काठमाडौं । कोटेश्वरमा गएराति मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी ३४ वर्षीया सम्झना राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई आइतबार राति पौने १० बजे ठक्कर दिएको थियो ।
अनुसन्धानबाट राईले राइड शेयरिङ प्लेटफर्म पठाओबाट अफलाइन यात्रा गरेको खुलेको छ । ‘पठाओमा राईको नम्बरबाट रिक्वेस्ट पठाएको र यात्रा सुरु हुनुअघि राईले नै राइड क्यान्सिल गरेको देखिएको छ,’ पठाओकी प्रवक्ता सुरक्षा हमालले भनिन् ।
उनका अनुसार पठाओबाट अफलाइन यात्रा हुँदा मृतक राईको परिवार बीमा सुविधाबाट वञ्चित भएको छ । हाल पठाओ यात्राका क्रममा मृत्यु वा अपांगता हुन पुगेको खण्डमा एभरेष्ट इन्स्योरेन्समा १० लाखसम्मको बीमा दाबी गर्न सकिने व्यवस्था छ । तर अफलाइन राइड भए राइडर र यात्रु दुवैले बीमा सुविधा नपाउने हमाल बताउँछिन् ।
‘आइतबार राति भएको सवारी दुर्घटनाको प्रमाण हामीसँग छैन,’ उनले भनिन्, ‘अनलाइन राइड हुँदा सबै विवरण एपले नै ट्रयाक गर्छ । तपाईं कहाँबाट कहाँ पुगिरहनुभएको छ भन्ने कुरा एपबाटै ट्रयाक भइरहेको छ । तर अफलाइन यात्राको विवरण नहुँदा बीमा सेवा प्रदायकले रकम भुक्तानी गर्न सक्दैन ।’
पठाओ अनलाइन राइड शेयरिङ सेवा भएकाले राइडरले क्यान्सिल गरेपनि प्रयोगकर्ताले थाहा पाउन जरूरी भएको उनी बताउँछिन् । ‘राइडरले क्यान्सिल गर्न लगाएको अवस्थामा पठाओमा कम्प्लेन गर्न वा अर्को राइड बुक गर्नसक्ने विकल्प छ । तर अफलाइन यात्रा गर्नु हरेक किसिमले जोखिमयुक्त छ,’ उनी थप्छिन् ।
उनका अनुसार यात्रुले राइडकै क्रममा आफ्नो विवरण सोसल मिडियामा आफन्तलाई पनि शेयर गर्नसक्छन् । चढिरहेको र चढ्ने व्यक्ति दुवैको जानकारी एपमा देख्न सकिन्छ । तर अफलाइन यात्रामा कुनै जानकारी हुँदैन । नियमित रूपमा पठाओ प्रयोग गर्ने यात्रुका लागि ‘प्रोमो कोड’ पनि उपलब्ध गराइरहेको जानकारी दिँदै हमालले यात्रुले आफ्नो यात्रालाई अझ सस्तोसमेत बनाउनसक्ने बताइन् ।
‘साथै एपमै रातो बटन दिइएको छ, जसमार्फत प्रयोगकर्ताले कुनै आपत परे १०० मा डायल गरी प्रहरीलाई जानकारी दिने विकल्प पनि छ,’ उनले भनिन् यसैबीच अर्को सातादेखि ‘पठाओ सुरक्षा कबच’ अभियान सुरू हुन लागेको उनले जानकारी दिइन् ।
‘हामीले पठाओमा सुरक्षित यात्राका लागि निरन्तर चेतना जगाउँदै आएका छाैं । यसैको सिलसिलामा राइडर र यात्रुले आफ्नो सुरक्षाका लागि के-के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा सजग गराउन हामीले अभियान नै सञ्चालन गर्न लागेका छौं,’ उनले भनिन् ।