यो कोरोना संक्रमित सञ्चारकर्मीहरुको अनुभव हो । यी अनुभवीहरु राम समथिङ -लेखक, संकलक र विभिन्न पत्रिका, अनलाइन, सगुन सुसारा -लेखक, रेडियोकर्मी र विभिन्न पत्रिका, अनलाइन, तुलसी क्षितिज -नेपाल पत्रकार महासंघ पाँचथरका निवर्तमान सचिव, रेडियोकर्मी, घनेन्द्र केरुङ -रेडियोकर्मी, पत्रिका संचालक, विपुल अधिकारी -हाम्राे पत्रिका डटकम, शर्मीला सुनुवार -सुम्हा?लुङ एफ.एमसँग आवद्ध छन्, संलग्न छन् । यी सबै पाँचथरका हुन । पाँचथरमा रहेका थुप्रै सञ्चारकर्मीहरु मध्ये आठ जनालाई कोरोना संक्रमण भयो । त्यस मध्ये एक जनाको मृत्यु नै भयो । बाँकी सात जनामा छ जनाको अनुभव यस्तो छ ।
१) कसरी कोरोना संक्रमित हुनु भयो ?
घनेन्द्र ः— मलाई र विजय लाओती दाइलाई अचानक कहाँबाट संक्रमित भयौं थाहा नै भएन ।
तुलसी ः— कोरोना संक्रमित यसरी नै भए भन्न त ठ्याक्कै नमिल्ला तर बैसाख २७ गते भन्दापछि बजारमा खासै निस्किएन तर पनि बिहान दुध थाप्न र तरकारी खरिद गर्न बाहिर निस्किदा पनि उच्च सर्तकता अपनाएका थियौं । जेठ १ गते याद भएसम्म माच्छापुच्छ्रे बंैकको एटियामबाट पैसा निकालेको र २ गते बेलुका सामान्य खोकी लागे जस्तो भयो । जेठ ३ गते पिसिआर गरियो र होम आइसोलेसनमा बसीयो ६ गते ७ बजे तिर रिर्पोट आयो पोजेटिभ कसरी संक्रमित भयौ पत्तै पाइएन । जब हामीलाई संका लागेर टेष्ट गरियो त्यतिबेला पनि खासै कोरोनाको सिन्टम थिएन ।
विपुल ः— एक जाना दाइको अफिस गएको थिएँ, त्यहाँबाट सरेको हो ।
शर्मीला ः— म पेशाले सञ्चारकर्मी हुँ । हाम्रो रेडियोको अफिस छेउमा बस्ने एक जना व्यक्तिलाई कोरोना संक्रमण भएको रहेछ । र मलाई पनि अफिस आउने जाने क्रममा संक्रमण भयो ।
समथिङ ः— खै कहाँबाट, कोबाट र कसरी सर्यो भन्ने नै थाहा भएन । एकैचोटी २०७८ जेठ ०६ गते टाउको दुख्न थाल्यो ।
सुसारा ः— कताबाट, कोबाट यो कोरोनाले संक्रमित भएँ केही पत्तो नै पाइन । त्यस्तो संक्रमित मान्छेहरुसँग संगत पनि थिएन । हेलमेल पनि थिएन । मसँग सम्पर्कमा भएका व्यक्तिहरु कोही पनि संक्रमित थिएनन् । आजसम्म संक्रमित पनि भएका छैनन् । अचम्म लाग्छ ।
२) के के लक्षण (कस्ता कस्तो भयो) देखा पर्यो ?
