पाँचथर । असारको पहिलो हप्ता गएको बाढीपहिरोका कारण चतरा–मुलघाट–सुभाङखोला–गणेश चोक (तमोर करिडाेर) सडकको विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको छ । पाँचथरको माझिटारदेखि गणेशचोक खण्डमा ठूलो क्षति पुगेको छ ।
माझिटारको हेवाखोलामा रहेको बेलीब्रिज बाढीले भत्काएको थियो । १ करोडभन्दा बढी रकम खर्चिएर बनाएको बेलीब्रिज भत्किएपछि यो खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
‘गाडी चल्ने अवस्था छैन । हामीले हिँडेर क्षतिको अवस्था हेर्याैँ । धेरै ठाउँ क्षति पुगेको रहेछ’, आयोजना प्रमुख विष्णु भट्टराईले भने, ‘त्यति राम्रो सडकमा ठाउँठाँउमा क्षति पुगेको छ । प्रारम्भिक रूपमा हेर्दा ३ करोडभन्दा बढीको संरचनामा क्षति पुगेको छ ।’
खोलानजिकै बाढीले बाटो नै चुँडेर लगेको छ । विभिन्न ठाउँमा पहिरो खसेर बाटो बिगारेको छ । कतै सडक नै बगेको पाइएको छ । इटहरी र धरानबाट छिट्टै पहाड पुग्न सकिने भएकाले यो सडकमा गाडीको चाप बढ्नुका साथै चहलपहल बढ्दै गएको थियो । दैनिक दर्जनाैँ गाडी चल्ने गर्थे । ताप्लेजुङ र पाँचथरका विभिन्न गाउँ जानका लागि मेची राजमार्गको विकल्पको रूपमा यो सडक रहेको थियो ।
बेलीब्रिज पुनःनिर्माण गर्ने कि पुल बनाउने भन्ने टुङ्गो लागेको छैन । खोलामा पुल नहुँदासम्म सहज रूपमा यो बाटो सञ्चालन हुन सक्ने देखिँदैन ।