काठमाण्डाै ।
१३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको हो ।
माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालका लागि अञ्जन बिष्टले खेलको ८८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे । खेलको अन्तिम समयतिर बंगलादेशी खेलाडीले डिबक्स भित्र फाउल गर्दा नेपालले पेनाल्टीको अवसर पाएको हो ।
यसअघि खेलको ९ मिनेटमा बंगलादेशका सुमन रेजाले फ्रिकिकलाई हेडिङ गर्दै गोल गरेका थिए । खेलमा नेपालले बलमा नियन्त्रण राखेपनि डिफेन्सको कमजोरीले गोल खान बाध्य भएको थियो । तर खेलको बाँकी समय नेपालले दबाब कायम गर्न सक्दा नेपाल खेलमा फर्किएको हो ।
बंगलादेशी गोलरक्षक रेहमान जिकोले रेडकार्ड पाएर १० खेलाडीमा सिमित बनेको बंगलादेशमाथि नेपालले राम्रो फाइदा लिन सक्यो ।
नेपालले साफ च्याम्पियनसिपमा चार खेल खेल्दै दुई जित, एक बराबरी र एक हारसहित ७ अंक जोडेर फाइनल पुगेको हो । बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । यो खेल जितेको भए बंगलादेश फाइनल पुग्ने सम्भावना थियो ।
नेपालसँग फाइनल खेल्ने टोलीको आजै टुंगो लाग्नेछ । आज राति ९:४५ मा हुने भारत र माल्दिभ्स बीचको खेलबाट दोस्रो फाइनल खेल्ने टोलीको टुंगो लाग्ननेछ ।