सरला रेग्मी,पाँचथर ।कोरोना भाइरसको (कोभिड १९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढ्ने क्रममा छ । सरकारी तथ्यांक हैर्दा संक्रमितको संख्या दैनिक बढ्दो अवस्थामा छ ।
परिक्षण गर्नेको संख्या भन्दा पनि परिक्षण नगर्नेको संख्या बढी हो कि अनुमान समेत गर्न लागिएको यो बेला न्यूनतम स्वास्थ्य सावधानी समेत नअपनाईएको अवस्था देखिन्छ ।
ओमिक्रोनको लक्षण रुघाखोकी जस्तै हो भन्ने बुझाई देखिन्छ । कोरोना संक्रमणका कारण भएको मृत्युु पनि क्रमशः उकालो लाग्न थालेको सरकारी तथ्यांकले देखाउन्छ । इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्ण पौडेलले अझै हामी उच्च अबस्थामा पुगेका छैनौ भनेका छन् ।
तेस्रो लहरको उत्कर्षमा पुग्न लाग्दा पाँचथर जिल्लामा पनि गत आईतबारबाट कोरोना परिक्षण हुन थालेको छ । हाल सम्म ८७ जनाको परिक्षण हुदा २० जना संक्रमीत भएका छन् । अस्पतालमा भने कोरोनाको बिरामी भर्ना भएका छैनन् ।
सुरुवातमा खासै संक्रमित नदेखिने तर केहि दिनमै भुषको आगोझै फैलिएको विगतको अनुभव रहेको छ । अहिले जसरी दिनप्रतिदिन संक्रमण बढेको छ, त्यसले आगामी हप्तामा अस्पतालमा आइसियु तथा भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामिको संख्या बढ्ने देखिन्छ । कोरोना संक्रमण हुने र अस्पताल भर्ना हुने समयमा अन्तर हुन्छ । अर्थात संक्रमीत भएर अस्पताल पुग्ने अधिकांश संख्या केही हप्तापछी मात्रै पुग्ने डाक्टरहरु बताउँछन् ।
पाँचथरमा पनि परिक्षण भएको मिति देखि हेर्दा संक्रमितको संख्या दोब्बर हुँदै गएको देखाउछ । त्यसैले अबका केही हप्ता कठिन हप्ता हुने देखिन्छ । संक्रमण दर बढ्दै गएपनी जिल्लामा यसको नियन्त्रण, उपचार र व्यवस्थापनका लागि प्रभावकारी पूर्व तयारी भएको देखिदैन । दोस्रो लहरमा जिल्लामामात्र २९ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् । जिल्ला बाहिर उपचारको क्रममा मृत्यु हुनेको संख्या छुट्टै छ । कोभिडका कारण ठुलो सास्ती खेपेर उपचार गराएकाको संख्या धेरै छ ।
लक्षण देखिएको एन्टीजेन परिक्षण भईरहेको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन सोम दगालले बताए । जिल्लामा पिसिआर परिक्षण भने भएको छैन् । अघिल्लो साल पिसिआरको लागि जिल्ला अस्पतालले स्वाब संकलन गर्ने, नगरपालिकाले स्वाब लैजान गाडिको प्रबन्ध गर्ने र जिल्ला स्वास्थ्य कार्यलयले भिटियम टुबको व्यबस्थापन गर्ने निर्णय भएपनी यो पटक भने मौखिक निर्णय समेत नभएको दंगालले बताए ।
अस्पतालमा १० बेड कोरोना संक्रमितकोलागी राखिएको छ । विरामीको संख्या बढ्ने हो भने कहाँ राखेर उपचार गराउने भन्ने समस्या हुने देखिन्छ । गतबर्षनै अस्पतलालका लागि भेन्टिलेटर आएपछि थन्किएर बसेको छ । आईसियु बेड जिल्लामा एउटा पनि छैन । गत बर्ष आइसियु सञ्चालन गर्ने भनेर ठुलै हल्लाखल्ला भएको थियो । तर अहिलेसम्म आईसियु बेड सञ्चालन हुन सकेको छैन् । यस अघिनै सञ्चालनमा आउनु पर्ने अक्सिजन पाल्ट अझैसम्म सञ्चालनमा छैन् । अक्सिजन प्लान्टका लागि प्राबिधिक टोलि आइ नपुगेकोले जडान हुन नसकेको पाँचथर जिल्ला अस्पतालका निमित्त प्रमुख बरुण अग्रवालले बताए ।
अघिल्लो साल संक्रमणको बेला जिल्ला अस्पतालमा ६ जना डाक्टर र ७ जना नर्सभएपनि अहिले चार जना डाक्टरमात्र रहेको अग्रवालले बताए । बिद्यालय बन्द भएका कारण ६ देखि ७ जना विद्यालय नर्सलाई अस्पतालमा झिकाउन परिपत्र गरेको उनले बताए । अघिल्लो संक्रमणको बेला स्थानिय तहले बनाएर अस्थायि कोभिड अस्पतालको अवस्था, त्यहाँ रहेका समाग्रिको अवस्था तथा विभिन्न दाताहरुले सहयोग गरेका समाग्रिहरु कस्तो अवस्थामा छन् भन्ने यकिन जानकारी भेटिदैन ।
गतबर्ष कोरोना संक्रमण हुँदा जटिल समस्या भएका बिरामी थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजादै गर्दा बाटोमा ज्यान गुमाउने गरेका थिए । जिल्लामा भेन्टिलेटरका समाग्रि भएपनि सञ्चालन नुहँदा जटिल विरामीलाई रिफर गर्नु पर्ने अवस्था छ । । आईसियुमा २४ घण्टालागि दुइओटा टिम नै चाहिने हँुदा जनशक्ति अभावमा आइसियु संचालन गर्न नसकेको पाँचथर अस्पताल व्यवस्थापन समिती अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख विष्णु प्रसाद सापकोटाले बताए ।
जिल्लामा ५० शैयाको अस्पतालको भवनको काम विगतमानै सकिनु पर्ने हो । तर तीन पल्ट म्याद थपिदा पनि सकिएको छैन् । केहि साता आगाडी अनुगमनको क्रममा निर्माण व्यवसायीले माघ–१५ भित्रमा काम सक्ने दाबि गरेपनि सकिने अवस्था छैन् । तेश्रोपल्ट चैतसम्मलाई म्याद थपिएको थियो ।
जिल्लामा २० वटा एम्बुलेन्स रहेका छन् । गतबर्ष एम्बुलेन्सको चुस्त व्यवस्थापन हुन नसक्दा समस्या भएको थियो । जुन पालिकाका कोभिड संक्रमित हुन त्यही पालिकाले एम्बुलेन्स शुल्कः बेहोर्नुपर्ने डिसिएमसिमा निर्णय गरिसकेको रेडक्रस सोसाइटि पाँचथरका सभापति कृष्ण बास्कोटाले बताए ।
संक्रमण बढ्दै गएकाले आवश्यक पूर्व तयारी गर्न जिल्ला अस्पताललाई निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक सुरेश न्यौपानेले बताए । ‘अहिले सदरमुकाममामात्र एन्टिजेन परिक्षण भएको छ आवश्यक परे गाउँपालिकामा पनि जाँच्ने व्यवस्था मिलाउन निर्देशन गरिसकिएको छ’ न्यौपानेले भने ।