दिपक बोहोरा । पाँचथर
फिदिममा निर्माणाधीन रंगशाला छ वर्ष बितिसक्दा पनि अधुरै छ । २०७७ फागुन १ गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गरेपछि सुरु भएको रंगशाला निर्माण योजना बजेट अभाव र ठेकेदार कम्पनीको उदासीनताले अन्योलमा परेको छ ।
१२ करोड १५ लाख रुपैयाँ लागत अनुमान गरिएको रंगशालाको निर्माणका लागि पिएस–किरातेश्वर–मैनाचुली जेभीले १० करोड ६३ लाख रुपैयाँमा ठेक्का लिएको थियो । १७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको योजना पटक–पटक म्याद थपिँदै आजसम्म पनि अधुरै छ । हालसम्मको भौतिक प्रगति मात्र ३१.७५ प्रतिशत रहेको छ ।
निर्माण कार्य २०७९ असार १५ सम्म सक्ने लक्ष्य राखिएको थियो । तर, निर्धारित समयमै काम नसकिएपछि म्याद २०८० असार मसान्तसम्म लम्ब्याइयो । त्यसपछिको अवधि पनि सकिएपछि फेरि २०८३ जेठसम्म म्याद थप गरिएको छ । महालेखा परीक्षकको प्रतिवेदनले ठेकेदार कम्पनीलाई कारबाही गर्न स्पष्ट सिफारिस गरे पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उल्टै म्याद थप्दै आएको छ ।
राखेपले भाद्र अन्तिम सातादेखि काम सुरु हुने दाबी गरे पनि निर्माण व्यवसायी सनकसिं राईले म्याद थपको पत्र नआएकाले काम सुरु गर्न नसकेको बताएका छन् । “मुखले मात्र काम गर्न भन्छन्, पत्र भने आएको छैन,” राईले भने ।
राखेपका इन्जिनियर केवल परियारका अनुसार प्यारापिट, चेंजिङ रुम, स्टेजसहितको भवन, ड्रेनेज, चपरी लगाउने, सटर व्यवस्थापन, छतमा पर्खाल र तारजाली जडान गर्ने कार्य बाँकी छन् । खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले निरन्तर प्रयासपछि काम सुरु हुने संकेत देखिएको बताए । ‘केहि दिनमा निर्माण कार्य सुरु हुने कुरा छ ।’ मोक्तान भन्छन् ।
तर रंगशाला अधुरो रहँदा स्थानीय खेलाडीहरू भने निराश छन् । फुटबल संघ पाँचथरका अध्यक्ष गणेश राईका अनुसार मैदान अभावका कारण पछिल्ला वर्षहरूमा जिल्लास्तरीय फुटबल गतिविधि ठप्प छन् । रंगशालाको ढिलाइले पाँचथरको खेलकुद विकासमा गम्भीर असर पारेको छ ।
रंगशाला निर्माणको नाममा सुरु भएको योजना अहिले बजेट र ठेकेदारको झमेलामा फँसेर अलपत्र बनेको छ । स्थानीयवासी र खेलप्रेमीहरू अब यसलाई समयमै सम्पन्न गर्न दबाब दिन थालेका छन् । रंगशाला केवल संरचना होइन, पाँचथरको खेलकुद भविष्यको आधार हो भन्ने आवाज चर्किंदै गएको छ ।