ताप्लेजुङ । सुनसरीको जुट विकास फुटबल एकेडेमीले सोमबार पथरी ११ मोरङलाई टाइब्रेकरमा पराजित गर्दै ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल तय गरेको छ । सुनसरी ५–४ ले विजयी भयो ।निर्धारित ९० मिनेटसम्म दुवै टिमले गोल गर्न सकेनन् । ढिलो गरी सुरु भएकाले सिधै पेनाल्टी शुटआउटबाट निर्णय लिइएको थियो ।
मोरङका सञ्जय लिम्बूले हानेको पेनाल्टी सुनसरीका गोलकिपर सुजित चौधरीले विफल पारेका थिए । सुनसरीबाट रोमन भुजेल, लक्ष्मण तामाङ, श्याम मुर्मु, दिप्सन राई र रोमन तामाङले गोल गरे । मोरङबाट साइमन लिम्बू, नीरज परियार, अशोक खवास र सुदीप श्रेष्ठले गोल गरे ।
दुवै टिमका खेलाडी आक्रामक देखिए । रेफ्री दिपेश लिम्बूले सात पहेँलो कार्ड देखाए । सुनसरीले मंगलबार हुने सेमिफाइनल विजेतासँग बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । मंगलबार रेडहर्स फुटबल क्लब इलाम र रेडस्टार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ ।