पाँचथर । एक मात्र निर्वाचन क्षेत्र रहेको प्रदेश एकको पहाडी जिल्ला पाँचथरमा यो पटक पनि हेभिवेट नेताबीच प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ । पाँचथरमा एमाले ,कांग्रेस बिच पहिलाबाट नै तिब्रप्रतिस्पर्धा हुने जिल्ला हो । कुल ८ स्थानीय तह रहेको यो जिल्लामा सत्ता गठबन्धनकाे तर्फबाट कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे र एमाले नेता वसन्तकुमार नेम्बाङबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
२०७४ सालमा एउटा प्रदेश क्षेत्र एमाले र अर्को प्रदेश क्षेत्र गठबन्धमा रहेको नेकपा माओबादी केन्द्रले जितेको थियो । प्रतिनिधिसभा सदस्यमा भन एमाले नेता वसन्तकुमार नेम्बाङ निर्वाचित भएका थिए । नेम्बाङ एमालेमा प्राप्त जिम्मेवारी पुरा गर्ने नेताका रुपमा परिचित छन् । कांग्रेसबाट पराजित भिष्मराज आङदेम्बेको राजनीतिक पहिचान पनि यो पटक फेरिएको छ । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका अति निकट मानिने आङदम्बे कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन् । दुबै नेताले राष्ट्रिय पहिचान बनाएका छन् ।
गत संघीय चुनावमा एमालेका नेम्बाङले फराकिलो मत अन्तरले कांग्रेसका आङदेम्बेलाई पराजत गरेका थिए । नेम्बाङले ३८ हजार ६ सय १६ मत पाउँदा आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गरेका थिए । दुई नेताबीच १० हजार ५ सय ८१ मतान्तर थियो ।
२०७४ को संघीय निर्वाचनको मत परिणाम
वसन्तकुमार नेम्बाङ ३८ हजार ६ सय १६ मत
भिष्मराज आङदेम्बे २८ हजार ३५ मत
मतान्तर १० हजार ५ सय ८१
तर गत स्थानीय तहको परिणाम हेर्ने हो भने एमालेका लागि असहज देखिएको छ । जिल्लाका ८ पालिकामध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक-एक पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिकासहित फिदिम नगरपालिका जितेको छ ।
त्यस्तै, माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिकामा निर्वाचित भएको छ । वडागत मतका आधारमा एमालेको सबैभन्दा बढी मत भए पनि सत्ता गठबन्धनका दलहरुको मत एमालेको भन्दा साढे १२ हजार बढी छ ।
२०७९ को स्थानीय तहको वडागत मत परिणाम
नेकपा एमाले- ३०, ९५८
नेपाली कांग्रेस- २५, ०६५
नेकपा माओवादी केन्द्र- ११, ८०८
जनता समाजवादी पार्टी- २,६४३
नेकपा एकीकृत समाजवादी- २,१६१
राष्ट्रिय प्रजातन्त्र पार्टी- १, ९०९
आगामी चुनावमा एमालेबाट नेम्बाङ नै उम्मेदवार हुने निश्चित जस्तै छ भने कांग्रेसबाट आङदम्बेले दाबी गरेका छन् । तर सत्ता गठबन्धनका अरु दलले पनि पाँचथरमा दाबी गर्ने सम्भावना छ ।
नेम्बाङ २०४८ र २०५६ र २०७४ मा सांसद भइसकेका नेता हुन् । भने केपी शर्मा ओलीका पालामा भौतिक पूर्वाधार मन्त्री हुँदा गरेको कामले लोकप्रिय बनेका थिए ।
आङदेम्बे पनि दोश्रो संविधानसभामा निर्वाचित भएका थिए । उनी पनि मतदाताबीच लोकप्रिय मानिन्छन् । यदी यी दुई नेताले नै टिकट पाए भए यो जिल्लामा आगामी चुनाव निकै रोचक हुने सहजै अनुमान गर्न सकिन्छ ।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भने पाँचथरमा मा एमालेलाई ठुलो धक्का लागेको छ । एमालेको आधार क्षेत्र मानिएको कुम्मायक र हिलिहाङमा समेत पालिका अध्यक्ष गुमाएको छ ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने पाँचथरमा एमाले बलियो देखिन्छ। एमालेका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रमा ३० हजार ९५८ मत प्राप्त गरेका छन्। कांग्रेसले २५ हजार ६५ मत प्राप्त गर्दा माओवादीले ११ हजार ८०८, जसपाले २ हजार ६४३, नेकपा एसले २ हजार १६१ र राप्रपाले १ हजार ९०९ मत प्राप्त गरेका छन्।