इलाम । इलाम सदरमुकामस्थित धोबिधारा–कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर ४ महिनायता अवरुद्ध मेची राजमार्ग आज (सोमबार) देखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
पहिरो झरेको भित्तो कोपरेर अहिले साँझदेखि एकतर्फी रूपमा सवारीका साधन गुड्न थालेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए। ‘तत्काललाई एकतर्फी भएपनि मेची राजमार्ग खुलेको छ,’ उनले भने, ‘रातिको समयमा अझै पनि केही जोखिम छ तर दिउँसो मालबाहक सवारी साधन गुडाउन सकिने भएको छ।’
कुलधाराबाट धोबिधारातर्फ दिउँसो र राति नै साना–ठूला सवारी साधन गुडाउन सक्ने भएपनि धोबिधाराबाट कुलधारापट्टि ओरालो कच्ची सडक रहेकाले राति केही जोखिम रहेको उनले जनाए। ‘एकतर्फी सवारी साधन गुड्दा पनि इलाम बजारमा ४ महिनादेखि हुने गरेको सवारी जाम अब करिब अन्त्य भएको छ,’ उनले भने, ‘तर, पक्की सडक भएर दुईतर्फी सवारी साधन गुड्न केही समय लाग्छ।’डिभिजन सडक कार्यालयले मर्मतको काम गरिरहेको छ। पक्की सडक बनाउन अझ केही महिना लाग्ने डिभिजन प्रमुख विदुर पोख्रेलले बताए। ‘अहिले रातदिन काम भइरहेको छ, मेची राजमार्ग चालू गर्न सकेसम्म छिटो काम गराइरहेका छौं,’ डिभिजन प्रमुख पोख्रेलले भने।
गत असोज १६ गते बिहान वर्षा नै नभएका बेला यहाँको करिब २० मिटर मेची राजमार्ग ८० प्रतिशतभन्दा बढी झरेको थियो। बाँकी सडक पनि चर्किएर जोखिम भएपछि ४ महिनादेखि सवारी साधन बन्द थिए। गत कात्तिक ४ गते अविरल वर्षापछि आएको पहिरोले यो भाग पूरै चुँडिएपछि राजमार्ग थप क्षतिग्रस्त थियो। भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग ह्युमपाइपसहित पहिरो झर्दा अवरुद्ध बनेको थियो।
मेची राजमार्ग चुँडिएपछि पाँचथर र ताप्लेजुङबाट झापा आउ–जाउ गर्ने सवारी साधन बन्द थिए। वैकल्पिक मार्गका रूपमा इलामको जिरोकिलोमिटर–इलाम बजार–धोबिधारा सडक प्रयोग गरिएको थियो। तर, यो सडक साँघुरो भएकाले रातिमात्र मालबाहक सवारी साधन चल्दैथिए। सवारी साधन रातिमात्र चलाउन मिल्ने भएपछि झापाबाट–पाँचथर–ताप्लेजुङ चल्ने मालबाहक अथवा ठूला सवारी साधनलाई सास्ती थियो।