पाँचथर । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १४ औं संस्करण भोलीबाट( सोमबार) फिदिममा सुरु हुँदैछ । जिल्लाको ८ वटै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरीय प्रतियोगिता भोलीबाट सुरु हुने भएको हो ।
सोमबारबाट सुरुहुने प्रतियोगितामा पाँचथरका ८ स्थानीय तहका विभिन्न विद्यालयका ६ सय ११ जना विद्यार्थी सहभागी छन्। प्रतियोगितामा सबै भन्दा धेरै फिदिम नगरपालिका र याङवरक गाउँपालिकाबाट समान १ सय १० जना विद्यार्थीहरु सहभागि हुदैछन् । यस्तै,फाल्गुनन्दबाट ८०,कुम्मायकबाट ८०,मिक्लाजुङबाट ८८,तुम्बेवाबाट ४९,हिलिहाङबाट ५८ र सबै भन्दा कम फालेलुङबाट ३६ जना विद्यार्थीहरु सहभागि हुने जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।
६ सय ११ जना विद्यार्थीहरु १ सय १० स्वार्णकाे लागी प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगितामा १ सय १० रजत र १ सय ४६ कास्य पदकको लागी प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिती पाँचथरले जनाएको छ । स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन्। प्रतियोगितामा भलिबल,कबड्डी, एथ्लेट्रिक,कराँते,तेक्वान्दो र उस्सु विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए। सबै खेलहरु छात्र र छात्राहरुको छुटाछुट्टै प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिता भोलीबाट ३० गते सम्म फिदिम माबिको खेलमैदानमा सञ्चालन हुनेछ । जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने खेलकुद समितिले जनाएको छ।