विगत केही वर्षअगाडिसम्म पाँचथरमा बाढीपहिरोको नाम खासै सुनिदैनथ्यो । बुढापाकाहरू २०२५ सालको बाढीपहिरोलाई सम्झिन्छन् । तर, पछिल्ला केही वर्षयता वर्षायामपिच्छे नै बाढीपहिरोले जनधनको ठूलो क्षति गरिरहेको छ ।
यही २ असारमा पाँचथरको याङवरकमा बाढीपहिरोले ठूलो क्षति पुर्यायो । १ सय ४ परिवार विस्थापित भए भने सडक, पूर्वाधार र खेतीयोग्य जमिनमा ठूलो क्षति भयो । अहिले पनि स्थानीय बासिन्दा त्रासमा छन् । अवरिल वर्षासँगै बाढीपहिरो गएको थियो । २ असारपछि भने ठूलो पानी परेको छैन ।
यही बेला ताप्लेजुङमा बाढीपहिरोले चार जनाको मृत्यु भयो भने ठाउँठाउँमा धनसम्पत्तिमा क्षति पुर्यायो । गत वर्ष हेवाखोलाआसपासका क्षेत्रमा बाढीपहिरोले छ जनाको ज्यान गयो भने धनसम्पत्तिमा ठूलो क्षति पुग्यो । फालेलुङ गाउँपालिका र फिदिममा ठूलो क्षति पुग्यो । ३ असारमा गएको बाढीका कारण मेची राजमार्गको पुलसहित पाँचवटा मोटरेबल पुल बगायो भने यकिन गर्न नसक्ने गरी क्षति पुर्यायो । जलविद्युत् आयोजना, सडक, खानेपानी बगायो । हेवाको तटीय क्षेत्रको खेतीयोग्य जमिन बाढीले बगायो । अलैँची र धानलगायतका बालीमा ठूलो क्षति हुन पुग्यो ।
यति मात्र होइन, २०७८ सालको कात्तिकको पहिलो साता भएको बेमौसमी वर्षाले पाँचथरमा ठूलो क्षति पुर्यायो । पाँचथरमा ३१ जनाको ज्यान गयो । सबैभन्दा ठूलो क्षति चैँ मिक्लाजुङ गाउँपालिकामा भएको थियो । मिक्लाजुमा २२ जनाको मृत्यु र ३ जना बेपत्ता भए । गाउँहरू नै छियाछिया भए । अहिलेसम्म पुनः निर्माणको प्रक्रिया सकिएको छैन ।
२०७४ सालमा पाँचथरको फालेलुङ गाउँपालिकामा गएको पहिरोले चार जनाको मृत्यु भएको थियो भने गाउँहरूमा क्षति पुगेको थियो । किन यस्तो विपद् आइरहेको छ भनेर अध्ययन भएको पाइँदैन । भौगोलिक अवस्था, जलवायु परिवर्तन, जथाभावी सडक निर्माण, जलविद्युत् आयोजनाको काम तथा वन फँडानीलगायतका कारण देखाइँदै छ । एकैठाउँमा अविरल वर्षा भएर वितण्डा मच्चिने गरेको छ । यस्तै पिरलो छिमेकी जिल्ला ताप्लेजुङले पनि खेपिरहेको छ ।
याङवरकमा कति पानी परेको रहेछ भनेर खोजी गर्दा यकिन तथ्याङ्क भेटिएन । पाँचथरको मेमेङ र तमोरमा रहेको जल तथा मौसन विज्ञानको तथ्याङ्क हेर्दा पानी कम परेको देखिन्छ । तर, गाउँलेहरूका अनुसार केही घण्टा लगातार वर्षा भएको थियो । ‘यत्रो प्रकारको विपत्ति कहिल्यै पनि देखिएको थिएन,’ याङवरकका इन्द्रकुमार वेघाले भने, ‘गत वर्ष बाढी आएर पुल बगाए पनि यस सालको जस्तो तहसनस भएको थिएन ।’
उनले भनेझैँ गाउँहरू पहिरोले तहनसज बनेका छन् । बाढीले पुष्पलाल–मध्यपहाडी लोकमार्ग ध्वस्त बनाएको छ भने दुईवटा पुल बगाएको छ । खेतीयोग्य जमिनमा उत्तिकै क्षति भएको छ । ६० वर्षीय ओयामका वासुदेव चौहानलाई यत्रो ठूलो बाढीपहिरो गएको अनुभव पहिलो रहेछ । उनले भने, ‘भयसहितको अवस्था सिर्जना भयो । बाटो, बिजुलीमा क्षति पुग्यो । म त बसाइँ सरेर जाने सोचमा पुगेको छु ।’
खेतीयोग्य जमिन ध्वस्त हुँदा धेरै किसान चिन्तामा परेका छन् । अझै कति वर्षा हुने हो र क्षति पुर्याउने भन्ने यकिन छैन । किसानले राहत पाएको रेकर्ड नै छैन ।
बर्सेनि बाढीपहिरोले सास्ती दिइरहँदा जथाभावी विकास निर्माणका कामहरू रोकिएका छैनन् । भिराला पहाडी भूभागहरू पहिरोको जोखिममा छन् । जोखिमलाई ख्याल नगरी खोलाको आसपासमा बनाइएको संरचनामा ठूलो क्षति पुग्ने गरेको छ । यसपालि पनि यस्ता संरचना भत्काएका छन् । पानी एकीकृत भएका कारण ठूलो क्षति पुगेको पाइएको छ । तर जोखिम न्यूनीकरण, राहत, उद्धारजस्ता काममा गतिलो पूर्वतयारी छैन ।
जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहअन्तर्गतका विपद् व्यवस्थापन समितिका काम कागजी मात्र छन् । पीडितलाई राहत दिने काम खासै प्राथमिकतामा रहेको देखिँदैन । ‘धेरै क्षति सडकले गर्दा भएको देखिन्छ । हामीले यहाँ निर्णय गरेर कार्यान्वयन गर्ने हो,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले भने, ‘प्रतिकार्य योजना बनाएका छौँ । बाढीपहिरो कहाँ कसरी जान्छ, टुङ्गो हुँदैन । प्राकृतिकभन्दा पनि मानवनिर्मित क्रियाकलापका कारण बाढीपहिरो गएको देखिन्छ ।’
हरेक वर्ष बाढीपहिरोले ठूलो क्षति पुर्याउँदा संघ र प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न सकेको छैन । विपत्तिपछिको उद्धार, राहत तथा पुन: निर्माणमा ध्यान दिएको देखिँदैन । विकास निर्माण प्रकृतिमैत्री गर्नका लागि तीनै तहको सरकारको ध्यान पुगेको छैन ।