पाँचथर । सुनसरीमा महिलाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका–१, सरङडाँडाकी सुमित्रा तामाङको हत्या गरेको आरोपमा इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने धनकुटाको पाख्रिबास नगरपालिका–६, फलाटेका २४ वर्षीय विनेश राना पक्राउ परेका हुन् । उनी इटहरी–५ मा डेरा गरी बस्दै आएकी थिइन् ।
यही फागुन १७ गते बिहान धरान उपमहानगरपालिका–१८, बुद्धचोकस्थित न्यु कान्तिपुर होटेल एन्ड गेस्ट हाउसको कोठामा तामाङको शव फेलापरेको थियो । घटना अनुसन्धानका क्रममा हत्यामा विनेशको संलग्नता देखिएपछि पाख्रिबास–११ स्थित उनकै ससुराली घरबाट मृतकको मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो । विनेश गएको शनिबार पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार श्रीमान् विदेशमा रहेको बेला विगत एक वर्षदेखि सुमित्रासँग उनको प्रेम सम्बन्ध रहेको खुल्न आएको छ । पटक–पटक भेटघाट हुने गरेको र आपसी सल्लाहअनुसार फागुन १५ गते बिहान उनीहरू उक्त होटेलमा बसेको पनि अनुसन्धानका क्रममा देखिएको छ ।फागुन १६ गते बेलुका सुमित्राले अरू पुरुषसित मोबाइलमा कुरा गरेको विषयमा विवाद भएको थियो । त्यसपछि विनेशले कुटपिट गरेको र विवाद बढ्दै जाँदा घाँटी थिचेर सुमित्राको हत्याको गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लगत्तै उनी पाँच हजार रुपैयाँ र मोबाइल समेत लिई होटेलबाट फरार भएका थिए ।