इलाम । रेड पाण्डा म्याराथनमा नेपाली सेनाका धावक गजेन्द्र राईले उपाधि जित्दै १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। ४४ दशमलव ३ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमा पार गर्दै उनले ३ हजार ६ सय १० मिटर उचाइको सन्दकपुर शिखरमा पुगेर प्रथम स्थान हासिल गरेका हुन्।
१ हजार २ सय २० मिटर उचाइमा रहेको इलाम बजारबाट सुरु भएको म्याराथनमा नेपाली सेनाकै वर्चस्व देखिएको छ। करण रावल ४ घण्टा १३ मिनेटमा दूरी पूरा गर्दै दोस्रो भए भने कर्णबहादुर रोक्का मगर ४ घण्टा २९ मिनेटमा तेस्रो स्थानमा रहे।
महिलातर्फ निर्मला राई प्रथम भएकी छन्। खोटाङकी राईले ५ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरिन्। नेपाली सेनाकी सुनसरी रोकाय दोस्रो र कल्पना बुढा तेस्रो भइन्।
पाँचथर, इलाम र ताप्लेजुङका स्थानीय धावकहरू सहभागी रहेको स्थानीयतर्फ राजन मेन्याङ्बो प्रथम बने। विशाल राई दोस्रो, राजेन्द्र लिम्बु तेस्रो र रमेश लिम्बु सान्त्वना भए।
प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुनेले जनही १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। स्थानीयतर्फ प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए।
रेड पाण्डा संरक्षण र प्रकृतिमैत्री खेल प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता श्री दीप ज्योति क्लबको आयोजनामा रेड पाण्डा नेटवर्क र प्ले फर नेचरको सहयोगमा सम्पन्न भएको हो।
मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित




