सरला रेग्मी,
पाँचथर । छोरीलाई माइत जाने हुटहुटी थियो । पाँचथर देखि धरानको यात्रा अहिले पो तमोर करिडोरले सहज बनाएको छ, त्यो बेला त्यति सहज होइन । लगभग पाँच घण्टामा विर्तामोड अनि विर्तामोडबाट धरान पुग्न अढाइ देखि तिन घण्टा लाग्ने । अलि सहज प्राइभेट गाडीमा तर, सार्वजनिक यातायातमा प्राइभेट गाडीमा चढे जस्तो कहाँ हुन्छ र ?अहिले फिदिम देखि डाइरेक्ट गाडी पाउँछ उ बेला पाइदैन थियो । फिदिमबाट बिर्तामोड सम्म चै पाइन्थ्यो ।
बिहानै उठेर हिड्न त मन थियो । तर केही जरुरी काम सक्नु पर्ने भएकाले १० बजे खाना खाएर विर्तामोडको गाडी चढे । १० बजे हिड्ने भनेको गाडी यात्रु बटुल्दै ११ बजे छुट्यो । पुसको महिना, जाडो निकै थियो ।
माइती जान कस्लाइ पो हतारो हुन्न र ? मनमा एक किसिमको हतार अवश्य थियो । जसरी भएपनि बेलुका पुगिहालिन्छ नि भन्ने सोचेर हिँडे । गाडीमा काँेचाकोँच मान्छे खाँदिएको थियो । गाडीको अगाडिको सिटमा बसेकी थिएँ । दुईजनाको सिटमा तीनजना काँेचाकाँेच, ड्राइभरले दुईको ठाउँमा तीन हाल्दा समस्या त भै हाल्ने नि, एउटी बहिनी बिचको चेपमा बस्ने भइन् । तिनको असहजता बुझेर छेउका एकजनाले म बस्छु पनि भनेकै हुन् – तर ‘अप्ठेरो हुन्छ रे ती ड्राइभरलाई, अलि ठूलो मान्छेलाई बीचमा राख्दा अलि सानो मान्छे सजिलो अरे’।
वास्तवमा त्यस्तो हो कि नियत त्यो चाहिँ उही जानुन । बाटोका घुम्तीहरुमा ती चालकका कुहिनो ती बहिनिलाइ दुःख दिदै थिए । बार्ह गोलाइका घुम्तिमा ति बहिनीले आफ्ना वक्षस्थल जोगाएको देख्दा माया नै लाग्यो । उनी आकस्मिक यात्रामा हिडेकी थिइन् । ती चालक फोनमा खुब मस्किरहेका थिए । ती चालकका गतिविधिले गाडीमा सवार सबै रिसले चुर थिए।
हुन त समाजमा ड्राइभरलाइ हेर्ने दृष्टिकोणमा खासै परिवर्तन भएन या भनौ उनिहरुका हर्कत नै परिवर्तन गर्ने किसिमका भएनन् भनौ ।
मम्मीले भनेको कुरा याद आयो–ड्राइभरको ब्यहोरा नि हुदैन । भित्रभित्रै रिस पनि उठ्यो, बल्लबल्ल साढे चारमा विर्तामोडमा उत्रिएँ । म छेउमा बसेकी केटी र मसँगै गाडीबाट निस्कियौं । उ दमकसम्म जाने रहेछिन् । उसको प्रस्ताव थियो ‘सँगै जाउँ ल भन्ने । एउटा पार्सल विर्तामोडमा आफन्तको, दिनु थियो । चढ्यौं सिटी रिक्सा । सिटी रिक्साको चालक ऐनाबाट हामीलाई हेर्दै मस्किरहेका थिए । लाग्छ तिनले पहिलो पटक कोही महिला देख्दैछन् । कपाल मिलाउँदै र सर्टको गोजीमा राखेको चश्मा पुछ्दै । किन त्यसो गरे थाहा छैन् । हामीलाई प्रभावित पार्न वा अरु केही उही जानुन ।