घनेन्द्र ः— टाउको दुख्ने, जिउ दुख्ने, खोकी लाग्ने यी तीन वटा लक्षण थियो, देखियो ।
तुलसी ः— सामान्य सख्खा खोकी लाग्यो । टाउको दुख्ने, हात खुट्टा जिउ दुख्ने, ज्वरो आउने, छाती दुख्ने र घाँटी दुख्ने निन्द्रा लाग्ने लक्षण देखियो ।
विपुल ः— बेलुकी खाना खाएर सुुतेको थिएँ, त्यतिन्जेल केही लक्षण थिएन । भोलि बिहान उठ्दा ज्वरो, खोकी र केही दिन पछि ढाड दुख्ने । त्यसको केही दिन पछि स्वाद र गन्ध हराएको थियो ।
शर्मीला ः— मलाई चैं जिउ एकदमै धेरै दुख्ने, पुरा शरीर पोल्ने, आँखाको भित्री नानी दुख्ने, सामान्य रुघा खोकी लाग्ने, खानाको स्वाद थाहा नहुने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने आदि लक्षणहरु देखा परेको थियो ।
समथिङ ः— टाउको दुख्ने, जिउ दुख्ने, खान मन नलाग्ने, पखाला लाग्ने, काम गर्न जाँगर नलाग्ने, दिमागमा सकारात्मक कुरा नआउने, मासु सम्झिनै मन नलाग्ने, कसैले फोन गर्दा झर्को लाग्ने अरु कति हो कति ।
सुसारा ः— शुरुमा ज्वरो आयो, त्यस पछि खोकीले अध्याधिक सतायो । खोकी एकदम सुक्खा । खोकी आँखा निस्कला झैं लाग्ने । ज्वरो पनि अति उच्च आउने । ज्वरोमा चिसो ज्वरो । खानाको स्वादको मात्रा घट्दै गयो । नाकमा एक प्रकारको नमिठो गन्ध आइ रहने । अलि पछिबाट भोक लाग्ने । निद्रा अत्याधिक लाग्ने ।
३) कस्तो अनुभव (यो संक्रमण पछि के के सोच्नु) रह्यो ?
घनेन्द्र ः— संक्रमण पछि मैले अब के हुने यो भन्दा बढी दुखाइहरु थपिने हो कि ? जस्तो कुराले अलि तनाव बनायो ।
तुलसी ः— केही साथीहरुको सहयोग सद्भाव अतुलनीय रह्यो । तथापी धेरै जसो एउटा अपराधी भएको महसुस गरियो । स्थानीय तहले रातो रिबन बाँधेर यो अपराधीको घर हो भन्ने जस्तो संकेत लगाएर न सम्र्पक गरे न होम आइसोलेसनको अवस्था कस्तो छ भन्ने नै अनुगमन गरे । स्थानीय तहको कुनै भूमिका नै छैन संक्रमण फैलिए फैलियोस भन्ने जस्तो व्यवहार गरेको महसुस गरियो । मलाई लाग्छ जेठ ६ गते बेलुका ७ बजे रिपोट आयो रिपोट के भयो भनेर पत्ता लगाउन ५ जना जतिलाई फोन गरेर मात्र रिर्पोट पत्ता लाग्यो । हामी त सचेत भएर नै हामीबाट अरु एक जना पनि संक्रमित नहुन भन्ने चाहानाले कोठा बाहिर निस्किएनौ । तर कतिपय रिर्पोट खोज्दै अस्पताल जानु पर्ने अवस्थ समेत देखियो । स्थानीय सरकारले प्रभावकारी परिचालन गर्न नसकेको अनुभव भएको छ । संक्रमितहरु जथाभावी हिडिरहेको टुलुटुली हेर्नु पर्ने बाध्यता समेत छ । रिर्पोट आएको दिन नै आफु र आफ्नो परिवार संत्रमित भएको फेसबुकमा स्टाटस लेखियो कतै भुलचुकमा हामीसँग हेलमेल हुनेहरुलाई पनि सचेत हुनका लागि जानकारीका लागि । संक्रमित भएको सूचना सार्वजनिक गरे पछि झण्डै ३५० जति कल आए सबैका अनेक खाले औषधी उपचारका बिधी लाग्यो बाफ माथि बसेर ठुलो खड्कुलोमा सुप बनाएर पाइप लगाएर तान्नु पर्छ अनि मात्र निको होला जस्तो भए भरका बनस्पति पकाएर त्यसको वाफ लिनु पर्ला जस्तो उदेक लाग्दा भद्दा सल्लाह लाग्थ्यो । यतिका धेरै कोरोनाको उपचारमा प्रफेक्ट मान्छेहरु हुदाँ हुदै कोरोना कहाँबाट आयो जस्तो लाग्यो । सबै नेपाली डाक्टर, बैध्य नै हुन कि जस्तो लाग्यो । ३५० कलमा केही आत्मबल बढाउदा कोरोनालाई पराजित गर्न सकिन्छ भन्ने सुझाव आए भने अधिकांस फजुल र भद्दा मजाकका फोन जस्तो लाग्यो । ति मध्ये मुस्किलले एक दर्जन जती फोन उपयोगी आए । समाजले पहिले म बाट अरु संक्रमित नहुन भन्ने बुझने हो भने संक्रमणको चेन ब्रेक हुन्छ नत्र संक्रमितको संख्या थप्नु बाहेक अरु केही रहदैन ।
