विराटनगर । गएको बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार भङ्ग गर्न सर्वोच्च अदालतले आदेश दियो । सरकार गठनको क्रममा तटस्थ भूमिकामा रहनुपर्ने सभामुख बाबुराम गौतमले समेत मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै सर्वोच्चले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया नै बदर गरिदिएकाे थियो ।
सरकार भङ्ग गरेसँगै सर्वोच्चले बहुमतको सरकार पुनः बनाउने आह्वान गर्न भनेसँगै प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार अपराह्न ५ बजेसम्मकाे समय दिएर बहुमतका आधारमा सरकार बनाउने दाबी पेस गर्न आह्वान गरेका छन् । तर, साेमबार दिउँसाेसम्म नयाँ सरकारकाे आकार र प्रकारले कुनै संकेतसम्म पाउन सकेकाे छैन ।
सभामुखसहितको हस्ताक्षर बुझाएर मुख्यमन्त्री बनी पदमुक्त भएका कांग्रेसका उद्धव थापा पुनः मुख्यमन्त्री बन्ने दौडमा छन् । कोशी प्रदेश सरकार गठन गर्न सत्ता गठबन्धनभित्र मात्र बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतम कोशी प्रदेशको सत्ता राजनीतिको केन्द्रमा देखिएका छन् । सत्ता गठबन्धनका नेताहरू माओवादीबाट निर्वाचित भएका गौतमलाई सभामुखबाट राजीनामा गराएर पुनः आफ्नो नेतृत्वमा सरकार निर्माण गर्न लागिपरेका छन् ।
गठबन्धनमा राप्रपालाई समेत ल्याएर सहज बहुमत पुर्याउने पहिलो प्लान सफल नहुने देखेपछि सत्ता गठबन्धनले सभामुखलाई राजीनामा गराएर भए पनि सरकार गठनको तयारी अगाडि बढाउन लागेकाे हाे । सत्ता गठबन्धनभित्रको कांग्रेसले गौतमलाई राजीनामा गराएर आफ्नो नेतृत्वमा सरकार गठन गर्न लबिङ गरिरहेको छ ।
त्यसैका लागि गठबन्धनभित्रका केन्द्रीय तथा प्रादेशिक नेताहरूको जमघट यति बेला काठमाडौंमा चलिरहेको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा तारन्तार भेटघाट र वार्ता चलिरहेको छ ।
छलफलका क्रममा सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर भए पनि बहुमत सङ्ख्या पुर्याउने सहमति भएकाे कांग्रेस नेताहरूले बताउँदै आए पनि औपचारिक निर्णय भने अझै सार्वजनिक भएको छैन । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का महामन्त्री विश्वप्रकाश शर्मासहितको बैठकले गौतमलाई राजीनामा गराएर गठबन्धनकै सरकार बनाउने निष्कर्ष निकालेको कांग्रेस स्रोतको भनाइ छ ।
यता माओवादी कोशी संसदीय दलको स्रोतले भने सभामुख गौतमले राजीनामा दिने भन्ने विषयमा अहिलेसम्म सहमति नभएको दाबी गरेकाे छ । सत्तारुढ गठबन्धनको बैठकमा गौतमले आफूले राजीनामा दिए पनि सरकार स्थिर नरहने जनाएका थिए । उनलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेरो राजीनामाले मात्रै कोशीमा स्थायी सरकार गठन हुँदैन । म राजीनामा दिने अवस्थामा छैन ।’
सभामुखको राजीनामापछि उपसभामुखको पनि आउन सक्छ राजीनामा
सभामुखको पद रिक्त हुने अवस्था संविधानको धारा १८२ (६) मा उल्लेख छ । जसमा सभामुखले राजीनामा दिन सक्ने उल्लेख छ । सभामुखको राजीनामाको विषयलाई कोशी प्रदेशसभा नियमावलीको नियम १६९ (१) मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेकाे छ ।
सभामुखको राजीनामा आउँदो पहिलो प्रदेशसभाको बैठकमा अध्यक्षता गर्ने व्यक्तिले सभामा पढेर सुनाउनुपर्ने व्यवस्था नियमावलीले गरेको छ । यदि प्रदेशसभा चालु नरहेको अवस्थामा सूचना पत्रमा प्रकाशन गरी त्यसको प्रचार प्रसारसमेत गर्नुपर्ने व्यवस्था छ । सभामुखको राजीनामापछि सभामुख नभएको बेला संविधानको धारा १८६ (४) अनुसार उपसभामुखले सभा सञ्चालन गर्नुपर्छ ।
कोशी प्रदेशमा एमालेबाट निर्वाचित सृजना दनुवार उपसभामुखमा छिन् । सभामुखले राजीनामा दिएर सरकार गठनका लागि बहुमत पुगे पनि विश्वासको मत लिने अवधिमा उपसभामुखलाई समेत राजीनामा गराउने एमालेको रणनीति छ ।
विश्वासको मत लिने मिति अगावै उपसभामुखले राजीनामा दिए थप सत्ता गठबन्धनलाई समस्या हुने देखिन्छ । नेपालको संविधानको धारा १८२ को उपधारा ५ मा सभामुख-उपसभामुख पद रिक्त भएको अवस्थामा प्रदेशसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ ।
यो प्रावधान अनुसार कोशी प्रदेश सभामा ज्येष्ठ सदस्य गयानन्द मण्डल छन् । नेपाली काङ्ग्रेसबाट निर्वाचित मण्डलले सदनको अध्यक्षता गरेमा उनले समेत भोट दिन भने पाउने छैनन् । सदनमा भोट बराबर भए मात्र मण्डलले भोट हाल्न पाउने भएकाले सत्ता गठबन्धनको सरकारले विश्वास मत पाउन सक्दैन ।