काठमाण्डाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मुक्कुमलुङ भनिने पाथीभरामा केबुलकार निर्माण खारेज गर्नुपर्ने भन्दै आन्दोलनरत पक्षसँग गृहमन्त्री रमेश लेखकले भेटघाटको समय मिलाएको बताएका छन् । लेखकले सोमबार साँझ ६ बजे भेटघाटको समय मिलाएको भट्टराईले बताए ।
‘उहाँहरूले माननीय गृहमन्त्रीज्यूसमक्ष भेटेर आफ्ना कुरा राख्न चाहनुभएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नुभएअनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरेँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘माननीय गृहमन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनुभएको जानकारी गराउँदछु ।’
उनले आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग आइतबार बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म केबुलकारका बारेमा सौहाद्रपूर्ण संवाद गरिएको पनि बताएका छन् । ताप्लेजुङका सांसदसमेत रहेका उनले आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्तामार्फत समस्याको समाधान गर्न पनि अनुरोध गरेका छन् ।
सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरिसकेको छ । उक्त टोलीसँग केबुलकार खारेजीको माग गर्दै आएका पक्षबाट गठित वार्ता सहजीकरण समितिले यही २१ र २२ माघमा वार्ता गरी ६ बुँदे सहमति गरिसकेको छ ।
तर, त्यसबेला मौखिक रूपमा कम्तीमा १० दिनसम्म केबुलकार निर्माणको काम स्थगित गर्ने भनिएकोमा त्यसो नगरिएको र ताप्लेजुङमा पक्राउ परेका दुई जनालाई सशर्त रिहा गरिएको भन्दै आन्दोलनरत पक्ष असन्तुष्ट छ । यसअघि शुक्रबार नै उनीहरूले सरकारले आन्दोलनलाई गम्भीरतापूर्वक नलिएको भन्दै अब कर्मचारी नेतृत्वको वार्ता समितिसँग वार्ता नगर्ने घोषणा गरिसकेको छ ।
मन्त्रीस्तरमा गठित वार्ता टोलीसँग मात्रै संवाद गर्ने जनाएको छ । आन्दोलनरत पक्षले गठन गरेको वार्ता सहजीकरण समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले मन्त्रीस्तरको सरकारी वार्ता टोलीले मात्रै केबुलकार निर्माणका कारण उत्पन्न समस्या समाधान गर्न सक्ने बताए ।
‘अहिलेको समस्या कर्मचारीको तहमा गठन भएको वार्ता समितिले सम्बोधन गर्न सक्दैन,’ उनले भने, ‘त्यही भएर हामीले समस्याको सम्बोधन गर्नेगरी मन्त्रीस्तरीय वार्ता टोली गठनको माग गरेका हौँ ।’
भट्टराई संयोजक रहेको सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच आइतबार बिहान पनि छलफल भएको थियो ।छलफलमा सहभागी पहिचानवादी मोर्चामा रहेका एक नेताले वार्ता ४० मिनेट भएको तर वार्ता निष्कर्षविहीन सकिएको बताए ।