काठमाडौँ ।इलाम–२ को उपनिर्वाचन जित्ने गरी रणनीति बनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार तय गर्न भने सत्ता गठबन्धनको निर्णय कुरिरहेको छ।केन्द्रमा सत्ता समीकरण फेरिँदा रास्वपा एमाले र माओवादीको कित्तामा पुगेको छ। त्यसैले अहिले नै उम्मेदवार टुंगो लगाउन नसक्ने स्थितिमा पुगेको हो।
किनभने, रास्वपाले इलामकै ‘भूगोल र जनभावना बुझेको’ पात्र खोजिरहेको छ। जसका लागि रास्वपाका शीर्ष नेताहरूले नै एमालेबाट उम्मेदवारीको तयारीमा रहेका सुहाङ नेम्बाङलाई पनि प्रस्ताव लगेका थिए। सुहाङले प्रस्ताव अस्वीकार गरेपछि अलमलमा परेको रास्वपा सत्ता समीकरण फेरिएसँगै एमालेले उठाउने उम्मेदवारमा नजर घुमाइरहेको छ।
इलाममै चुनावको पृष्ठभूमि तयार गर्न लागिपरेका सुहाङलाई छाडेर एमालेले एकीकृत समाजवादीका ‘सम्मानित’ नेता झलनाथ खनाललाई टिकट दिने सहमति गर्न सक्ने सम्भावना पनि रास्वपाले आकलन गरेको छ।
इलामकै अर्को क्षेत्रबाट गत निर्वाचनमा पराजित खनाल भने नयाँ गठबन्धनपछि इलामबाट निर्वाचन लड्न पाउनेमा आशावादी छन्। किनभने, खनाल पटकपटक वाम एकताको पक्षमा माहोल बनाउन प्रयासरत थिए। उनको प्रयासलाई बल पुग्ने गरी प्रचण्डले एमालेसहितको गठबन्धन बनाएपछि उनको आशा अझै शक्तिशाली बनेको छ।
सोही कुराको संकेत गर्दै आइतबार दिउँसो नेपालखबरसँग खनालले भनेका छन्, ‘अहिले आनन्दले बसेको छु। फेरि खुट्टा दुखाउनुपर्ने स्थिति आउन सक्छ। डाँडाकाँडा कुद्नुपर्ने अवस्था होलाजस्तो छ।’खनालले वाम एकता हुँदा त्यसको प्रभाव इलामको निर्वाचनलाई समेत पर्ने दाबी गरे।‘इलामको चुनावबारे छलफल हुँदै छ। वाम एकता त हुन्छ नै जस्तो लाग्छ, भई नै सक्यो। त्यसले इलामको निर्वाचनलाई प्रभाव पार्छ,’ उनको दाबी छ।
एमालेले निर्णय लिइसकेको छैन। एमाले इलामका उपाध्यक्ष उदयबहादुर राईका अनुसार अहिलेसम्म ६ जना आकांक्षीले पार्टीमा पत्र पठाएका छन्। उनका अनुसार आगामी चैत ५ गतेसम्म आकांक्षीको नाममध्येबाट एकजनाको सिफारिस केन्द्रमा पठाउने तयारी छ।
यसरी निवेदन दिनेमा सुहाङ पनि छन्। उनी केही हप्तादेखि नै इलाम पुगेर त्यहाँको जनभावना बुझिरहेका छन्।
सुहाङ बुवा सुवास नेम्बाङको विरासत छाडेर एमालेबाहेक अन्य दलबाट निर्वाचन लड्ने मुडमा छैनन्। एमालेका शीर्ष नेताहरू पनि सुहाङलाई नै उठाउने तयारी भइरहेको दाबी गर्दै आएका छन्। यद्यपि, फेरिएको समीकरणले अन्तिम समयमा उम्मेदवार फेरिन सक्ने सत्ता गठबन्धनका नेताहरूको बुझाइ छ।
यस्तो अवस्थामा सुहाङलाई चुनाव उठाउँदा जित्न सकिने रास्वपाको आकलन छ। स्व. सुवास नेम्वाङको विरासत, पहिचान पक्षधर मत, स्थानीयले रुचाएको पात्र र युवा भएकाले सुहाङलाई पार्टीमा ल्याउने कसरत रास्वपाले एक महिनाअघिबाटै गरेको हो।
तर, रास्वपाको प्रस्तावलाई नेम्बाङले स्वीकारेका छैनन्। ‘एमालेले चाँडै उम्मेदवार टुंगो लगाउला, त्यहाँ झलनाथ खनाललाई अवसर दिएको खण्डमा हाम्रो कसरत पुनः सुहाङलाई नै उठाउनेमा हुन्छ,’ रास्वपाका एक केन्द्रीय नेता भन्छन्, ‘अन्य केही नामहरू पनि छन्, भोलि बैठकमा विस्तृतमा छलफल होला।’इलामकै उपनिर्वाचनलाई मुख्य विषयवस्तु बनाएर रास्वपाले सोमबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।
रास्वपा सांसद अशोक चौधरीले भने, ‘हामी जित्ने गरी रणनीति बनाइरहेका छौँ। विभिन्न पात्रमाथि छलफल भइरहेको छ।’उनले सम्भावित उम्मेदवारको नाम भने खुलाउन चाहेनन्। रास्वपाले गत १८ फागुनमा ६ जना सांसदलाई इलामका ६ वटै पालिकामा पठाएको थियो।
इलामबाट फर्किएको सांसदको टोलीले आइतबार त्यहाँको वस्तुस्थितिबारे महामन्त्री डा. मुकुल ढकाललाई ब्रिफिङ गरेको छ।
आइतबार बिहान सिंहदबारस्थित संसद सचिवालयमा ६ सांसदलाई बोलाएर महामन्त्री ढकालले छलफल गरेका थिए।केन्द्रमा गठबन्धन भए पनि इलाममा भने एक्लै निर्वाचन लड्ने रास्वपाले बताएको छ। सांसद चौधरीले भने, ‘हामी इलामको चुनावमा गठबन्धन गर्दैनौँ, इमानदार र जित्न सक्ने अनुहार हाम्रो रोजाइमा पर्छ।’
इलाममा रास्वपाबाट उठ्ने रहर केन्द्रीय सदस्य रमेश प्रसाईंले पनि राखेका थिए। तर, उनको नाममा इलामका जनताबाट राम्रो प्रतिक्रिया नआएको इलाम पुगेर आएकामध्ये एक सांसदले भने। यसबारे पार्टी महामन्त्रीलाई पनि जानकारी गराइसकिएको ती सांसद बताउँछन्।