बसपार्कमा उत्रिँदा, आफ्नो लगेज निकाल्दा र सिटी रिक्सामा चढेर भद्रपुर रोड पुग्दा ५ बजिसकेको थियो । घरबाट बारम्बार फोन र बिर्तामोड बस्ने आदेश नआएको होईन तर, माइती पुग्ने हतारले झुट बोले । धरानको साथी भेटे उतै जान्छु । आफन्तकोमा पार्सल दिएर फर्कियौं ।
गाडी प्रतिक्षा गर्दै थियौँ, पुसको महिना कति छिटो रात पर्ने, ५ः३० त्यही भइसकेको थियो एउटा भ्यान आएर हाम्रो अगाडि रोकियो । बहिनीहरु कहाँ जाने हो ? यसो हेर्यौ गाडिभित्र एकजना महिला पनि थिइन् । हामीले के गर्ने, के नगर्ने दोधारमा प¥यौं । धरान पुग्नु थियो । मैले सोधे– कहाँ जान्छ दाइ यो गाडी ? उसले भन्यो–धरान जान्छ, जाने हो ? मसँगैको साथी दमकसम्म मात्र, मैले भने जान त धरान नै जाने हो । तर …… जाने हो भने चढ्नुस्, ट्राफिकले रोक्न दिँदैन यहाँ । बहिनीले भनिन ‘जाउँ दिदी खाली नै छ, फेरि गाडी पनि धरान नै जाने रहेछ’ ।
गाडी चढ्दा ६ बजेको थियो । माइती घर र श्रीमानको फोन बारम्बार आइरहेको थियो साथी दमकमा ओर्लिइन् । अर्कि महिला उर्लाबारी उत्रिन, अब गाडीमा म र ड्राइभरमात्रै भयौ । मुटु कति स्केलमा दौड्दै छ थाहा थिएन । ब्यागलाई दह्रो समाएको थिएँ, दुई हात जोडेर प्रार्थना गर्दै थिएँ फेरि सम्झिएँ, ममि को कुरा ’ड्राइभरको भर हुँदैन’। मुटु त्यो भ्यानभन्दा कयौं छिटो दौड्दै थियो । गाडी अगाडि बढ्यो । म पछाडिको सिटमा थिएँ, धरानमा कहाँ जाने बैनी ? ‘ड्राइभरले सोधे’
मैले उसको प्रश्नको जवाफ दिएँ– बरगाछी । को छ त्यहाँ ? फेरि प्रश्न सोधे– माइतीघर हो, जवाफ दिएँ । ए.. चेली पो हुनुहँदो रहेछ थोरै मुटुको बेग घट्यो । तर थोरैमात्र …।
मुटुको बेग घटेको मात्र के थियो । पथरीको जङ्गलमा गाडी घ्याच्चै रोकियो । साढे ७ बजिसकेको थियो । मोबाइल अफ थियो । पुसको महिना बाहिर अँधेरो, गाडी पातला, तर मुटु चौपटै दौडिदै थियो । एकैछिन है बहिनी– म बाहिर गएर आउँछु, ड्राइभरले भन्यो, झन् डर लाग्यो ।
हतार हतार हिड्ने हुँदा आँफुलाइ जोगाउने केही बोकेको थिइन् । तर के थाहा र यस्तो परिस्थिती आउँछ भनेर ? मुटुलाई केही सान्त्वना दिने बाहेक मसँग अरु केही थिएन, त्यही सान्त्वना पनि झन्डै थिएन् । अनि किन नडराओस त यो मन ? मुटु ढुकढुक भइरहेको थियो, ड्राइभरले भने–चेली अगाडि बस्ने हो कि ?
होइन दाइ पछाडि नै ठिक छ ‘मैले भने । भ्यानको अगाडिपट्टी राखेको बक्सबाट बिस्कुट झिके र खान दिए , समाउन चै समाएँ। तर खाइनँ । कतै वेहोस पार्ने दवाइ त हालेको छैन? मन न हो जे आउने,
मन खुबै डराएको थियो । किनकी म पनि यही समाजमा हुर्किएकी हु जहाँ बलात्कार गर्नेको भन्दा बलात्कार हुनेको इज्जत जान्छ । तर के छोरी मान्छेले यौनिमा इज्जत बोकेको हुन्छ र जुन बलात्कार पछि इज्जत जानलाई ?
