काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ । खासगरी मन्त्रीहरु हेरफेरबारे पार्टीले लिएको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग असन्तुष्टि पोखेका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको अवस्थामा पनि अहिलेसम्म नयाँ मन्त्रीहरुको सपथ हुन नसक्नु दुर्भाग्य भएको खनालको गुनासो छ।
उनले मन्त्रीहरुले पनि पार्टी पद्धती र निर्णय नमानेको भन्दै सार्वजनिक रुपमै आलोचना पन गरेका छन्। खासगरी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच उचित समन्वय नभएको र आफूहरुप्रति कांग्रेस र माओवादी केन्द्र अनुदार बनेको भन्दै खनालले असहमति राख्दै आएका थिए । उनले सार्वजनिक रुपमै आगामी संघीय संसद्को निर्वाचनसम्म वाम गठबन्धन गरेर जानुपर्नेमा जोड दिन थालेका छन् ।
अहिले मन्त्रीहरु हेरफेरको विषय त बहानामात्रै भएको एकीकृत समाजवादीकै नेताहरुको आरोप छ । खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । उनले आफनो पार्टीले मन्त्रीहरु हेरफेरको निर्णय गरेर प्रधानमन्त्रीसमक्ष नयाँ मन्त्रीहरुको नाम सिफारिश गरेको अवस्थामा किन अहिलेसम्म त्यो निर्णय कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएका छन्। उनले पार्टी पद्धतीमा निर्णय सबैले स्विकार गर्नुपर्नेमा जोड दिएका छन् ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा खनालले प्रधानमन्त्री देउवा, माधव नेपालपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै पथमा हिँडेको आरोप लगाए । उनले भने,‘देउवा र माधवजी पनि केपी ओलीभन्दा फरक देखिनुभएन, एउटै कार्यशैली देखियो ।’ खनालले आगामी संसद्को निर्वाचनमा एमालेसँग सहकार्य हुनेगरि छलफल अघि बढेको पनि संकेत गरे । अहिले आफ्नो गृहजिल्ला इलाममा जिससमा एमाले र एकीकृत समाजवादीबीच गठबन्धन बनिसकेको पनि खनालले सुनाए । खनालले पछिल्लो समय वाम गठबन्धनको वकालत गरिरहेका छन् ।