काठमाडौँ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ को राजदुवाली–इलाम सडक खण्ड पहिरोले भासिएपछि करिब दुई सातायता यातायात आवागमन ठप्प छ ।
असोज १८–२० को भीषण वर्षापछि गएको बाढी र पहिरोले इलाममा जनधनको व्यापक क्षति गरेको थियो । त्यही रात गएको पहिरोले राजदुवाली–इलाम जोड्ने करिब ८ सय मिटर बाटो अहिलेसम्म अवरुद्ध छ । गत शनिबार स्थलगत भ्रमणमा आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अवरुद्ध सडक तत्काल खुलाउन निर्देशन दिएका थिए । तर, सडक सञ्चालन हुन सकेन ।
सडक डिभिजन इलामका अनुसार सडक खुलाउन रातदिन कर्मचारी खटिएका छन् । तर, भौगोलिक चुनौतीका कारण बाटो खुलाउन कठिनाइ बढेको इन्जिनियर अर्जुन घिमिरेले बताए । ‘हामी रातदिन काम गरिरहेका छौं,’ घिमिरेले भने, ‘तर तिहारअघि बाटो सञ्चालन गर्ने स्थिति छैन ।’
पहिरोले भीरै भासिएको छ । पहिरोको बाहिरी सतह स्थिर देखिए पनि भित्रैदेखि माटो खस्ने क्रम रोकिएको छैन । ‘यहाँको भूगोल नै अनौठो छ,’ उनले थपे, ‘हेर्दा सामान्य देखिन्छ तर भित्रभित्रै पहिरो जान्छ । सामान्य वर्षा भए पनि भासिने खतरा रहन्छ ।’
स्थानीयहरूका अनुसार सडक अवरुद्ध हुँदा इलामतर्फको सामान ढुवानी प्रभावित भएको छ । आपतकालीन सेवालाई पनि वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । सडक डिभिजनले भारी उपकरण र प्राविधिक टोली परिचालन गरे पनि स्थायी समाधानका लागि दिगो ढलान स्थिरीकरण र नाला सुधार आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।
भौगर्भिक रूपमा कमजोर यस खण्डमा करिब ४० मिटर मोटाइको माटो मात्रै रहेको र चट्टान नहुँदा पानी सजिलै सतहभित्र छिरेर भीर खस्ने समस्या बढेको भू–प्राविधिक विज्ञ डा. मधुसूदन आचार्यले बताए । उनका अनुसार तलदेखि माथिसम्म सात–आठ ठाउँमा पानीका नयाँ मुहान निस्किएका छन्, जसको व्यवस्थापन सुरु भइसकेको छ ।
आचार्यका अनुसार पहिरो पूर्ण रूपमा रोक्न नसकिए पनि भूमिगत पानीको निकास मिलाएर दीर्घकालीन समाधान सम्भव छ । अहिले विभागले पाइपमार्फत पानी हटाउने, भीरको ढलान स्थिर पार्ने र ग्राभेल हालेपछि सडक सञ्चालन गर्ने तयारी छ । तर, तिहारअघि बाटो खोल्ने अवस्था देखिँदैन ।
गत वर्ष नै करिब २० करोड रुपैयाँमा पहिरो नियन्त्रणको ठेक्का सम्झौता भइसके पनि काम सञ्चालन गर्नुअघि नै पहिरो खसेको थियो । अहिले पनि सो डिजाइनअनुसार पुनः मर्मत गर्ने तयारी भइरहेको आचार्यले बताए ।
वैकल्पिक सडक
इलाम, पाँचथर र ताप्लेजुङको ‘लाइफ लाइन’ मानिने मेची राजमार्गको अवरुद्ध राजदुवाली खण्डको वैकल्पिक वाटो सञ्चालनमा आएको छ ।
राजदुवाली सडकको अवरोध तत्काल खुल्ने सम्भावना नभएपछि इलाम नगरपालिका–१०, गोदकको सिमलगोलाइबाट माइबेनीको जोगमाई खोला हुँदै इलाम बजारछेउ तिल्केनी निस्किने वैकल्पिक मार्ग बिहीबारदेखि खुलेको हो । यो मार्गको जोगमाई खोलामा डाइभर्सन बनाइएपछि सवारीसाधन चल्न थालेका हुन् ।