अहिले जे सोचे पनि त्यो बेला कतै मेरो इज्जत जान्छ कि भन्ने कुराले डर अझै बढ्दै थियो ।
पथरीबाट गाडी अगाडि बढ्यो त्यो भन्दा छिटो मेरो मुटु दौडियो । मोबाइल बन्द, मनभित्र कति धेरै डर ? ड्राइभर बोल्दै थियो, म उसको जवाफ दिँदै थिए । गाडी इटहरी पुग्यो । थोरै मुटु दौडिन कम हुँदै गयो । तरहरा हुँदै फेरि जङ्गल सुरु भयो ।
सेउती पुल हुँदै तीनकुनेमा प्रहरीको चेकिङ थियो । गाडी रोकियो कहाँबाट आउनु भएको ? ड्राइभरले जवाफ दियो–भद्रपुर एयरपोर्टबाट आएको सर । वहाँ चै को हो ? मेरो चेली । घर आइपुग्न लागेको थियो । मेरी चेली भन्ने जवाफले मन खुसी पनि भएको थियो । बरगाछी आइपुगेपछि मैले भने ‘दाइ मलाई यही रोकिदिनुस’ । घर कता हो बैनी घरमै पु¥याइदिन्छु’ राति भइसक्यो फेरि तपाईँको सामान पनि छ । मैले बाटो देखाए उसले घरमै लगेर छोडि दिए । सामान पनि बोकेर भित्रै लगेर छोडिदिए अनि….
अनि मेरो मम्मीलाई हेर्दै भने आमा बहिनी ल्याइदिएको छु । ओठमा मीठो मुस्कान दिदै उनी लागे आफ्नो बाटो ।
आमा बहिनी ल्याइदिएको छु ……… यो शब्दले अघि डराएको ढुकढुकीमा शितलता ल्यायो कस्तो मीठो शब्द, आमा बहिनी ल्याइदिएको छु….
अनि सोच्न बाध्य बनायो । सबै ड्राइभर त फटाहा नहुँदा रहेछन् नि ? अनि फेरि सोच्न मन लाग्यो, ड्राइभर होस् या प्रहरी या अन्य कुनै पेशा, पेशा खराब हो र ? खराब त् प्रवृत्ति होइन र ? हाम्रो समाजमा पेशा विभिन्न छन् जस्तो कोहि ड्राइभिङ पेशामा छन्, डाक्टर, इन्जिनियर, प्रहरी, अफिसमा काम गर्ने कर्मचारी, विभिन्न क्षेत्रमा, संघ संस्थामा आवद्ध विभिन्न पेशा अङालेका मान्छेहरु छन् । तर, पनि विशेष गरी हाम्रो समाजमा ड्राइभर र प्रहरी पेशालाई अलि नराम्रो दृष्टिकोणले हेरिन्छ अरु कुरा त थाहा छैन । केटीसँगको सम्बन्ध र अनैतिक सम्बन्धका विषयमा जोडेर हेर्ने गरेको पाइन्छ । अनि त्यही समाजमा हुर्किएका हामी ड्राइभर र प्रहरी पेशालाई मात्र हामी अनैतिक सम्बन्धमा हुने पेशाको रुपमा हेर्ने गर्छौ । व्यक्ति र पेशा फरक कुरा होइन र ? एउटा व्यक्तिको चरित्र उसको पेशामा नै गएर जोडिएको हुन्छ त ? के सबै मानिस पेशाले गर्दा नै खराब हुन्छन् त? पेशा र प्रवृत्ति फरक कुरा होइनन् र?
