काठमाण्डाैं ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाली कांग्रेसलाई माधव नेपालसहितका १४ सांसदमाथि कारबाही या सभामुख अग्नि सापकोटालाई हटाउन तयार भएमा सहकार्य हुने बताएको छ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार राति भएको वार्ताका क्रममा एमालेले पुरानै अडान दोहोर्याउँदै यदि ती माग पूरा भएमा एमसीसीबारे तत्कालै निर्णय लिन तयार रहेको जनाएको हो।
बैठकपछि एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेको एउटा एजेन्डा सम्बोधन भएमा एमसीसीबारे संसदमा छलफल गरेर निकास दिन सकिने कुरा भएको बताए।
‘एमालेको भित्री एजेन्डा छैन। हामीले त १४ सांसदलाई कारबाही या सभामुखको राजीनामा खोजेका हौँ। यो सामान्य कुरा होइन, लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यतामा यसले असर गर्छ’, उनले भने, ‘एउटा दलले गरेको कारबाही तात्तातै सदर तर हामीले गरेका कारबाही ६ महिनासम्म झुलाएपछि लोकतान्त्रिक अभ्यासमै यसले असर गर्छ। तसर्थ दुईमा एक निर्णय सत्तारुढ कांग्रेसले लिएमा सहकार्य हुन सक्छ।’
ज्ञवालीले यदि त्यो कुरा पनि पूरा हुन नसक्ने हो भने ताजा जनादेशमा जान तयार हुनुपर्ने अडान राखेको छ। उनले संसद बन्धक भएको बताउँदै ‘अर्ली इलेक्सन’मा जान सकिने पनि कुरा राखिएको उल्लेख गरे।
‘हाम्रा कुरा सामान्य छन्। यदि हाम्रो मागमा सुनुवाइ हुँदैन भने हामीले त पहिलेदेखि नै ताजा जनादेशको कुरा गरिरहेका छौँ। यो संसदले काम गर्न सकेन। केही नेताहरुले यसलाई बन्दी बनाए’, उनले भने, ‘त्यसो भएकाले अब निर्वाचनमा जाऊँ। जनताबीचमा हामीले छिटो जानु परेको छ। संसद विघटन नगरी पनि अर्ली इलेक्सन गर्न सकिन्छ।’
निर्वाचनमा जाने कुरामा तयार नभए एमालेलाई कम्तीमा संसदमा पस्न दिनुपर्ने अडान अध्यक्ष ओलीसहितका नेताहरुको थियो।
‘हाम्रो कुरा प्रष्ट छ, संसद चल्नुपर्यो। संसदमा हामीलाई पस्न दिनुपर्यो। हामीलाई अहिले सत्तामा जान रुची छैन’, उनले भने, ‘हामीले निर्णय दिन संसदमा छलफल त गर्नुपर्यो नि। तर यो संसदलाई अब जति धक्का दिएर ठेले पनि अगाडि बढ्न सक्दैन। यो काम नलाग्ने भइसकेकाले निर्वाचनमा जानुछ।’
यो वार्तामा एमसीसी पास गर्ने विषय र संसदको गतिरोध हटाउनेबारे छलफल भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
कार्कीका अनुसार प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका थिए। उनले सत्ता र प्रतिपक्ष पनि मिलेर एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए।
कार्कीले पनि एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेको सुनाए। ओलीले संसदमा धारणा राख्ने अवस्था नभएको र एमसीसीबारे छलफल गर्न कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने नभए सभामुखको अग्नि सापकोटाले राजीनामा दिनुपर्ने शर्त दोहोर्याएको कार्कीले बताए।
साथै एमालेले मा जान सुझाव दिएको बैठकमा सहभागी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले एमालेका माग पूरा नगरे ‘अर्ली इलेक्सन’ जान सुझाव दिइएको बताए ।
बैठकमा लोकतन्त्रका लागि लडेका शक्तिहरु (कांग्रेस-एमाले) आधारभूत समझदारी गरेर अघि बढ्नुपर्नेमा सकारात्मक भएका ज्ञवाली र कार्की दुवैले बताएका छन्।
कार्कीले लोकतन्त्रको यात्राका सहयात्री
भएकाले कांग्रेस-एमाले एकै ठाउँमा हुनुपर्नेमा एमाले अध्यक्ष ओलीले जोड दिएको बताए।
ज्ञवालीले प्रधानमन्त्री देउवाले दुई शक्तिबीच फराकिलो ढंगले सोचेर मिल्नुपर्ने कुरा राखेका थिए। तर उनले एमालेका मागबारे ठोस निर्णय दिन नसकेको बताए।
दुवै नेताले आजको संवादपछि कांग्रेस-एमाले दुई पाइला अगाडि बढेको बताए। तर त्यो दुई पाइला सहमति नजिक हो या अझै सहमति बन्न बाँकी रहेकोबारे केही खुलाएनन्। दुई दलबीच आइतवारको संसद बैठकअघि फेरि संवाद हुन सक्ने ज्ञवालीले बताए।