विराटनगर ।नेकपा एमालेको नेतृत्वमा बनेको प्रदेश १ सरकार विस्तार हुन नपाउँदै अप्ठेरोमा परेको छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय तहमा भएको निर्णय नसच्याएसम्म सरकारमा नजाने निर्णय गरेसँगै नवनिर्वाचित मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अप्ठेरोमा परेको हो। प्रदेश १ को सरकार ५ वर्ष नै एमालेले चलाउने केन्द्रीय निर्णयप्रति असहमति जनाउँदै त्यसलाई नसच्याएसम्म प्रदेश १ सरकारमा माओवादी सहभागी नहुने जनाएको छ।
नयाँ जनादेश अनुसार केन्द्रमा बनेको गठबन्धन अनुसार आइतबारमात्र माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेशमा एमालेका नेता हिक्मत कार्की प्रदेशको मुख्यमन्त्री नियुक्ति भएका थिए।
उनले आज सानो मन्त्रिमण्डल गठनको तयारी समेत गरेका थिए। माओवादी केन्द्र संसदीय दलको नेता इन्द्र आङ्बोले केन्द्रमा माओवादी केन्द्रलाई नै अपमान हुने गरी गरिएको निर्णय नसच्याएसम्म एमालेको नेतृत्वमा रहेको सरकारमा सामेल नहुने बताएका छन्।
‘हिजो केन्द्रमा प्रदेश १ को बिषयमा पद बाडफाडमा जे निर्णय भएको छ त्यो हामीलाई मान्य छैन,’ नेता आङ्बोले भने, ‘हाम्रो पार्टीलाई अपमान गर्ने गरी निर्णय भएको छ नसचिएसम्म हामी सरकारमा सामेल हुदैन ।उनले माओवादी सरकारमा सामेल नहुने बिषयमा नवनियुक्त मुख्यमन्त्ती हिक्मत कार्कीलाई पनि जानकारी गराएको उनले बताए।
एमाले भन्छ- मन्त्रिमण्डल विस्तार रोकिँदैन
यद्यपि एमालेले भने माओवादी सरकारमा सहभागी नभएपनि पुर्व निर्धारित सानो आकारको मन्त्रिमण्डल गठनको प्रकृया नरोकिने बताएको छ।
एमालेका प्रमुख सचेतक रवतीरमण भण्डारीले केन्द्रको निर्णयलाई आफूहरु मान्न तयार रहेकाले माओवादीले उठाएको बिषय केन्द्रको भएकाले उपनि प्रदेश सरकारमा सामेल हुने आफू विश्वस्त रहेको बताए।
‘मन्त्ती र मन्त्रालय भागबँन्डाको बारेमा प्रदेशले टुग्याउने विषय हो’, प्रमुख सचेतक भण्डारीले भने, ‘सरकारको बिषयमा केन्द्रमा भएको सहमति हाम्रो सामथ्र्यमा रहँदैन, त्यसैले पनि केन्द्रमा भएको बिषयलाई लिइएर माओवादीले प्रदेश सरकारमा सामेल नहुने कुरा रहँदैन। मुख्यमन्त्री ज्यूले सम्भव भएसम्म माओवादीसहित नभएस सत्ता गठबन्धन भित्रका अन्य घटकको सहभागितामा सानो आकारको मन्त्री मण्डल गठन गर्ने विषय अगाडी बढछ।’
उनले केन्द्रमा भएको सहमतिमा असन्तुष्ट बनेको माओवादीसँग यस विषयमा छलफल गर्ने पनि बताए।
आज हुने भनिएको मन्त्रिपरिषद् विस्तारमा एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जना मन्त्री रहेने तयारी थियो। माओवादी केन्द्रले दुर्गा प्रसाद चापागाईंको नेतृत्वमा सरकारमा जाने तयारी थियो।
यसअघि एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको बताइएको थियो। केन्द्रको सहमति अनुसार सभामुख एमाले र उपसभामुख माओवादीको भागमा परेको छ।
प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।