए । काठको कलात्मक कपमा कफि, सुनसान ठाउँ, मिठा पुराना गीत, सम्झिदा नि आनन्द आउने । कहिले काहीँ म त्यसैनी फर्केकी छु बस्ने ठाउँ नपाएर ।
त्यो कफि सप श्रीमान श्रीमतीले चलाएको हुनुपर्छ काउन्टरको छेउमा हल्लिने कुर्सी मा पातलो मजेत्रो ओडेकी अधबैंसे महिला उनिको धागो बाट खै के बुनिरकी हुन्थिन । ती पुरुष भने भ्याइ नभ्याइ कहिले कप उठाउन त कहिले टेवल सफा गर्न कुदिरहेका हुन्थे ।मीठो मुस्कान सहित कफि अनि एउटा पुस्तक ट्रेमा राखेर सबै तिर सर्भ दिईरहेका हुन्थे । बेला बेला ती महिला तिर पनि पुग्थे । मजेत्रोले छोपेको टाउको थपथपाउदै कहिले पानी त कहिले कपमा नदेखिने खै के दिन्थे, देखिदैन थियो । म सधै त्यहाँ जाने हुदाँ पैसा दिदा र आउदा म ती महिलालाइ याद गरिरहेको हुन्थे । ती श्रीमान हुन क्यार, घरि घरी त्यो उनको डल्लो र कुरुस तानेर झोलामा हालिदिन्थे तर फेरि तानेर जिद्दी बच्चा झै बुन्न थालिहाल्थिन । आज भोलि मलाई कफि, किताब भन्दा ती श्रीमान श्रीमतिको प्रेम मनपर्न थालेको थियो । कफिको हरेक चुस्की लिदा होस या किताबका हरेक पाना पल्टाउदा होस मेरो ती महिला अनि उनको श्रीमान तिर ध्यान गइहाल्थ्यो ।
तिनले कलेजे रंगको स्विटर बुन्दै रछिन क्यार, कहिले गला बुन्थिन त कहिले कम्मर, स्विटर बढ्दै जाँदै थियो । अनि उनको डल्ला सानो हुँदै थियो । श्रीमानको लागि बुन्दै रछिन क्यार, घरी घरी त्यो स्विटर उनको शरिरमा नापिरहेकी हुन्थिन । बेफुर्सदिलो श्रीमान सानो बच्चा झै उनको हरेक कुरा मानेझै लाग्थियो । सायद, अहिले उनी त्यो स्विटरको बाहुला बुन्दै छिन् क्यार,सकिन लागे जस्तो देखिन्थ्यो त्यो स्विटर । उनी खुसी थिइन,क्याफेमा आज ती दुई श्रीमान श्रीमती एउटा पकाउने केटो अलि पर पिङ्गमा कफि खादै प्रेमिल जोडि अनि म मात्र थियौँ । म पनि किताब पढ्दै मुसुक्क हासेको त्यो केटोले देखिहालेछु । ओ हो ! दिदि किन एक्लै मुसुमुसु हास्नु भएको भनेर सोध्यो । मैले “जे पायो त्यही” भने छु, खासमा म नारायण वाग्लेको पल्पसा क्याफे पढ्दै थिए । १९ औ अङ्कमा त्यो सानी केटिले साँरुलाई जे पायो त्यही भनेको पढ्दै थिए, त्यही निस्केछ मुखबाट । फेरि हत्त न पत्त केही होइन भने…. म निस्किन लागे क्याफेबाट आज क्याफेमा चहलपहल कम थियो । मेरो फिर्ता पैसा लिन खुद्रा रहेनछ मैले फेरि अर्को पटक मिलाउला भने ती महिला मलाइ हेरिन मुसुक्क हासिन, म हाँस्न खोज्दै थिए उनी फेरि स्विटर हेर्दै दङ्ग हुँदै थिइन ।
मलाइ थाहाथिएन कि उनी सँगको त्यो भेट मेरो अन्तिम हुनेछ भनेर । कयौं दिन म त्यो क्याफे जान भ्याइन, एक हप्ता पछि जादा क्याफे बन्द पाए । त्यै पनि यसो बाटो पर्दा गैरहेँ । तर महिनाँै दिनसम्म क्याफे बन्द भयो । एकदिन अचानक मैले त्यो क्याफे खुल्ला देखे, भित्र पसे । क्याफे अलि सुनसान थियो । केही नमिले जस्तो, केही हराए जस्तो । न पहिलेको जस्तो १९९० का गित बझ्दै थियो, न त ती किताब मिलेका थिए, लाग्थ्यो । चोरले चोरी गर्न केही खोजे जस्तो छरपस्ट । ती श्रीमान लाई देखे,लामो समय क्याफे बन्द थियो नि दाइ भने, अ.. अ … गर्दै उनी केही नभनुला झै गरे । मलाइपनी अफ्टेरो लाग्यो । उनकी श्रीमती बस्ने कुर्सिमा आँखा गयो उनलाई देखिन । बरु उनको त्यो टाउको छोप्ने सल देखे । यतै कतै गएकी छन् जस्तो लाग्यो । धेरै बेर बस्दापनी उन्लाइ देखिन ,सोधु सोधु भयो । कतै रिसाउने पो हुन कि जस्तो पनि लाग्यो । पैसा तिर्ने निहुँ गर्दै छेउमा गए र सोधे दाइ भाउजू देख्दिन नि ? उनी पैसा गन्दै गए,फिर्ता दि । दाइ भाउजू कता ? फेरि सोधु लाग्यो र सोधे, निरास हुँदै भने भाउजुको मृत्यु भयो नि । म त छक्क परे, उनी भन्दै गए ‘उनलाई ब्लड क्यान्सर भएको थियो । उनलाई थाहाथियो उनी केहिदिनकी पाहुना हुन, छोराछोरी बाहिर पढ्न गएका छन् । उनी जिद्दी थिइन, घरमा रेखदेख गर्ने मान्छे खोज्दा पनि उनि मसँग जिन्दगिको अन्तिम समयमा हरेक क्षण संगै बिताउन चाहान्थिन । बिरामी थिइन तैपनी क्याफे लिएर आउथिए । उनलाइ १९९० का गित मनपर्थो, किताब कि सोखिन थिन उनी ।तर बहिनी आज उनी मसँग छैनन् ।’ भन्दै आँसु खसाए, कुनै किताब अनि कुनै सिनेमा जस्तो प्रेम मैले देखिरहेको थिए….
हो मार्मिक कथा थियो यो ।
उनको कुराले मलाइ नराम्रो लाग्यो तर मेरो आँसु खसिहालेको थिएन । तबसम्म आशु खसेन जब बोल्दा बोल्दै मेरो ध्यान उनले लगाएको लुगामा गयो । उनले त्यही कलेजी रंगको स्विटर लगाएका थिए जुन उनकी श्रीमतिले बुन्दै थिइन । त्यो देख्दा सम्म मेरो आँसु खसेन, आँशु त त्यो बेला खस्यो जब मेरो नजर उनको त्यो देब्रे बाहुला पट्टि गयो जुन उनिले बुन्न भ्याएकै थिइनन……..र्र्
“आफ्नालाई आफु भएको महसुस गराईरहनुहोस के थाहा भोलि त्यो बताउने मौका नै नआउने पो हो कि?”
(भिडियोपनि )