विपुल ः— संक्रमण हुँदा मान्छे डराउँछन् तर मलाइ डर लागेन । कोरोना जित्छु भन्ने आशा थियो, नराम्रो कुरा मनमा खेलेन ।
शर्मीला ः— मलाई कस्तो अनुभव भएको थियो भने मेरो रिपोर्ट कोरोना पोजिटिभ आयो भनेको सुन्दा म एकदमै आत्तिएको थिएँ । कुनै बेला त यस्तो पनि सोच्थेँ अब म निको हुदिन होला ?
समथिङ ः— ज्यान साह्रै बाँच्ला जस्तो लागेन । ०८ गते बेलुका शरीर शिथिल भएकोले काम गर्ने जाँगर जिरो, दिमागिय कुरा सकारात्मक नआएकोले सधैं पो यस्तै हुने हो कि जस्तो, साथीहरुको मृत्युको खबर सुन्दा हटयाटयाक जस्तो भयो ।
सुसारा ः— संक्रमण र मृत्युको खबर अति बढेकाले मनमा त्रास बढ्यो । कतै यति नै हो कि जस्तो पनि लाग्यो । कति साथीहरुले फेसबुकमा श्रद्धान्जली दिने हुन ? के के लेखेर बिलौना गर्ने हुन ? भन्ने लागि रह्यो । जीवनमा केही गर्नु पर्ने कामहरु अधुरै रहने भो भन्ने लाग्थ्यो ।
४) कोरोना संक्रमितलाई छिमेकीहरुले हेय, अछुतो घृणाको दृष्टिले हेर्छन् तपाइँ उनीहरुलाई के भन्नु हुन्छ ?
घनेन्द्र ः— कोरोना संक्रमितलाई छिमेकीले झन उनीहरुलाई प्रोत्साहन दिनु पर्छ । अन निको भइ सक्यो है सुधार भयो भन्ने, त्यसो गरे बिरामीको आत्मावल बढ्छ । थप प्रोत्साहन हुन्छ ।
विपुल ः— संक्रमितलाई नराम्रो दृष्टिले हेर्नु भनेको उसको मनोवल गिराउनु हो । संक्रमित भएको मानिसलाई कोरोनाले केही हुदैन । कोरोना जित्न सक्छस् भन्ने खालको प्रोत्साहन दिन जरुरी हुन्छ । उसलाई त्यो समय माया गर्नु पर्छ ।
शर्मीला ः— जसले अछुतो र घृणाको दृष्टिले संक्रमितहरुलाई हेर्छन् उहाँहरुलाई चैं म के भन्न चाहान्छु भने यो विश्वव्यापी रुपमा फैलिएको महामारी हो । भोलि तपाइँहरुलाई पनि संक्रमण हुन सक्छ त्यसैले यो विषम परिस्थितिमा संक्रमितहरुलाई नकारात्मक सोच्नु भन्दा सकारात्मक सोचेर सबै जना मिलिजुलि यसको रोकथामतिर लागौं ।
समथिङ ः— म घरबाट बाहिर १४ दिनसम्म ननिस्किएकोले छिमेकीहरुले खै कसरी हेरे ? खासै थाहा भएन । तर मलाई चाँही कसैले अण्डा उसिनेर, कसैले मकै भुटेर त कसैले बाफ लिने घरेलु औषधी र अक्सिजन नाप्ने सम्म किनेर सहयोग गरे छिमेकीहरुले ।
सुसारा ः— म बसेको वरिपरि निकै संक्रमित छन् । अरुमा पनि लक्षण कोरोनाको देखिन्छ तर उनीहर जँचाउन चाहदैनन्, जाँदैनन् । म सम्झाउँथे तर माने पो । कोठा मै, घर मै बसिरहने । आजित म । मान्छेले किन नबुझेको ? यो विश्व महामारी हो । विश्वलाई यो समस्याले गाँजेको छ । सबैलाई भातृत्व प्रेम, स्नेह दिने बेला हो । त्यो कोही बुझ्दैनन् । कति साह्रो निर्दयी ? यसलाई चिर्न पर्छ ।
५) कोरोनालाई पराजि गर्न के के उपाय गर्नु भयो ?
