काठमाडौँ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले यही संसदबाट प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताएका छन्। न्युज एजेन्सी नेपालसँग बुधवार कुराकानीका क्रममा उनले चालु संसदबाट प्रदेश सरकारको नामकरण हुने सम्भावना न्यून रहेको बताएका छन्।
उनले पार्टीहरूका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रीकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको बताए। भण्डारीले प्रदेश संसदले प्रदेशको नामकरणका लागि दलहरुबीचमा छलफल गराए पनि सहमति बन्न नसकेको बताए।
प्रदेश सभामुख भण्डारीले राजनीतिक दलहरुमा पनि भुगोल, जातियता, प्राकृतिक, सांस्कृतिक पहिचान झल्किने नाममा आफ्नो अडान राख्दा सहमति जुट्न नसकेको दाबी गरे।
उनले प्रदेशको नामकरणका लागि दलहरूको सहमति नै आवश्यक रहेको भन्दै कुनै दलले चाहेर मात्रै नामाकरण गर्न नमिल्ने बताए। सभामुख भण्डारीले प्रदेशको नाममा सहमति बनाउन दुईतिहाइ सांसदहरुको सहमति हुनुपर्ने बताए।
उनले कार्यकाल सकिन लाग्दा समेत प्रदेशको नामकरण गर्न नसकेकोप्रति दुःख लागेको बताए। सर्वदलीय बैठकमा दलको सहमति भएर परिणाम निस्किने गरी मात्रै प्रक्रिया अघि बढाउनुपर्छ भन्ने सहमति भएअनुसार नामकरणको लागि अहिले कुनै प्रक्रिया अघि नबढाएको बताए।
‘पार्टीको आफ्नो आफ्नो धारणा हुन्छ, आफ्नो आफ्नो सोचको कारण पनि सहमति हुन सकेको छैन। जसकारण पनि प्रदेशको नामकरण हुन सकेको छैन। धेरै नेताहरुको केन्द्रीकृत भावनाले पनि यहाँ असर गरेको छ। त्यो कारणले पनि सहमति हुन सकेन। किनभने दलहरूका आफ्ना आफ्ना अडान छन्’, उनले भने, ‘कसैले भुगोलका नाममा, कसैले प्राकृतिक, सांस्कृतिक पहिचानका नाममा भन्ने अडानलाई यथास्थितिमा राखेका कारण पनि सहमति हुन सकेन। धेरै प्रयत्न गरियो।’
दलहरुले पनि केही प्रयासहरु गरे पनि सहमति हुन नसकेको उनले बताए। ‘नाम राख्न सकिएन। नाम राख्नका लागि सहमति नै आवश्यक छ। कुनै दलले चाहेर मात्रै हुने कुरा होइन, धेरै दलहरुबीच सहमति हुनुपर्छ। दुईतिहाइ पुग्नलाई’, उनले भने, ‘त्यो पुग्नसक्ने अवस्था सहमतिसाथ नदेखिएकाले प्रक्रिया अघि बढाउन पनि सकिएको छैन।’
दलको सहमति भएर परिणाम निस्किने गरी मात्रै प्रक्रिया अघि बढाउने उनले बताए। ‘सहमतिबिना प्रक्रिया अघि बढाउँदा परिणाम निस्किँदैन। किनभने गणपूरक संख्या पुग्दैन। यही संसदले नामकरण गर्नसक्ने कुरा घटेर गएको छ’, उनले थपे।
सात प्रदेशमध्ये प्रदेश–१ को नामकरण प्रदेश सभाको कार्यकाल सकिँदा टुङ्गिने सम्भावना लगभग सकिएको छ। प्रदेशसभाको कार्यकाल करिव तीन महिना मात्र बाँकी छ। पछिल्लो समय नामकरणको विषयमा दलहरुबीच सम्वादविहीन अवस्था छ।
प्रदेशको नामकरणका लागि आधा दर्जनभन्दा धेरै नाम पहिचान र भुगोलसँग जोडिएर चर्चामा आएका थिए। तर ती नाममध्ये कुन नाम राख्ने भनेर प्रदेशसभा बैठकमा प्रवेशसमेत पाएको छैन।
प्रदेशसभा गठन भएपछि तीन जना मुख्यमन्त्रीले नेतृत्व गरिसकेका छन्। पहिलोपटक एमालेबाट शेरधन राई, दोस्रोमा पुनः एमालेबाट भीमप्रसाद आचार्य र तेस्रोमा राजेन्द्र राईले प्रदेश १ को नेतृत्व गरे। तीनै मुख्यमन्त्रीले प्रदेश– १ को नामकरण गर्ने भन्दै पदभार सम्हालेका थिए।