इलाम । पर्यटकीय जिल्ला इलाममा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार तथा व्यवसायीको क्षमता विकासमा भएको समय र बजेट खर्च हिसाब गर्ने हो भने लामै समय लाग्ला। कतिपय खर्चको त हिसाब–किताब नै नआउन पनि सक्ला तर यति ‘लगानी’ गरेर पनि यहाँ आएका पर्यटक र सरोकारवालाले पर्यटनको आधारभूत आवश्यकतामा प्रायः गुनासो गरिरहनु चाहिँ विडम्बना बनिरहेको छ।
गाडीमा चढ्दा गाडी स्टाफबाट र होटलमा खाँदा–बस्दा होटल स्टाफबाटै हस्पिटालिटी (सत्कार) नपाएको अनुभव पर्यटकले गरिरहेका छन्। सदरमुकामलगायत पर्यटकीय क्षेत्रका ठूला भनिएका केही होटलमा समेत पर्यटकमाथि अपमानजनक व्यवहार गरिएको गुनासो बारम्बार आउने गरेको छ।
केही महिनाअघि कन्यामको एक ठूलो भनिएको होटलमा बास बसेका विराटनगरका पाहुना बिहान उठेर चिया खाइरहेका बेला होटलका कामदारको व्यवहार देखेर ‘छक्क’ परे। बसेर चिया पिइरहेका बेला कसिंगर बढार्दै होटल कामदारले उनीहरूलाई बसिरहेको ठाउँबाट उठाइन्। ‘चिया पिइरहेका बेला धुलो उडाउँदै बढार्न थालिएपछि हामी त्यहाँ बस्न सकेनौं,’ ती युवकले सुनाए– ‘इलामको दृश्य मनमोहक छ तर होटलवालाको व्यवहार चाहिँ सुधार्नुपर्ने रहेछ।’
त्यही होटलमा करिब छ महिनाअघि एउटा कार्यक्रम आयोजना गरिएको थियो। दिउँसो १ बजे आयोजना गरिएको कार्यक्रम १ घन्टाजतिमा सकियो। आयोजकका अनुसार कार्यक्रममा सहभागीको संख्याअनुसार बिहानै खाजा–चिया ‘अर्डर’ गरिएको थियो। कार्यक्रम सकिएको करिब १ घन्टापछिमात्र खाजा–चिया बन्ने खबर पाएपछि आधाभन्दा बढी सहभागी खाजै नखाइ उठेर हिँडे। करिब एक तिहाई सहभागीले होटलको व्यवस्थापनप्रति आक्रोशित हुँदै भए पनि खाजा–चिया खाएका थिए।
साताअघि इलाम सदरमुकामकै एक होटलमा पश्चिमी जिल्लाबाट पर्यटक आए। राति करिब २ बजे होटलमा आइपुगेका पर्यटकले दिउँसो बुक गरेअनुसार होटलका कोठामा बेड पाएनन्। ‘त्यसबारे गुनासो गर्दा होटलका कामदारले जस्तो छ, त्यस्तैमा सुत्नुहोस्। यतिबेला अब कहाँ तपाइँले खोजेजस्तो भेटिन्छ? भन्ने जबाफ दिए,’ ती पर्यटकले भने– ‘चियाबारीको सौन्दर्यले घेरिएको होटल हेर्दा जति सुन्दर छ, त्यसभित्र पर्यटकलाई गर्ने व्यवहार चाहिँ ज्यादै रुखो रहेछ।’
सुनसरीबाट इलाम घुम्न आउँदा बिर्तामोडबाट इलामको जिप चढेका पर्यटक सुनील यादवले इलामका पर्यटकीयस्थलबारे चालकबाट जानकारी लिन खोजे तर चालकले बताउन चाहेनन्। ‘म गाडी चलाउने मान्छेलाई केको पर्यटकीयस्थल सोध्नुभएको?’ उनले चालकबाट पाएको जबाफ सुनाए, ‘झर्किंदै ती चालकले कन्याम, अन्तुहरू त होला नि भनेर थप बोल्न चाहेनन्!’ यो जबाफ पाएर सुनील छक्क परे।
