ताप्लेजुङ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
ताप्लेजुङको फुङलिङ नगरपालिका र ललितपुरको किराँत याक्थुङ चुम्लुङ हिममा शुक्रबार एकसाथ पत्रकार सम्मेलन गर्दै समूहले आन्दोलन घोषणा गरेका हुन् । सभा, जुलसदेखि प्रदर्शनसम्मका कार्यक्रम घोषणा गरिएको छ ।
पुस २२ देखि ताप्लेजुङका सबै स्थानीय तहसहित विभिन्न जिल्लामा गाउँघर भेला तथा छलफल गर्ने, माघ १२ गते पूर्वी नेपालका सबै जिल्ला तथा मुख्य बजारमा कोणसभा गर्ने, माघ १६ गते फुङलिङ बजारमा जनप्रदर्शन र कोणसभा गर्ने, १७ गते ‘नो केबलकार’ आन्दोलनका क्रममा घाइते भएकालाई सम्मान गर्ने, १८ गते पाथीभराको कान्छीथानदेखि मन्दिरसम्म धागो टाङ्ने कार्यक्रम सार्वजनक गरिएको छ ।
१९ गते पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा प्रदर्शन र कोणसभा र २० माघदेखि मसान्तसम्म पाथीभरा केबलकार र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुमलुङ संरक्षणका क्रममा भएको आन्दोलनमा लगाइएका मुद्दा खारेजीसहितका विषयलाई निर्वाचनको एजेन्डा बनाएर गाउँबस्तीमा अभियान चलाउनेसहितका कार्यक्रम घोषणा भएका छन् ।
केबलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले आफूहरुको एकमात्र माग मन्त्रिपरिषद्स्तरीय निर्णयबाट केबलकार खारेजी रहेको बताए । निर्माण कम्पनीले जतिसुकै कामगरे पनि चल्न नदिने धम्की उनले दिएका छन् । विरोध कार्यक्रमको विज्ञप्तिमा १५ वटा संघ संस्था र नौवटा राजनीतिक दलले हस्ताक्षर गरेका छन् ।