हामी अक्सर सबै मानिसलाई उसको व्यवहारले भन्दापनि उसको पेशाले मुल्याङ्कन गर्ने गर्छौं ड्राइभर भन्न साथ ए…. बेहोरै नहुने । प्रहरी भन्न साथ अर्कै नजरले हेर्ने पत्रकार भन्न साथ जे लेख्छ जे बोल्छ भन्ने सोच्ने, अन्य पेशा बारेपनि यस्तै यस्तै … ।
ड्राइभर र प्रहरी पेशालाई बिशेषगरि अनैतिक सम्बन्ध राख्ने पेशा हो भन्ने हामिले बुझेका छौं । यी पेशा बाहेक अन्य पेशाका मानिस खराब या अनैतिक सम्बन्ध राख्ने हुँदैनन् त ? के यो दुनियाँमा दुइटी श्रीमती ल्याउने र अनैतिक सम्बन्ध राख्ने ड्राइभर र प्रहरी मात्र हुन् त ? एउटा व्यक्ति खराब हुँदा सबै संस्था र संगठन नै खराब हुन्छ र ? के प्रहरी र ड्राइभरबाहेक अरुले अनैतिक सम्बन्ध राख्दैनन् होला त?
केही समयअघि व्यापारीलाई विर्तामोडको विभिन्न होटलमा पक्राउ गरेको भन्ने समाचार पनि सुनियो । के ति पनि ड्राइभर वा प्रहरी थिए र ? राजनीतिक दलका विभिन्न सभासद्लाई पनि विभिन्न परिस्थितिमा भेटियो भनेको समाचार पनि सुनेका छौ । के ति पनि ड्राइभर र प्रहरी मात्र हुन् त ? रेडियोमा कार्यरत जोडी बाटोमा गाडीभित्र नै पक्राउ परेको समाचार पनि त सुनेको ।
शिक्षकले, आफ्नै बुवाले, आफ्नै दाजुले अनैतिक कार्य गरेको घटनापनी त सुनेका छौ । केही बर्ष अघि एकजना शिक्षकले आफ्नै १४ वर्षीया विद्यार्थीलाई अश्लिल म्यासेज पठाएको खबर पनि बाहिर आएको थियो । के ति पनि ड्राइभर र प्रहरी हुन् त ? औषधि गर्न गएकी बुहारी डाक्टरसँग राति होटलमा भेटियो भन्ने समाचारले त झनै सामाजिक सञ्जाल नै भरिएको थियो ।
यी माथिका घटना मात्र उदाहरण हुन् । यहाँ पात्र फरक फरक पेशाका छन् अनि घटना एउटै प्रवृत्तिको देखिन्छ । कुनै पेशा मात्र गलत हुने भए यी घटना एउटै पेशाका व्यक्ति देखिनुपर्ने होइन र ?
पेशा वा कुनैपनि संगठन आफैमा खराब हुँदैन । पेशा त्यो बेला खराब त्यतिबेला देखिन सक्छ, जब एउटा प्रहरी वर्दीमा केटी जिस्काउँछ, अनैतिक सम्बन्ध राख्छ, शिक्षकले पढाउँदा केटीलाई हातले सुम्सुम्याउँदै अनैतिक कार्य गर्न चाहान्छ । हो त्यतिबेला पेशा नै खराब जस्तो देखिन्छ । तर खराब त्यस्मा सवार व्यक्ती हुन्छ ।
केही व्यक्तिको व्यक्तिगत आचरणका कारण पुरै पेशा र संगठन खराब भन्न मिल्छ र ? पेशालाई मर्यादित बनाउने जिम्मा त्यँही व्यक्तिको हो जो त्यो पेशामा संलग्न छ । त्यसैले अरुको कामबारे विभिन्न टिकाटिप्पणी गर्नुभन्दा आफ्नो कामलाई आफैले मर्यादित बनाउँन जरुरी छ । एउटै पेशाका फरक फरक आचरण भएका व्यक्ती देखेका छौ । पेशा गलत कहिले हुनै सक्दैन, गलत त त्यो पेशालाई कसरी अगाडि बढाएको छ त्यो व्यक्तीको आचरण गलत हुन्छ । कसैको पेशालाई गाली गलोज गर्नु पुर्व पेशामा सवार व्यक्तिको प्रवृत्तिलाई ख्याल गर्न जरुरी हुन्छ कि ?