इलाम । प्रक्रिया सुरु भएको २० वर्षपछि इलामबाट काठमाडौंका लागि बुधबारदेखि नियमित उडान सुरु भएको छ । इलाम नगरपालिका ९ मा निर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट तारा एयरले बुधबारदेखि नियमित उडान थालेको हो ।तारा एयरले २०७५ सालमा हवाई मैदान पक्की नभएको अवस्थामा पनि परीक्षण उडान गरेको थियो । काठमाडौंबाट तारा एयरका प्रमुखसहित पर्यटन क्षेत्रका अगुवाहरू गरी ११ जना यात्रु लिएर आएको विमान फर्कँदा १५ जना यात्रु लिएर राजधानी फर्किएको थियो ।
व्यवसायिक उडान भएकोमा खुसी मनाउन ठूलो संख्यामा स्थानीयहरू यात्रुलाई स्वागत गर्न विमानस्थल क्षेत्र पुगेका थिए । यसअघि नेपाल वायु सेवा निगमको विमानले माघ २६ गते परीक्षण उडान गरेको थियो । सोही विमान गत फागुन १ गते सफल अवतरण गर्दै विमानस्थलको औपचारिक उद्घाटन गरेको थियो ।
अब हरेक बिहीबार र आइतबार इलाम र काठमाडौंबीच हवाई सेवा सञ्चालन हुनेछ । तत्काललाई प्रतियात्रु ८ हजार ७ सय रुपैयाँ भाडा कायम गरिएको छ ।
इलाम नगरपालिकाका मेयर महेश बस्नेतले तत्काललाई यो भाडादर कायम गरिए पनि यात्रुको चाप र इन्धनको मूल्यलाई हेरेर समायोजन गर्न सकिने बताए । इलाम नगरपालिकाले न्युनतम ११ जना यात्रु अनिवार्य गराउनु पर्ने नत्र सोही बमोजिम भाडा तारा एयरलाई बुझाउने गरी २४ वटा उडानका लागि सम्झौता गरेको हो ।