ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नगद ६ लाख र झोलामा रहेको गरगहनासहित पक्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी कैलाश राईले जानकारी दिए।
साेमबार बिहान ११ बजेतिर भानुजन माध्यमिक विद्यालय छेउमा निर्माणाधीन बसपार्कबाट ओरालो लागेका उनलाई प्रहरीले त्यही क्षेत्रबाट पक्राउ गरेको हो। फुङलिङ नगरपालिका निवासी भए पनि उनको विवरण प्रहरीले खुलाएको छैन। अरुको खोजी भइरहेको राईले बताए।
घटना भएको करिब ४ घण्टा पछि नै संलग्न मध्ये एकजनालाई पक्राउ गर्न प्रहरी सफल भएका हुन्। खोजी कार्यमा डीएसपी राई सहित ससस्त्र प्रहरी ताप्लेजुङका डीएसपी विनोद थापा नेतृत्वको टोली खटिएको थियो।
लुटपाटमा चार जनाको संलग्नता रहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। बाँकी तीन जनाले पैसा र गरगहना बोकेर भागेकाले उनीहरुको खोजी जारी राखेको डिएसपी राईले बताए। तीन जनामध्ये एक जनासँग हतियार रहेको सिसी टिभी फुटेजमा पाइएको छ।
नगद र गहना चार जनाले नै बाँडेर बोकेको पाइएको छ। सुन र नगद कति लुटपाट गरे भन्ने यकिन हुन बाँकी छ। आइएमई सञ्चालक अम्बर कुमार श्रेष्ठ र मैया श्रेष्ठले कर्मचारीलाई जिम्मा लगाएर विदेश भ्रमणमा छन्।
दशैमा छुट्टि भए पनि कर्मचारीले आइएमईभित्र काम गरिरहेको र चार जना प्रवेश गरेर उनलाई नियन्त्रणमा लिएर लुटपाट गरेको सीसीटीभी फुटेजमा देखिएको छ। आइएमईका कर्मचारीलाई अपरिचित व्यक्तिले फोन गरेर जाकट राखेको गहना लिन आउँछु भनेर भनेको कर्मचारीले प्रहरीलाई बताएकी छन्। चारमध्येका एक जनाले बाहिर रुंगेको, दुई जनाले कर्मचारीलाई नियन्त्रणमा लिएको र एक जनाले सीसीटीभी बन्द गराएकोसम्म फुटेजमा देखिएको छ।