सरला रेग्मी,
पाँचथर । १ बर्ष अगाडि ओयामका बिरेन्द्र योङ्याले २ सय रोपनिमा अलैंची खेती गर्दै आएका थिए । अलैंचीमा लागेको रोगले गर्दा उनले अहिले १ सय रोपनिमा मात्र खेती गर्दै आएका छन् । २ सय रोपनिमा ६० देखि ७६ मन सम्म अलैंची उत्पादन गर्ने योङ्या यसबर्ष अलैंचीले के गर्ने हो अन्योलमा छन् । योङ्या भन्छन– रोपेको अलैंचीमा डढेलो लागे जस्तो हुन्छ रामसाइ भन्ने जातको अलैंचीले नतिजा राम्रै ल्याएपनी गोलसाइको नतिजा कस्तो आउला भन्न सकिन्न ।
याङवरकको थर्पुका मान प्रकाश खेवाङको अधिकांस अलैंचीबाली डढेलो लागे जस्तो देखिन्छ । खेवाङले गत वर्ष १२ मन खुख्खा अलैंची फलाएका थिए । २५ रोपनी जमिनमा अलैंची खेती गर्दै आएका उनी यस वर्ष भने डढेलोको कारण कम उत्पादन हुने देखिएको उनी बताउँछन् ।
पछिल्लो समय पानी नभएको कारण, खडेरी र चिस्यान नहुँदा बोट मर्ने कारणले उत्पादन घटेको चौतर्फी चर्चा भइरहेको बेला याङवरकमा छेउमा कुलो बगिरहदा र चिसो ठाउँमा पनि डढेलो लाग्ने समस्या देखिएको छ । यस क्षेत्रमा अलैंचीका लागि आवश्यक सिंचाइको कुनै अभाव छैन । वर्षेनी घट्दो उत्पादनले कृषक निरास छन् ।
फालेलुङ्का कृषक तथा व्यवसायी अमर राईको भने डढेलो लागेको छैन ‘उनी भन्छन् बरु उत्पादनको कमि भएको छ, याङतारु अलैंची जोनबाट ल्याएका बिरुवामा गुदि कम लागेको उनको अनुभब रहेको छ’ । सिंचाइको अभाव पनि छैन । फल लाग्ने समयमा किरा लागेर बोट मर्ने गरेको छ । उत्पादन र मुल्य घटेको छ तर नयाँ प्रबिधी प्रयोग गर्दा लागत कम लाग्ने रहेछ । राईले भने– हिजो मुल्य बढी थियो जनशक्ति बढी लाग्थ्यो तर अहिले अलैंची गोड्ने ब्रस कटहर मेसिनका कारण जनशक्ति कम लाग्ने हुँदा मूल्य घटेपनी बराबर जस्तो भएको छ ।
अन्य खेती भन्दा अलैंची खेती नगदिबालि हुँदा यसप्रती आकर्षण बढ्दो थियो अन्य बाली भन्दा चार गुणा फाइदा हुन्थ्यो । ताप्लेजुङको फुङ्लिङ – १० का आर कार्कि भन्छन् – अन्य खेती छोडेर अलैंची खेती गर्नेको बिजोक नै भयो, अलैंची छोडेर कोहि चिया त कोहि बाख्रा पालन तिर लागेको उनले बताए ।
नेपालको पूर्वी पहाडी भेगमा उत्पादन हुने नगदेबालिको रुपमा परिचीत अलैंचीलाई ‘मसलाकी रानी, कालो सुन’ उपनाम दिइन्छ । नेपाली अलैंची भारत हुँदै पाकिस्तान, बंगलादेशलगायत विभिन्न मुलुक पुग्ने गरेको छ । अलैंची कृषिजन्य वस्तुमध्ये सबैभन्दा मंहगोमा भारतीय बजारमा निर्यात हुनेमा पर्छ । अलैंचीको निकासीबाट वार्षिक करोडौं रुपैयाँ नेपाल भित्रने गरेको थियो ।तर, भारतीय बजार निर्भर निर्यातले अलैंची क्षेत्रमा पटक–पटक संकट देखापर्ने गरेको छ ।
यस वर्ष अलैंचीको मूल्यमा पनि गिरावट आएको छ । फिदिममा अलैंचीको व्यवसाय गर्दै आएका व्यवसायी प्रकाश नेपाल भन्छन् – कृषक त कृषक हामी व्यवसायिले पनि अलैंचीको भाउमा गिरावट भएको कारण अलैंची गोदाममा थन्क्याउन बाध्य भएका छौं । गत वर्षको तुलनामा मुल्य निक्कै कम छ । महङ्गोमा किनेको अलैंची गोदाममा राख्न बाध्य भएको व्यवसायीको गुनासो छ । अहिले पाँचथरमा अलैंची प्रतिमन ३४ देखि ३७ हजार रुपैयाँसम्म कारोबार भइरहेको छ । एकातिर मूल्य घटेको दुख भन्दा उत्पादन घट्दाको पीडा धेरै छ । नेपालले केन्जो खबरसँग भने, “मूल्य र उत्पादन नै ह्रवात्तै घट्दा कृषक देखि व्यवसायी सम्म मारमा परेका छौँ” ।
