झापादेखि ताप्लेजुङसम्मका पर्यटकीय क्षेत्र घुम्न निस्केका पर्यटनकर्मीलाई इलामको माईपोखरीमा स्वागत गर्ने कार्यक्रम थियो ।
माईपोखरी देउराली सामुदायिक होमस्टेले स्वागतको तयारी गरेको थियो । बिहानै इलामको चिया सुरुप्प पारेका यात्रीहरूकाे गलामा जुनखालकाे माला लगाइयाे, उनीहरू छक्क परे ।
माला बनाइएकाे थियाे मकैको खोयाको । ‘अरे खोयाको माला,’ पर्यटन व्यवसायी अञ्जु ढकाल बाेलिन्, ‘कस्तो राम्रो ।’
यो माला लगाएर तीन दर्जनको टोली रामसार क्षेत्र माईपोखरी पुग्यो । मालामा ठाँटिएकाहरूले घरेलु सामग्रीको प्रयोगलाई सुन्दर र महत्त्वपूर्ण माने ।
खोयाका टुक्रालाई रङ लगाएर माला उनिएको रहेछ । बीचमा कपडा लगाइएको छ । गाउँमा आगो बालेर खेर जाने खोयालाई माला बनाएर उपभोग गर्न होमस्टे समिति सफल भएको छ ।
‘चैतमा महोत्सव थियो । पाहुनालाई लगाउने मालाका लागि फूलको खाँचो थियो । त्यही भएर खोयाबाट माला बनाउने प्रयास गर्यौँ,’ यहाँकी होमस्टे सञ्चालक तथा होमस्टे महासंघ कोशी प्रदेशकी उपाध्यक्ष लीला भट्टराईले भनिन्, ‘राम्रो देखिएको छ । धेरैले रुचाए पनि ।’
१५ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । यहाँका महिलाहरूले यो माला बनाएका थिए । यहाँको होमस्टे सञ्चालक समितिमा सबै महिला रहेका छन् । अहिले इलाममा यो मालाले प्रख्याति कमाएको छ ।
माईपाखेरी घुम्न आउने पाहुनालाई लक्षित गरी होमस्टे बनाइएको छ । हुन त यो क्षेत्रमा अनेकन पर्यटकीय गन्तव्य छन् । सन्दकपुर गाउँपालिका पर्यटनका लागि महत्त्वपूर्ण छ ।
‘होमस्टेमा स्थानीय उत्पादनको अर्ग्यानिक स्वाद खुवाउँछौँ । घुम्न आएका पर्यटकलाई आरामदायी बसोबास र खानपानका लागि हाम्रो प्रयास रहेको छ,’ होमस्टे सञ्चालक समिति अध्यक्ष निम लमु शेर्पाले भनिन्, ‘धेरैजसो यहीँ उत्पादन भएका सामग्री प्रयोग गर्छौं ।’
यहाँ पुग्न बाटो पनि सजिलो छ । इलामको बिब्ल्याँटेबाट मेची राजमार्ग छोडेर भित्र पस्नुपर्छ । थोरैबाहेक कालोपत्रे सडकको यात्रा गरेर बिब्ल्याँटेबाट ४५ मिनेटमा यो होमस्टे पुग्न सकिन्छ ।