सरला रेग्मी,
सुनसरी । त्रेतायुगमा भगवान् रामले बालेको धुनी अझ सम्म बलिरहेको भन्ने किम्बदन्ती बोकेको रामधुनी मन्दिर पुर्वको चर्चित मन्दिर हो । राम वनबास जादा यो स्थलमा बास बसेको भन्ने रामायणको कथासङ प्रत्यक्ष गासिएको पवित्र तिर्थस्थल हो । इटहरी बाट १७ किलोमिटरको दुरीमा रहेको रामधुनी मन्दिर सुनसरी जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हो । यो मन्दिर रामधुनी नगरपालिकाको वडा नं. ४ मा पर्छ । रामधुनीमा मुख्य रूपमा धुनी मन्दिर र दरबार मन्दिर छन् । धुनी मन्दिरमा सधैँ एउटा साजको मुढो सल्काएर राखिन्छ र उक्त मुढो जलिरहेको हुन्छ, त्यस मुढोको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ । यसैगरी दरबार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ । त्यसभित्र चन्द्र, शिवलिङ्ग, दुर्गा र सिंहका मूर्तिहरू राखिएका छन् । वनस्खण्डी बाबाले बोकेर हिँड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ ।रामधुनीमा वनबासको क्रममा सम्झना स्वरूप भगवान रामले छोडेको एकजोर खराउ र रथका पाङ्ग्रा हालसम्म रहेको बताइन्छ ।
सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करिब १५ किलोमिटर उत्तरपश्चिममा रहेको यस स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फूलबारीका बीचमा धुनीस्थल रहेको छ । यस मन्दिरमा केही पुरातात्विक महत्वका वस्तु, सामग्री र परम्परा रहेको देख्न पाइन्छ ।यहाँ अखण्ड धुनी हरहमेशा बलिरहने गर्छ । यो धुनी नै यस मन्दिरको मुख्य आकर्षण हो । यो धुनी त्रेतायुगदेखि नै निरन्तर बलिरहेको छ भन्ने जनविश्वास छ । धरानको पिण्डेश्वर मन्दिरको भुवनेश्वरी थानमा रहेको अखण्ड बत्ती र रामधुनीमा रहेको धुनीको तादात्म्य सम्बन्ध रहेको छ भनी बूढापाकाहरूले बताउने गर्छन् । भनिन्छ, कथंकदाचित् रामधुनीको धुनी निभ्यो भने बाजागाजा र लावालस्करका साथमा पिण्डेश्वरको बत्तीको आगो ल्याई उक्त धुनी जगाउनुपर्छ, त्यस्तै पिण्डेश्वरको दियो निभेमा त्यसरी नै रामधुनीको आगो ल्याई बत्ती बाल्नुपर्छ । अहिले पनि रामधुनी पुग्ने भक्तहरूले प्रसादस्वरूप उक्त धुनीको भस्म (विगुत) को तिलक लगाउने र रक्षा हुन्छ भनी घरमा ल्याएर राख्ने गर्छन् ।रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पन्न विगुत लगाएमा चिताएको कुरा पूरा हुने जनविश्वास छ ।
बिशेषगरि राम नवमिका दिन भव्री मेला लाग्ने यस स्थलमा लाखौको संख्यामा भक्तजनहरु आउने गर्छन् । रामनवमी मेलालाई मध्ये नजर गर्दै भत्तजनको स्वास्थ्य सेवाको लागि सुनसरी नागरीक स्वास्थ्यसेवा इटहरीले सेवा दिदै आएको छ ।
चारैतिर घना जङ्गलका बीचमा रहेको रामधुनी मन्दिरमा प्रत्येक वर्षको रामनवमी पर्वका दिन भव्य धार्मिक मेला लाग्ने गर्छ । त्यसबाहेक विवाह पञ्चमी र बाला चतुर्दशीमा पनि यहाँ भक्तजनहरूको घुइँचो नै हुन्छ । त्यस्तै साउन महिनाको सोमबार बिहान पनि श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । पौराणिक पञ्जावी शैलीको पुरानो मन्दिर संरक्षणको अभावमा जीणर् भई भत्किएकाले त्यहाँ हाल केही वर्षपहिले कबिर पन्थी शैलीको मन्दिर निर्माण गरिएको छ । पुरातात्त्विक महत्व बोकेको यस्ता मन्दिरको संरक्षण तथा प्रवर्द्धन गर्न जरुरी देखिन्छ ।