पाँचथर । धरान- १८ बुद्धचौकस्थित न्यु कान्तिपुर होटल एन्ड गेष्ट हाउसमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । मृतक पाँचथरको मिक्लाजुङ-१ की ३९ वर्षीया सुमित्रा तामाङ रहेको पुष्टि भएको छ ।
तामाङ मंगलबार बिहान होटलमा मृत भेटिएकी थिइन् । धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार मृतक महिलाको साथबाट नागरिकता पनि फेला परेपछि सोही ठेगानामा खोजी गर्दा उनका छोरा र छोरीबाट पहिचान खुलेको हो ।
प्रारम्भिक जानकारी अनुसार महिलाका श्रीमान् भारतीय सेनाका पूर्वगोर्खा सैनिक रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको पाइएको प्रहरीले जनाएको छ । तामाङ इटहरी उपमहानगरपालिका-५ तुलसा टोलमा विगत ५ वर्षदेखि बसोबास गर्दै आएको उनका छोराछोरीले बताएका छन् ।
प्रनाउ कुँवरले भने, ‘तामाङसँगै दुई दिनदेखि सोही कोठामा बस्दै आएका पुरुषको खोजी भइरहेको छ । ती पुरुष र उनीबीचको सम्बन्ध खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा पठाएको छ ।