पुर्वी नेपालको इलाम, पाँचथर, ताप्लेजुङमा नै बोट मर्ने समस्या देखिएको छ । तर गत बर्षभन्दा यो पटक ताप्लेजुङमा उत्पादन बढेको नेपाल अलैंची व्यवसायी महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष बालमणी बरालले बताएका छन् । गतबर्ष २ हजार ५ सय मेट्किटनमात्र उत्पादन भएको थियो तर यसबर्ष ३ हजार मेट्रिकटन उत्पादनहुने अनुमान रहेको बताएका छन् । बरालले भने – अलैंची विश्व बजारमा निर्यात हुने हुँदा अलैंचीमा लागेको रोगलाई बिषादी प्रयोग गर्दा निर्यात घट्नेहुँदा जैविक बिषादि र जैबिक भिटामिन प्रयोग गर्ने योजनामा रहेको बताएका छन् ।
सरकारलाई अलैंची खेतीमा आवश्यक प्राविधिक व्यवस्थापन तथा रोग निदानका लागि बारम्बार अपिल गदैँ आएको नेपाल अलैंची व्यवसायि माहसंघका अध्यक्ष निर्मल भट्टराईले बताएका छन् । भट्टराईले भने नेपाल सरकारलाई अलैंचीमा लागेको रोगको बिषयमा समन्वय गरिसकेको बताएका छन् । नेपाल सरकारले अलैंचीको रोग निवारणकै लागि भनेर इलामको फिक्कलमा अलैंची बिकास केन्द्र स्थापनमा गरेको छ ।
यस वर्ष मूल्य र उत्पादन पनि घटेको छ । उनले भने– पछिल्लो समय धेरै मुल्य घटेको कारण किसानमा निराशा देखिएको छ । तर उत्पादनको हिसाबले प्रदेश नम्बर १ मा देखिएपनी सुदुरपश्चिममा अलैंची खेती बिस्तार भएर गएको छ । अन्य खेती भन्दा अलैंची खेतीबाट चार गुणा फाइदा हुने भएकाले अन्य खेती धान, मकै खेति गर्दै आएकालेपनी त्यो जमिनमा अलैंची लगाए । अलैंचीको बोट मरेर उत्पादन घटेसँगै हिजोआज उनीहरुमा निरासा आएको हो । भट्टराईले भने– उत्पादन घटेको भनेर कृषक र व्यवसायिले अलैंची होल्डमा राखेको कारणपनि अलैंचीको मूल्य घटेको भट्टराईले बताएका छन् ।
अलैंची बिकाश केन्द्र फिक्कलका प्रमुख भीष्म घिमिरेका अनुसार इलाम,पाँचथर, ताप्लेजुङ र पुर्व देखि पश्चिमसम्म नै अलैंचीमा समस्या भएको बताएका छन् । घिमिरेका अनुसार– अलैंचीमा दुई प्रकारको समस्या देखिएको छ– एउटा किरा लाग्ने र अर्को रोग लाग्ने किरा लागेको अलैंचीमा जैबिक बिषादी हालेर बगान व्यबस्थापन गरेर समस्या समाधान हुने देखिएको छ तर रोग( गानो कुहिने, छिर्केफिर्के,पात सुक्ने,गुभा कुहिने)को कृषि अनुसन्धान परिषद् नार्कले अनुसन्धान गरिरहेको र यस्को जड सम्म पुग्न नसकेको बताएका छन् ।
साउन अन्तिमदेखि कृषकले उत्पादन गरेको अलैंची बजारमा आउने गर्छ । गत वर्षको कार्तिकमा अलैंची प्रतिमन ५० हजार रुपैयासम्म कारोबार भएको थियो । तर मंसिर देखि ओरालो लागेको अलैंची प्रतिमन ३४ हजार देखि ३७ हजार रुपैयाँसम्म खरिदबिक्री हुँदै गरेको नेपाल अलैंची व्यवसायी महासंघ पाँचथर शाखाका अध्यक्ष खेम अधिकारीले बताए । उनले भने पाँचथरका अधिकांस बगानमा डढेलो लाग्ने र गुदि कुहिने समस्या रहेको बताएका छन् ।
यसवर्ष नेपाल साथै भारत, भुटानमासमेत उत्पादन भएका कारणपनि मुल्य वृद्धिमा ह्रास आएको हो । तर छिटै देखि पानी परेका कारण उत्पादनमा भने केही सुधार हुने बिश्वास कृषकले गरेका छन् ।
आर्थिक बर्ष २०७७/२०७८ मा ४७ सय टन ( १ लाख १७ हजार ५ सय मन ) निर्यात भएको थियो भने २०७८/२०७९ जेठ १७ सम्म ४६ सय टन ( १ लाख १५ हजार मन ) अलैंची निर्यात गरेको पूर्वी नाका काँकडभिट्टा भन्सारले जनाएको छ । यो निर्यात गेर्दा असार मसान्त सम्म गतबर्षको तुलनामा निर्यात बड्ने नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले केन्जो खबरलाई बताएका छन् ।नेपालमा उत्पादित ९० प्रतिशत अलैंची भारत निर्यात हुँदै आएको छ । पुर्वी नाकाबाट उत्पादिन वस्तु तथा सेवामध्ये सबैभन्दा धेरै निर्यातहुने अलैंचीनै मानिन्छ ।