संयोग, आज १४ दिन (२०७८ जेठ २२) भएछ, ‘पिसिआर’ जाँच गरेको । विश्व कोरोना (COVID-19) महामारीले आक्रान्त छ । त्यसको शिकार म पनि भएँ । अर्थात कोरोना परिक्षणमा ‘पोजेटिभ’ आयो । म जस्तो उडी बतास, हुरी बतास (डुली रहने मान्छे) लाई ‘आइसोलेसन’मा बस्नु जेलमा बस्नु सरह नै रहेछ, भयो । अर्थात एउटा पिडामा अर्को पिडा थपिनु जस्तो । कोरोना संक्रमणबाट तङ्ग्रिदै गरेको, घरको (Home Isolation) बसाईले अर्को रोग थपे जस्तो । परिबन्ध पनि कस्तो ? जे गर्छु भन्यो त्यो गर्न नपाइने । यो अप्ठ्यारो परिस्थितिको व्याख्या, वणर्न गर्ने शब्द भए पनि, अनुभूति व्यक्त गर्न सक्दिन । हिड्ने बेला खुट्टा बाँधि दिनु जस्तो पिडाको अवस्था भन्न सजिलो होला ? भोग्न गाह्रो छ । यद्यपि मेरा अनुभव राख्ने प्रयासमा छु ।
म गाउँमा जन्मेकोले होला शारिरीक अभ्यास (Exercise) त्यति खाँचो महसुस गरेको थिएन । तर यतिखेर शारिरीक अभ्यासमा छु । कोरोना संक्रमण पछि ‘होम आइसोलेसन’ले गर्दा शरीरलाई ज्यादै कष्ट भएको छ । खायो सुत्यो, खायो सुत्यो ले । जमघट गर्न मनाही छ । भेटघाट गर्न पनि मनाही छ । फेरि म उडी बतास, हुरी बतास भएर पनि बस्दा बस्दा धेर कष्ट भएको होला ? ‘होम आइसोलेसन’मा बस्नु यस महामारीको उत्तम रोकथाम हो । यी कारण भए पनि परिक्षणको दशौं दिन देखि शारिरीक अभ्यासमा (Exercise) छु । त्यसमा पनि शहरको गल्ली र रोडमा होइन, मानिसको भीड नहुने एकान्त, वन, जङ्गल र खुला ठाउँतिर । यसको प्रमाण सामाजिक सञ्जालमा फोटो राखे कै छु । यसो नगरे कुँजो हुने सम्भवना बढ्यो । अर्को ‘होम सिक’ भइने डर ।
कताबाट, कोबाट यो कोरोनाले संक्रमित भएँ केही पत्तो नै पाइन । त्यस्तो संक्रमित मान्छेहरुसँग पनि संगत थिएन । हेलमेल पनि थिएन । मसँग सम्पर्कमा भएका व्यक्तिहरु कोही पनि संक्रमित थिएनन् । आजसम्म संक्रमित पनि भएका छैनन् । अचम्म लाग्छ । यतिखेर चैं दैवको खेल भन्नु पर्ला ? अघिल्लो बर्ष यो महामारी फैलँदा खास डर, शंका लागेको थिएन । केहीले (खास गरी स्थानीय निकायहरुले) यसलाई ‘के के न हो’ ठानेको थिए । ‘क्वारेनटिन’ र ‘होम आइसोलेन’को खुब चर्चा, व्यवस्था गरेका थिए । त्यो नगर्दा संसारै ध्वस्त हुने जस्तो । तर यसपटक त्यसको खासै चर्चा, वास्ता नै भएन । अनि बढ्यो संक्रमण । ती सम्बन्धित निकायले कुनै चासो नै राखेनन् शुरुमा । जब संक्रमणले उग्र रुप लियो तब बल्ल आँखा खुल्यो र भटाभट ‘लकडाउन’ गर्न थाले । बाटोहरु समेत बन्द गर्न थाले । कतिसम्म भने एउटा देशबाट अर्को देश, एउटा