दिपक बोहोरा । विशाल घलानको खेलको सुरुवाती मिनेटमै गरिएको निर्णायक गोलको बलमा पाँचथर क्लब पाँचथरले ए–डिभिजन क्लब संकटा क्लब काठमाडौंलाई स्तब्ध पार्दै अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
शनिबार पथरी रंगशालामा सम्पन्न रोमाञ्चक तेस्रो क्वार्टरफाइनल खेलमा पाँचथरले संकटा क्लबलाई १–० गोल अन्तरले हरायो। खेलको सुरुवातमै देखिएको पाँचथरको आक्रामक खेलशैलीले संकटालाई दबाबमा राख्यो। खेलको दोस्रो मिनेटमै पाँचथरका उत्कृष्ट फर्ममा रहेका फर्वार्ड विशाल घलानले कप्तान रोशन आङ्देम्बेको पासमा उत्कृष्ट फिनिसिङ गर्दै निर्णायक गोल गरे।
घलानको सो सुरुवाती गोल नै खेलको टर्निङ पोइन्ट सावित भयो। गोल पछि पाँचथरले खेलमा पकड जमाए पनि बाँकी समय थप गोल गर्न भने सकेन। अर्कोतर्फ, संकटाले बराबरी गोल फर्काउने प्रयास गरे पनि पाँचथरको सशक्त रक्षात्मक पंक्तिले ती अवसर निष्फल पार्यो।
गत वर्षको उपविजेता संकटा क्लब यसपटक गोल गर्न असफल रहँदै पहिलो खेलमै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। खेलभर दुवै टोलीले आक्रमण र प्रतिआक्रमणको लय कायम राखेका थिए। खेल अधिक प्रतिस्पर्धात्मक बनेको थियो भने दोस्रो हाफमा खेलाडीबीचको झगडाका कारण केही समय खेल अवरुद्ध पनि भएको थियो।
खेलमा दुबै टोलीका चार–चार खेलाडीले पहेँलो कार्ड प्राप्त गरे। पाँचथरका निरज कार्की, मौसम सुब्बा, आशिष चापागाई र दिनेश हेमजनले कार्ड पाए भने संकटाका मल्लिक, निङ्मा घिसिङ, सुजन चापागाई र सुजन मगरलाई रेफ्रीले चेतावनी स्वरूप कार्ड देखाए।
खेलमा गोलकर्तासमेत रहेका पाँचथरका विशाल घलान उत्कृष्ट प्रदर्शनका आधारमा म्यान अफ द म्याच घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गरे।
खेलपश्चात पाँचथर क्लबका प्रशिक्षकले टोलीको समर्पण र एकताले जित सम्भव भएको बताए। उनका अनुसार, “संकटा जस्तो ए–डिभिजन टोलीविरुद्ध जित्नु सानो कुरा होइन। हाम्रो खेलाडीहरूले आत्मविश्वास र योजनाबद्ध खेल देखाए, जसले परिणाम दिलायो।”
त्यसैगरी संकटा क्लबका प्रशिक्षकले भने खेलमा सुरुवाती गोल खाएर मानसिक रूपमा दबाबमा परेको स्वीकार गरे। उनले भने, “पहिलो पाँच मिनेटमै गोल खाँदा टोलीको तालमेल बिग्रियो। तर पाँचथरले राम्रो खेल खेले, उनीहरूको जित योग्य थियो।”
प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा ए–डिभिजन क्लब एनआरटी (न्यू रोड टिम) र झापा–११ आमनेसामने हुने कार्यक्रम छ।
कातिक २२ गतेसम्म सञ्चालन हुने यो गोल्डकपमा विजेता टोलीले पाँच लाख रुपैयाँ र उपविजेता टोलीले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा नेपालका नाम चलेका क्लबसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।