घनेन्द्र ः— कोरोना पराजित गर्नुको लागि मैले दिनमा सात लिटर सम्म तातो अदुवा पानी, बेसार पानी, नून पानी, पानीको बाफ बिहान बेलुका लिएँ । असुरोको बाफ पनि लिएँ । खोकी कम गर्नको लागि लसुन, अदुवा र ज्वानोको झोल पिएँ, बिहान बेलुका ।
तुलसी ः— केही असजिलो हुने वित्तिकै परिक्षण गरियो । परिक्षण पछि तातो खानेकुराहरु खाइयो । नियमित डाक्टरहरुसंग सल्लाह अनुसार औषधी र उपचार बिधीहरुको प्रयोग गरियो । खाने कुरामा बिशेष ध्यान दिइयो । नुन पानीको वाफ दिनमा ४/५ पटक ४/५ मिनेट सम्म लगाइयो । बिहानको घाममा झण्डै आधा घण्टा जति बस्ने र नुहाउँदा समेत तातो पानीले नै नुहाइयो । पौष्टिक, झोलिलो पदार्थहरु धेरै मात्रामा खाइयो । घाँटी दुखे पछि नुनपानीले दिनमा ७/८ पटक कुल्ला गरियो । घर परिवारमा अरु बेला भन्दा बढ्तै माया प्रेम र आत्मियता कायम भयो । साथी भाई माया ममता फोन नियमित जस्तो सम्र्पकले गर्दा पनि कोरोनालाई पराजित गर्न सहज भएको महसुस गरियो ।
विपुल ः— नियमित कसरत गरेँ, डाक्टरको सल्लाह लिएँ । आवश्यक औषधी खाएँ । घरेलु औषधी बनाएर खाएँ । पानी धेरै भन्दा धेरै खाएँ । फलफूल आएँ । गेडागुडीको झोल धेरै खाएँ ।
शर्मीला ः— कोरोना पराजित गर्न मैले चिकिस्सकको सल्लाहलाई एकदमै आत्मसाथ गरि पालना गरेँ । र अन्य घरायसी औषधी पनि सेवन गरेँ । सबै भन्दा मुख्य त आफ्नो आत्मबल कहिले पनि कमजोर बनाइन । त्यसैले कोरोना जित्न सफल भएँ ।
समथिङ ः— औषधी भन्दा पनि घरेलु खाएर जित्ने काम भयो । मैले एक दिनमा ३२ पटक (औषधी र खानेकुरा) खाएछु ।
सुसारा ः— नियमित ‘होम आइसोलेन’मा बसेर ज्वरो, खोकीको औषधी नियमित र तातो पानी अत्याधिक पिएर । खान र पिउन रुच्ने भए पछि झोल तथा सुप अलि बढी नै पिएर । मनोबल उच्च पारेर ।