झापा ।नेकपा एमाले झापाका क्षेत्रीय कमिटीहरूले प्रतिनिधिसभा सदस्यका आकांक्षीहरूको नाम उम्मेदवारका रूपमा सिफारिस गरेका छन्।
जिल्लाका पाँचवटै क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिसमा परेका अन्तिम नामहरू जिल्ला पार्टीलाई उपलब्ध गराएको नेकपा एमाले झापाका सचिव शिव ढुंगेलले जानकारी दिए।
‘झापाका पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १५ जनाको नाम सिफारिस भएर आएको छ,’ उनले भने।
तीमध्ये क्षेत्र नम्बर ५ मा पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसमा सदस्य रनिव कोइराला सर्वसम्मत सिफारिस भएका छन्। ओलीले अघिल्लो निर्वाचनमा देशभरमै सबभन्दा बढी मत ल्याएका थिए भने कोइराला कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका व्यक्ति हुन्।
यस्तै क्षेत्र नम्बर २ मा पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेल, प्रदेश इन्चार्ज देवराज घिमिरे, बिर्तामोडका निवर्तमान मेयर ध्रुव कुमार शिवाकोटी र बहालवाला सांसद पवित्रा निरौला खरेलको नाम सिफारिस भएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए।
क्षेत्र नम्बर ३ मा पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित मोहन रेग्मी, लोकनाथ भट्टराई, रविना ढकालको नाम सिफारिस गरिएको छ।
झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय कमिटीले पाँच जनाको नाम पठाएको एमाले झापाका सचिव ढुंगेलले जानकारी दिए। क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य एलपी साँवासहित ५ जनाको नाम सिफारिस गरिएको छ। सावाँ बहालमा रहेका संघीय सांसद हुन्। साँवासहित प्रदेश १ का सांसद हिरा थापा, होम गौतम, पूर्व नगर प्रमुख चन्द्र शेर्मा र उप प्रमुख भोजकुमारी नेपालको नाम सिफारिस भएको छ।
नेकपा एमालेले आकांक्षीहरूको नाम जस्ताको त्यस्तै सिफारिस गर्ने मापदण्ड बनाएको थियो। सोहीअनुसार सबै आकांक्षीहरू उम्मेदवारका लागि सिफारिसमा परेका छन्।
सचिव ढुंगेलका अनुसार क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेका नामहरू जिल्ला कमिटी बैठकमा पेस हुनेछन्। मंगलबार बस्ने बैठकले सिफारिस गरेर आएका नामबारे रायसहित प्रदेश कमिटीलाई सुझाव दिनेछ।
‘जिल्ला कमिटीले नाम हटाउने छैन, थप गरेर पठाउन सक्छ,’ ढुंगेलले भने, ‘जिल्ला कमिटीले कुन क्षेत्रका लागि को उम्मेदवार उपयुक्त हुन्छ भनेर लेख्न सक्छ।’
जिल्ला कमिटीकै जस्तो प्रदेश कमिटीले पनि केन्द्रीय कमिटीलाई रायसहित सुझाव पेस गर्ने बताइएको छ।
बैठकले मंगलबार नै प्रदेशलाई नाम पठाउनेछ। प्रदेशले २२ गतेभित्र केन्द्रमा पठाउनुपर्ने निर्देशन छ। एक हप्ताभित्र उम्मेदवारको अन्तिम टुंगो लगाइने एमालेले जनाएको छ।