काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नी पत्नी चढेको महानगरपालिकाकै सरकारी गाडी कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेको रिसमा ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएको खुलासा भएको छ।
सामाजिक सञ्जालमा प्रायः उत्तेजक स्टाटस लेखिरहने मेयर बालेन्द्रले शनिबार राति लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
तर स्टाटसमा उनले सन्दर्भ खुलाएका छैनन्।
ट्राफिक प्रहरीका अनुसार शनिबार राति बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र गतिमा आइरहेको थियो। नियमित चेकजाँचका क्रममा कोटेश्वर ट्राफिक प्रहरी वृत्तको टोलीले उक्त गाडीलाई रोकेर सोधपुछ गरेको थियो। जसमा मेयर शाहकी श्रीमती चढेकी थिइन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार नियमित चेकजाँचका क्रममा शनिबार राति साढे ८ बजेतिर कोटेश्वरमा ट्राफिक प्रहरीले महानगरपालिकाको गाडीलाई रोकेर सोधपुछ गरेको हो।
‘नियमित चेकजाँचको क्रममा रोकिएको हो’, नेपालखबरको जिज्ञासामा आइतबार बिहान वरिष्ठ प्रहरी उपरीक्षक भट्टले भने, ‘महानगरपालिकाको गाडी थियो। महानगरका चालकले चलाएका थिए। त्यसमा उहाँ (मेयर शाह) को म्याडम (श्रीमती) चढ्नुभाथ्यो भन्ने कुरा आयो पछि।’
चेकजाँचका क्रममा सरकारी नम्बर प्लेटको गाडी देखिएपछि अनुमति (पास) लिइएको छ कि छैन भनेर सोध्दा छैन भन्ने जवाफ आएपछि ट्राफिक प्रहरीले गाडी छाडेको थियो।
गाडी नम्बर भने नखुलेको उनले बताए। ‘कुनै ठूलो घटना भए पो गाडी नम्बर टिप्छ त ट्राफिकले’, उनले भने, ‘सामान्य सोधपुछ गर्यो, महानगरको भनेपछि पठाइदियो।’
सो घटनापछि श्रीमती घर पुग्नासाथ मेयर शाहले त्यस्तो अराजक स्टाटस लेखेका हुन्।