इलाम । नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महँगो मूल्यमा बिचौलियालाई बेच्ने गरेको पाइएपछि इलाममा रहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ ।
वास्तविक किसानले अनुदानको मल नपाइरहँदा सहकारीले बिचौलियालाई बेच्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले गोदाममा सिल गरेको हो । किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले बुधबार अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि बिज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो ।
अनुदानको मल बिक्री अनुमति नभएको पाइएपछि प्रशासनले मल गोदाम सिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको नेतृत्वमा रहेको अनुगमन टोलीले आवश्यक कागजातसहित तीन दिनभित्रमा प्रशासनमा उपस्थित हुन बिज भण्डारका सञ्चालकलाई निर्देशन दिएको छ । उनले तोकिएको समयमा आवश्यक कागजपत्र नजुटाएमा कानुनबमोजिम कारबाही गरिने बताए ।
सूर्यज्योति सहकारीले १२० बोरा अनुदानको मल किसानलाई नदिई कृषि बिज भण्डारलाई बिक्री गरेको थियो । कृषि सामग्री कम्पनी इलामबाट उक्त सहकारीले ३७० बोरा युरिया र १५२ बोरा डिएपी मल पाएको छ ।
यता सहकारीका व्यवस्थापक अमर खत्रीले मल बिक्री नगरेको भन्दै गोदाममा मात्र राखिएको दाबी गरे तर खत्रीले राखिएको भनेको गोदामबाट कृषि बिज भण्डारले खुलेआम चर्को मूल्यमा मल बिक्री गरिरहेको प्रमाण फेला परेको छ ।
उता अनुगमनको टोलीलाई भने कृषि बिजका सञ्चालकले झापाको चारआलीबाट मल खरिद गरेको बताए पनि खरिद गरेको आवश्यक कागजपत्र देखाउन नसकेको सहायक प्रजिअ कोइरालाले बताएका छन् ।