‘इलाममै गाडी चलाउने मान्छेलाई इलामकै बारेमा सामान्य जानकारी छैन, म इलाम घुम्न आएको नयाँ मान्छे हुँ भन्दाभन्दै पनि इलामको बारेमा जानकारी छैन भन्न पनि उनी निकै झर्किए,’ सुनीलले गुनासो गरे– ‘कमसेकम पर्यटकीय जिल्लामा त गाडी चालकले पनि आफ्नो जिल्लाबारे केही न केही जानकारी राख्नुपर्ने हो।’ ती चालकले तोकिएभन्दा बढी भाडा आफूबाट लिएको र ‘बरु ओर्लिनुहोस् तर भाडा यही हो’ भन्ने जवाफ फर्काएको पनि सुनीलले सुनाए।
इलाम चारैतिर सुन्दर छ। पहिलोपटक घुम्न आएका पर्यटक त यहाँको सौन्दर्यमा रमाउने नै भए, पटक–पटक आउनेलाई पनि इलामको सौन्दर्यले धीत मर्दैन। पर्यटकहरू यहाँका सवारीका साधन, होटल र अन्य सेवाप्रदायकसँग ठोक्किएपछि भने उनीहरूले सोचेजस्तो व्यवहार र सत्कार पाइरहेका छैनन्। घुम्न आएका पर्यटक प्रायः इलामबाट फर्किंदा गुनासो गर्न थालेका छन्।
१ नम्बर प्रदेशका पर्यटन व्यवसायी महिलालाई दिइने तालिमको सहजीकरण गर्न आएकी महिला पर्यटन व्यवसायी मञ्चकी संस्थापक सल्लाहकार तथा पोखराकी पर्यटन व्यवसायी देवका पहारीले इलाम भन्नेबित्तिकै पोखराबासीले पनि अधिक सौन्दर्यको कल्पना गर्नेगरेको बताइन्। ‘तर, यति भएर पनि इलाममा कतिपय स्थानमा पूर्वाधार विकास गर्नु आवश्यक रहेछ,’ उनले भनिन्– ‘अर्को महŒवपूर्ण कुरा चाहिँ पर्यटकले खोज्ने भनेकै आतिथ्य सत्कार हो, त्यो अभाव भयो भने पर्यटन खल्लो हुन्छ ।’
उनले होटल सुविधासम्पन्न हुनुपर्नेभन्दा पनि पर्यटकले चाहिँ त्यहाँ सेवा दिने तरिका र आफूप्रति गरिने व्यवहार हेर्ने उनले जनाइन्। ‘पोखरा र इलामको तुलना गर्दा, पोखरामा कसरी पर्यटकलाई खुसी पार्न सकिन्छ भन्ने हेरिन्छ,’ उनले भनिन्– ‘इलाममा चाहिँ यहाँ जस्तो छ, त्यसैमा पर्यटक खुसी हुनुपर्छ भन्ने व्यवहार म आफैंले पनि भोग्नुपर्यो। यसमा सुधार गर्नु आवश्यक छ।’ पर्यटकलाई दिइने सेवा–सुविधा प्रायः होटलहरूको एउटै हुने तर सेवा दिने तरिका चाहिँ फरक–फरक हुने भन्दै उनले पर्यटक खुसी हुने या नहुने भन्ने सेवाप्रदायकको व्यवहारमै भर पर्ने जनाइन्।
पोखराबाटै आएकी जमुनावर्षा शर्माले इलाम प्राकृतिक हिसाबले जति सुन्दर भए पनि पर्यटकमैत्री व्यवहारको केही अभाव देखेको बताइन्। ‘इलाम आउने पर्यटकलाई यहाँ लामो समय टिकाउने, पुनः घुम्न आउने र अरूलाई समेत इलाम घुम्न प्रोत्साहित गर्ने गरी इलामबासीले व्यवहार गर्नु दिगो पर्यटन प्रवर्द्धनको उपाय हो,’ पर्यटन व्यवसायी महिलालाई दिइएको तालिमको सहजीकरण गर्नेक्रममा उनले भनिन्, ‘जो–कोही पर्यटक सोझै ठोक्किने यातायातका साधन र होटलले चाहिँ पर्यटकलाई गरिने व्यवहारमा खुब चनाखो हुनुपर्छ।’