प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला, एउटा पालिकाबाट अर्को पालिका, एउटा वडाबाट अर्को वडा, एउटा टोलबाट अर्को टोलसम्म । यसो गर्नु सान्दर्भिक पनि थियो तर ढिला भइ सकेको थियो । यसमा हाम्रो (सबैको) पनि लापरबाही छ । संक्रमितहरुले लुकाई रहने, सम्पर्कमा आइ रहने । एक ठाउँबाट अर्को ठाउँमा घुमि हिड्ने । सबभन्दा नरमाइलो त जाँचमा (Chek Up) गर्न कोही नजाने । पुरै कोरोनाको लक्षण छ, घरैमा बसि रहने ।
मलाई खासमा बैशाख २७ तिरै देखि खोकी शुरु भएको हो । सधैंको मेरो औषधीले (झानेको रक्सी) यो पटक काम गरेन । तीन दिन पछिबाट ज्वरो पनि शुरु भयो । जेठ तीन देखि पाँचसम्म त (तीन दिन) खोकी र ज्वरोले अत्याधिक सतायो, पिडा दियो । यो अवधीमा खानाको स्वाद हराउँदै गइ सकेको थियो । निद्रा एति लागेको कि म भन्नै सक्दिन । जति सुत्यो निद्रा लाग्ने । फेरि निदाएको बेला खोकी पनि बन्द हुने । जब ब्युँझ्यो खोकी शुरु भइ हाल्ने, आँखा निस्कनै खोज्ने गरी खोक्नु पर्ने, सुक्खा खोकी । ज्वरो हुन सम्मको । ओछ्यान त्यसै ताती हाल्ने । अर्कोतिर भोक लाग्ने । खाना खान मन नलाग्ने । गन्ध सायद हरायो क्यार ? खाली नमिठो, एकै खालको गन्ध आउने । त्यो गन्धले उल्टी (भमिट) होला जस्तो हुने ।
आर्को संयोग, फिदिम आए देखि नै परिवारसँग सगोलमा छुइन । बहिनी र भान्जी कोठामा आएको कारण । खासमा एकल । कोठा अलि अँध्यारो छ । दिउँसो पनि बत्ती नबाली हुदैन । ओछ्यानमा लडेको छु । घुम डुल नभए पछि धन्न ‘इन्टरनेट’ले काम गरेको छ । ठूलो साथ दिएको छ । यतिखेर सबथोक यही भको छ । फेसबुक हेरी नसक्नु छ । राजनीतिको फोहोरी गफ, श्रद्धान्जलीको ताँत भन्दा केही भेटिन्न । त्यो भन्दा गजब त फेसबुकमा कति विद्वानहरु ? नजान्ने, नजानेको त केही, कोही छैनन् बा ! एउटा उखान सम्झे —‘कमाइ चारनाको खर्च बारानाको ।’ केही (सबै होइन) यु ट्युव हेर्छु, पारो तातिएर आउँछ । एकखालको पत्रकारीता नै हो त्यो पनि लागेको । तर ती पत्रकारहरुको आचरण हेर्दा ल्वाम कि ल्वाम खुकुरीले हानुँ जस्तो । खोकी मर्ने गरी चल्छ । आँखा नै निस्कुँला झैं हुन्छ । ओ हो, पिसाब आउने गरी खोक्छु । पिसाब फेर्न ‘ट्वाइलेट’ जान्छु । पिसाब फेर्दा लिङ्गबाट पिसाब गए जस्तो नै लाग्दैन । यसो निहुरेर हेर्छु ठिकै छ । छाम्छु, छ त । कस्तो चाल नपाको ? कस्तो लिङ्ग निस्तेज भा को ? कति निष्कृय ? कतै सुनेको थेँ —‘मर्ने बेला पुरुषको लिङ्गले काम गर्दैन ।’ मनमा शंकाको भुमरी मडारिन्छ । कोरोना संक्रमणका कारण कस्ता जल्दा बल्दा (शारीरिक तन्दुरुस्त) पनि फुसुक्क जाँदैछन् । आत्मा कमजोर भएर आउँछ । जीवनको के भर छ र ? कति साथीहरुले फेसबुकमा श्रद्धान्जली दिने हुन ? के के लेखेर बिलौना गर्ने हुन ? लागि रह्यो । आ ! जे होला ? मन बुझाउँछु ।
