पाँचथर । देशै भरी चैत २५ देखी बैशाख १८ सम्म टाइफाइड विरुद्धको खोप अभियान शुरु हुने भएको छ । पाँचथरमा पनि २०७८ चैत २५ देखि २९ सम्म टाइफाइड विरुद्धको खोप संचालन हुने भएको हो ।
१५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुको लागि अभियानको रुपमा खोप बितरण गर्न लागिएको हो । विश्व स्वास्थ्य संगठनको वर्गिकरण अनुसार प्रती १ लाख जनसंख्यामा १ सय भन्दा बढी संक्रमण दर भएमा सो अवस्थालाई रोगको उच्चदरमा वर्गिकरण गरिएको छ ।
एकीकृत स्वास्थ्य सुचना व्यवस्थापन प्रणालिको प्रतिवेदनअनुसार नेपालमा बिगत ५ बर्षको तथ्यांक हेर्दा हरेक बर्ष करीब ४ लाख ५० हजार टाइफाइडबाट संक्रमित हुने गरेका छन् ।
बिगत ३ बर्षको तथ्यांक हेर्दा खानेकुराबाट हुने संक्रमण रोगहरु मध्ये टाइफाइड तेस्रो स्थानमा रहेको छ ।राष्ट्रिय खोप सल्लाहाकार समितिले २०२० अगस्ट १४मा टाइफाइड विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समाबेश गर्न सिफारिस गरेको हो ।
चैत २५ गते देखि २९ गते सम्म बितरण गर्ने उत्त खोप नगरपालिका तथा गाउँपालिकाका शिक्षण संस्थामा बितरण हुने जिल्ला स्वास्थ्य कार्यलय पाँचथरका प्रमुख तेज बहादुर तुम्बापोले बताएका हुन् ।पाँचथर जिल्ला भरी जम्मा २६२ खोप केन्द्रमा खोप बितरण हुने तुम्बापोले बताए ।
याङवरक गाउँपालिकामा २९, हिलेहाङ गाउँपालिकामा ३४, फालेलुङ गाउँपालिकामा ३७, फिदिम नगरपालिकामा ३९, कुम्मायक गाउँपालिकामा २५, तुम्बेवा गाउँपालिका २५, फाल्गुनन्द गाउँपालिकामा ३३ र मिक्लाजुङ गाउँपालिकामा ४० खोप केन्द्र रहने छन् ।
टाइफाइड बिरुद्दको खोप अभियानमा लक्षित संख्या ५१ हजार ५ सय ३९ जना रहनेछन् । जस मध्ये बिधालय भित्र ४३ हजार ८ सय ६८ जना रहनेछन्, बिद्यालय बाहिर ७ हजार ६ सय ७१ जना रहने तुम्बापोले जानकारी दिए ।
यो खोप ५ दिन भित्र लगाउनु पर्ने हुँदा स्वयम् सेवक र खोप दिने स्वास्थ्यकर्मी जम्मा गरि ९ सय ८० जनशक्ति परीचालन हुनेछन् ।उत्त खोप लगाउदाको जोखिम अत्यन्तै न्यून रहेको तुम्बापोले बताएका छन् ।
उच्च संक्रमणको रुपमा रहेको टाइफाइड विरुद्धको खोप लक्षित वर्गमा पुर्याउन सबैले आआफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताएका छन् ।
जिल्ला समन्वय प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समिती अध्यक्ष बिमल सापकोटाले बालबालिकाको लागि टाइफाइड विरुद्धको खोप अनिवार्य भएकोले सबै नगरपालिका र गाउँपालिकामा यस्को महत्व बुझाउन पहल गर्न सबै लाग्नु पर्ने बताएका छन् ।