सरला रेग्मी,
तिनजुरे । अग्ला पहाडमा फुलेका रातम्बे गुराँसले डाँडालाइ नै रोमान्चित बनाएको देखिन्छ । तिनजुरेमा यतिबेला कुहिरो र गुराँसको मीठो संगम देखिन्छ । जंगललै भरी ढकमक्क फुलेको गुराँसले पहाडका डाँडा सुगन्धित बनाएको छ ।
राता, सेता, गुलाबि, एउटै रङमा विभिन्न रङ मिश्रित गुराँसले हरकोहिको मन सुगन्धित बनाएको छ । गुराँसको राजधानी हो तिनजुरे,मिल्के र जलजले । धरान बाट ८७ किलोमिटर बसन्तपुर र बसन्तपुर देखि ५ किलोमिटरको दुरिमा पर्ने तिनजुरे यतिबेला पर्यटकको रोजाइ बनेको छ । स्थानिय डिल्ली याख्खा भन्छन् –
‘गुराँसका केही प्रजाति माघमै फुल्छन्, केही भने जेठतिर मात्र । अधिकांश प्रजातिका गुराँस फुल्ने समय भनेको यहि महिना अर्थात चैत, वैशाख हो” । यति बेला नयाँ वर्षको आसपासमा गुराँसे वन हेर्नलायक छन् ।
याख्खा भन्छन् – ‘गुराँस कुनै वर्ष केही चाँडो र ढिलो पनि फुल्ने गर्छ । गुराँस फुलेको समयमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्ने गर्छ’।ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरे-मिल्के-जलजले (टीएमजे) नेपालकै ठूलो गुराँस वन क्षेत्र मानिन्छ । ‘कंचनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरु’ नामक अनुसन्धानमुलक पुस्तकमा नेपालमा ३३ प्रजातिका गुराँस पाइने देखाउछ ।
एकै स्थानमा सबैभन्दा बढी प्रजातिका गुराँस पाइने क्षेत्र पनि यही अर्थात टिएमजे हो । टीएमजेमा नेपालमा पाइने ३३ मध्ये यहाँ २८ प्रजातिका गुराँस पाइने बताइन्छ । टीएमजेलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ । गुराँसको राजधानी यतिबेला विभिन्न प्रजातिका गुराँस फुलेर हेरिरहुँ लाग्ने बनेको छ । घरका भित्ता,गाडी कुद्ने सडकका चारैतिर गुराँस मात्र देखिन्छ । चराका चिरबिर आवाज, कुहिरोको लुकामारीले वन क्षेत्र आकर्षित बनेको छ ।
गुराँसको फेदमा रमाउनेहरु प्रशस्त भेटिन्छन् । मुख्य रुपमा १ नम्बर प्रदेशमा टिएमजे, ताप्लेजुङको पाथिभरा क्षेत्र, पाँचथरको छिन्तापु, सुकेपोखरी, च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका डाडा गुराँसका लागि चर्चित छन् । बर्षायाम शुरुहुनु पुर्वनै परेको असिना पानीले गुराँसलाई केही बिगारेको देखिन्छ । नयाँ बर्षमा गुराँस हेर्नकै लागि लाखौ पर्यटक तिनजुरे आसपासका क्षेत्रमा आउने गरेको स्थानिय बताउछन् ।