जिल्लाका होटल, यातायात व्यवसायीआबद्ध संघ–संस्थामात्र होइन, सरकारी–गैरसरकारी निकायले पनि सेवाप्रदायकलाई पर्यटकप्रति गर्नुपर्ने व्यवहारबारे तालिम, प्रशिक्षण नदिएका होइनन्। तालिम लिएका मध्ये थोरैले मात्र व्यवहारिक रूपमा आफूले सिकेको सिप र ज्ञान कार्यान्वयन गर्नेगरेको त्यसै क्षेत्रका अगुवासमेत स्वीकार्छन्।
होटल एसोसिएसन जिल्ला अध्यक्ष देवी पौडेल होटलहरूले आतिथ्य सत्कार सुधार्नु आवश्यक रहेको बताउँछन्। ‘इलामजस्तो पर्यटकीय जिल्ला घुम्न आएका पर्यटकले सत्कार नपाउनु दुःखद् हुन्छ,’ उनले भने– ‘पर्यटकलाई जति र जसरी व्यवहार गर्नुपर्ने हो, त्यति भएको छैन।’ उनले एसोसिएसन र व्यवसायी पर्यटकमैत्री व्यवहारमा चनाखो रहे पनि सोचेजति सुधार्न नसकेको बताए। ‘आफूले दिने सेवा र सुविधा राम्रो बनाउने प्रयास त सबै व्यवसायीले गरेकै छन् तर कहिलेकाहीं पर्यटकको गुनासो आउने गरेको छ,’ उनले भने– ‘पर्यटकको स्तर, चाहना र आवश्यकता होटलले थाहा नपाएर पनि कहिलेकाहीं समस्या हुनेगरेको छ।’
अध्यक्ष पौडेलले एसोसिएसन र विभिन्न संघ–संस्थाले पर्यटकलाई गरिने आतिथ्य सत्कारबारे तालिम, गोष्ठी, प्रशिक्षण, सेमिनारलगायत कार्यक्रम गरिहेको बताए।स्थानीय सरकारले चाहिँ पर्यटन क्षेत्रको विकास गर्ने नीति लिए पनि त्यसअनुसार बजेट र कार्यक्रम नराख्दा सोचेजति काम गर्न नसकेको उनको भनाइ छ। ‘पर्यटन प्रवर्द्धनका लागि सरकारी क्षेत्रबाट होटल व्यवसायीलाई प्रोत्साहन र श्रमिकका लागि क्षमता विकास आवश्यक हुन्छ,’ उनले भने– ‘ती कार्यक्रम कम भएरै होटल क्षेत्रमा दक्ष श्रमिक अभाव छ।’
सदरमुकाम क्षेत्रका १ सय २० होटलमा तालिमप्राप्त होटल श्रमिकको संख्या ६० हाराहारी छ। जिल्लाभर ४ सय २० हाराहारी होटल रहेपनि तालिमप्राप्त होटल श्रमिकको संख्या चाहिँ न्यून रहेको एसोसिएसनले जनाएको छ।
यातायात क्षेत्रले पनि व्यवसायी र श्रमिकलाई पर्यटकप्रति गर्नुपर्ने सत्कार तथा व्यवहारबारे सचेत गराउने गरेको छ। बेला–बेला सवारी साधनमा कार्यरत श्रमिकको व्यवहारबारे गुनासो आउने गरेको पूर्वेली जिप तथा ट्याक्सी यातायात प्रालिका कार्यालय सचिव सुमन काफ्ले बताउँछन्।
याे खबर भीम चापागाईंले नागरीक दैनिकमा लेखेका छन् ।