पाँचथर । पाँचथरमा जंगलको बिषालु च्याउ खाँदा फरक फरक स्थानका नौ जना बिरामी भएका छन् । । बिरामी हुनेमा फिदिम र कुम्मायकका रहेका छन् । बिरामी भएकामध्ये चार जनालाई उपचारका लागि झापा पठाइएको छ भने चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
मंगलबार बिहानको खानामा तरकारी बनाएर जंगली च्याउ खाँदा ६८ वर्षीया लिला थापा, ३२ वर्षीया हेमन्ता थापा, ६० वर्षीया इन्द्रमाया नेपाली र ६० वर्षीय रुद्रबहादुर दर्जी बिरामी परेका हुन् ।
लिलाबहादुर थापाको घरमा सँगै खाना खाएका उनीहरुलाई तत्कालै पेट दुख्ने र रिँगटा चल्ने समस्या देखिएपछि उपचारार्थ पाँचथर अस्पताल ल्याइएको थियो ।
त्यहाँबाट थप उपचारका लागि चारै जनालाई झापास्थित बिर्तासिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ । फिदिम नगरपालिका ११ का प्रियकुमार मेयोङवाको घरमा जंगली च्याउ खाएका ५ जना बिरामी परेका छन् । बिरामी पर्नेमा ६० वर्षीया श्रीमती मेयोङबा,२८ वर्षीय प्रिय मेयोङवा, २१ वर्षीय सुमन मेयोङवा, ५१ वर्षीय रामप्रसाद केरुङ र ६४ वर्षीया जसमाया मेयोङवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनीहरुले पनि मंगलबार बिहानको खानामा जंगली च्याउको तरकारी मिलाएर खाएको बताइएको छ ।