पाँचथर । ३० औं अपाङ्गता दिवसको अवसरमा अपाङगता भएका ब्यत्तिहरुको प्रतिभाको खोजि, सम्मान तथा प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ । करुणा फाउन्डेसन र फिदिम नगरपालिकाको आर्थिक सहयोग र सामाजिक विकास मन्त्रालय प्रदेश नं. १, जिल्ला समन्वय समितिको आयोजना तथा आपाङग सेवा संघ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका विभिन्न स्थानबाट सहभागि भएका फरक क्षमताभएका व्यक्तिहरुले निर्माण गरेका हस्त सामाग्रीको प्रदर्शन पनि गरिएको थियो । बासबाट बनाइएका विभिन्न सामाग्री, टेवल, लुगा झुन्ड्याउने हेङगर, बास बाटनै निमार्ण गरिएको पुरानो लोपोन्मुख बाजाहरु बिनायो, मुर्चुङगा, बासुरी, मुरली, महिलाले प्रयोग गर्ने बास बाट बनाइएको चिम्टि, साडिपिन लगाएत पोते तथा कृस्टल बाट बनिएका सामाग्री पनि राखिएको थियो । उत्त कार्यक्रममा फरक क्षमता भएका बालबालिकाले गित पनि प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा मुढा बनाउने दृष्टिविहीन फिदिम–५ का पृथ्वीराज तुम्बापो, शारीरिक रुपमा अशक्त फिदिम–३ का ललितबहादुर मुखिया र श्रवण शक्ति नभएका फिदिम–८ का टंकप्रसाद नेम्वाङ, शारीरिक अपाङ्गता भएर पनि बाँसका सामग्री उत्पादन गर्ने फिदिम–४ का चुडामणि बाँस्कोटा, वाद्यवादनका सामग्री बनाउने फाल्गुनन्द–५ का दीपेन्द्र चेम्जोङ, क्रिष्टलका सामग्री बनाउने फिदिम–११ की रञ्जु तामाङ, श्रवण शक्ति नभएपनि सिलाई कटाई गर्ने फिदिम–२ की इन्दिरा तुम्बापो र कुचो बनाउने फिदिम–१ की चम्पामाया चम्लागाईँलाई सम्मान गरिएको हो ।
यस्त,ै शारीरिक अपाङ्गता भएपनि बेसार उत्पादन गर्ने कुम्मायक–१ का गणेश आचार्य, पशुपालन गर्ने कुम्मायककै सुशिला आङदेम्बे, किराना पसल गर्ने फिदिम–३ की जुनमाया आङदेम्बे, किराना पसल गर्ने फिदिमकै दलबहादुर राई र फलामको काम गर्ने फिदिम–२ का केशरमान विश्वकर्मा छन् । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुको स्याहार सुसार गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने फिदिमका अनिस्मा शंकर, बालकुमारी थापा, दिलमाया श्रेष्ठ र आज्ञा तुम्बापोलाई समेत उक्त अवसरमा सम्मान गरिएको थियो । यस्तै दृष्टिविहीन भएपनि स्नातक तह उत्तिर्ण गरेका जिल्लाको हिलिहाङका प्रदीप लिङदेन र स्थायी शिक्षक बनेका फिदिम–१४ का पूर्णकुमार लिम्बू सम्मानित भएका छन् । यसैगरी शारीरिक रुपमा अशक्त बच्चा जन्माएको आरोपमा परिवारबाट हेंलामा परेकी फिदिम–४ की द्रौपदा गौतमलाई समेत बुधवार आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।
यस क्रममा आफैँ पेशा ब्यवसाय गरी आत्मनिर्भर बनेकाहरु तथा अपाङ्गता भएका आफन्तको स्याहार सुसार गरिरहेका परिवार प्रत्येकलाई न्यूनतम रु. पाँच हजार लागतमा आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरु समेत उपलब्ध गराइएको करुणा फाउण्डेसनका कार्यक्रम संयोजक केदार भण्डारीले जानकारी दिनुभयो । आर्थिक रुपले आत्मनिर्भर अपाङ्गता भएका ब्यक्तिहरु तथा परिवारका सदस्यहरुलाई सम्मानपत्र, खादा र नगदले सम्मान गरिएको थियो । उत्त कार्यक्रममा आफुहरुले अपाङ्ग भएकै कारण भोगेको समस्यापनी व्यक्त गरेका थिए । उनिहरुको जिल्ला अस्पताल अपाङ्गमैत्री नभएको गुनासो गरेका थिए । अपाङ्गता भएका व्यत्तिलाइ छिटो भन्दा छिटो हुइलचियर उपलब्ध गराउने र जिल्ला अस्पतालमा पनि हुइलचियर उपलब्ध गराउने करुणा फाउन्डेसनका इलाम पाँचथर प्रबन्धक अजित योज्जनले बताएका छन् ।