ज्वरो, खोकी र निद्राका कारण ज्यान सिथिल छ । देश, पृथ्वी पनि कोरोनाका कारण सिथिल छ । यस्तो बिषम परिस्थितिमा पनि नेपाली राजनीति अति गतिशील, चलायमान छ । नेपाली जनता रोग, भोक र सोकले ग्रस्त छन्, पिडीत छन् । यो कुरा प्रति सरकार कति पनि चिन्तित छैन । कति पनि संवेदित छैन । छ त, ‘कुर्सी’ कसरी बचाउने ? आफ्नो मान्छेहरुलाई कसरी राम्रो ठाउँमा अड्याउने । नेताहरुको यो ताल देख्दा त नेपाली नेताहरु जहाँ (खास गरी सिंहदरबार) जम्मा हुन्छन् त्यहाँ सब भष्म हुने गरी बम बिष्फोट गराई दिउँ जस्तो । एक एक खोजी खोजी निमिट्यान्न पारुँ जस्तो । तर एक सचेत नागरिकले त्यो गर्न पनि मिलेन । र सामथ्र्य पनि काँ हुनु । अँ, अघिल्लो बर्ष मेरो गाउँ पालिका मिक्लाजुङले (अरु स्थानीय निकायले पनि) यस महामारीको लागि निकै तामझाम गर्यो । ‘क्वारिनटिन’ बनायो । परदेशबाट आउनेलाई खोजी खोजी त्यहाँ राख्यो । एक प्रकारले मानसिक तनाव दियो । हुन त उसले पनि स्वास्थ्यको ख्याल गरेरै त्यसो गरेको होला ? तर त्यसो हो भने खै त यो पटक ? यो पहिलाको भन्दा खतरनाक छ भनेर विश्वका डाक्टर, वैज्ञानिकहरुले भन्दै आएका थिए । किन अघिल्लो कार्यक्रकलाई निरन्तरता दिएन ? आज संक्रमित घर घरमा छन्, तीनीहरुलाई खै जँचाउन सकेको ? किन जँचाउन चाहदैनन् ? बरु मर्न तयार छन्, किन ? यसले (कोरोनाले) मरिन्छ भन्ने पनि थाहा छ ।
फेरि संयोग, मलाई संक्रमण भएको कुरा सर्वसाधरणमा त्यति पुग्न पाएन । केही पत्रकारहरुलाई मात्र थाहा भयो । राम्रो कुरा, ती पत्रकार साथीहरुले अरु बेला जस्तो सामाजिक सञ्जालमा लाएर हल्ला खल्ल गरि दिएनन् । अरुले त पत्तो नै पाएनन् भन्दा हुन्छ । यस कारण धेरैलाई ‘म’ संक्रमित हुँ भन्दा पत्याउँदैनन् । हल्ला नहुनुले मलाई फाइदा नै गर्यो । म बसेको टोलमा धेरैलाई संक्रमण भइ सकेको थियो । तर कोही जँचाउन गएनन् । जँचाउन चाहेनन् । यो रोग लाग्नु भनेको कुनै अपराध गर्नु जसरी लिए । यद्यपि केहीले जँचाउँदा ‘पोजिटिभ’ आयो । ती संक्रमित प्रतिको दृष्टिकोणले म हैरान भएँ । के साह्रो छि छि, दूर दूर गरेको ? कुन जुनीको पाप जस्तै लाग्यो । म सम्झाउने प्रयास गर्थेँ तर माने पो । वास्तवमा मान्छेको सोच परिवर्तन गर्न गाह्रो रहेछ । ‘हामी’ कति भेडा ?