विषाक्त मेथानोल नामक रसायन मिसाएर आफूखुसी स्यानिटाइजर बनाएको भन्दै २०७८ जेठमा ललितपुर प्रहरीले दुई व्यक्तिलाई पक्राउ ग-यो । पक्राउ पर्ने दुई व्यक्तिमा एकजना व्यापारी थिए, जसले स्यानिटाइजर उत्पादन गरेर बिक्री वितरण समेत गरिरहेका थिए भने अर्का व्यक्ति विद्यार्थी थिए, जसले उत्पादन गरे पनि बेचिसकेका भने थिएनन् ।अनुमति नलिई मादण्डसमेत पूरा नगरी विषाक्त स्यानिटाइजरको उत्पादन गरेको अभियोगमा महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले रामधुनी नगरपालिका १ झुम्का सुनसरीका २६ वर्षीय आशिष प्याकुरेललाई २०७८ जेठ ९ गते इमाडोलबाट र तानसेन नगरपालिका १३, पाल्पाका २३ वर्षीय दुर्गा भट्टराईलाई कुपण्डोलबाट स्यानिटाइजर बनाउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
उनीहरू दुवै जनाले घर तथा फ्ल्याट भाडामा लिई मापदण्ड विपरीतका स्यानिटाइजर बनाउँदै बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा छापा मारेर तयारी अवस्थामा रहेको स्यानिटाइजर, स्यानिटाइजर बनाउन प्रयोग हुने विभिन्न केमिकल आदिसहित पक्राउ गरेको थियो ।
तर स्यानिटाइजरमा हुनुपर्ने मात्रा भन्दा फरक पर्ने गरी शरीरलाई गम्भीर क्षति पुराउने प्रकृतिको ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको भन्दै उनलाई २०७८ जेठ ९ गते उनले सञ्चालन गरिरहेको कारखानाबाटै पक्राउ गरियो ।
प्रहरीले उनले कारखाना रहेको इमाडोल तथा गोदाम रहेको स्थान त्रिपुरेश्वरको दुई स्थानबाट भारी मात्रामा बनाइसकेको ह्याण्ड स्यानिटाइजर तथा स्यानिटाइजर बनाउन तयारी अवस्थामा राखिएको मिथानोल, इथानोल, ग्लिसेरिन तथा हाइड्रोजन पेरोअक्साइड बरामद ग-यो ।
आशिषले लाइफ लाइन ड्रप प्रालि नामक कम्पनी खोलेको भएपनि न उक्त संस्थाबाट स्यानिटाइजर उत्पादन गर्ने अनुमति लिएको पाइएको छ, न त उनले उत्पादन गरेको स्यानिटाइजरको गुणस्तर परीक्षण नै गरिएको थियो । प्रहरीले छापा मारी गुणस्तर परीक्षण गर्दा उनले उत्पादन गरेको स्यानिटाइजरमा १ दशमलब ५ प्रतिशतबाट नबढ्ने गरी मिथानोलको मात्रा रहनुपर्नेमा ५० प्रतिशतसम्म मिथानोलको मात्रा रहेको पाइएको थियो ।
आशिषले आफ्नै नाममा रहेको लाइफ लाइन सर्जिकल हाउस तथा गुड लाइफ सर्जिकल सप्लायर्स प्रा.लिको स्वामित्वमा रहेको त्रिपुरेश्वरस्थित गोदाममा समेत उत्पादन भइसकेको स्यानिटाइजर लगायतका सामाग्रीहरू भण्डारण गरी राखेका थिए । र, उक्त ह्याण्ड स्यानिटाइजरहरु गुडलाइफ सर्जिकल सप्लायर्स प्रालि, भण्डारी सर्जिकल हाउस, महालक्ष्मी इसान इन्टरप्राइजेज लगायतका होलसेलबाट बिक्री वितरण गरेका थिए । आशिष आफैँले न्यायाधीश र सरकारी वकिलको रोहवरमा गरेको बयानमा पनि करिब ६ लाख रुपैयाँको ह्याण्ड स्यानिटाइजर बिक्री वितरण गरिसकेको बताएका थिए । तर प्रहरीका अनुसार प्याकुरेलले करिब ४० लाखको स्यानिटाइजरको बिक्री वितरण गरिसकेका थिए ।
आशिषले उत्पादन गरेको नक्कली स्यानिटाइजरको ब्राण्ड नेम पनि नक्कली नै प्रयोग गरेका थिए । उनले उत्पादन गरेको स्यानिटाइजरमा Repacked By RCP Industries, Parsa लेखेका थिए, जबकि न उक्त कम्पनीले आशिषलाई रिप्याकिङका लागि अनुमति दिएको थियो न त उनले लेबलमा लेखाएका विवरण नै स्यानिटाइजरमा थियो ।
आशिषले भाडाको घरमै उत्पादन गरेका स्यानिटाइजरको राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा स्यानिटाइजरमा अत्यधिक मात्रामा मिथानोल मिसाइएको पाइएको थियो । उक्त मिथनोलले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने र मानिसको ज्यानसमेत जानसक्ने प्रतिवेदनमा उल्लेख थियो ।
औषधि व्यवस्था विभागका अनुसार मिथानोल नामक विषाक्त रसायन श्वासप्रश्वास, मुख, छाला र आँखाको माध्यमबाट शरीरमा प्रवेश गरी नकारात्मक असर गर्न सक्छ । मिथानोलले खोकी लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी भई वान्ता हुने, शरीर कमजोर हुने, स्वास फेर्न अप्ठेरो हुने, छाला सुख्खा तथा रातो हुने, दृष्टि धमिलो भई दृष्टिसमेत गुम्न सक्ने र मानिसको ज्यानै जानेसम्मको खतरा निम्त्याउन सक्छ । मिथानोल अत्यधिक विषाक्त तत्त्व रहेको भन्दै उक्त स्यानिटाइजरमा औषधिको मात्रा नपाइएको बताइएको थियो ।
साथै आरसिपी इन्डष्ट्रिजका कुनै पनि उत्पादन विभागमा दर्ता नभएको भन्दै उक्त स्यानिटाइजर उत्पादन गर्ने संस्था र व्यक्तिलाई कारवाही गर्न विभागले प्रहरीसमक्ष अनुरोधसमेत गरेको थियो ।
सोही तथ्य र प्रमाणका आधारमा ललितपुर जिल्ला अदालतमा आशिष प्याकुरेलमाथि मुद्दा दर्ता भयो । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ‘कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ को दफा ७ अनुसार दण्ड सजायको माग गरेको थियो । ऐनको दफा ७ मा यस्तो लेखिएको छ :
औषधीमा मिसावट र मिसावट भएको औषधीको विक्री
शुद्ध औषधीसरह विक्री वा प्रयोग गराउने नियतले वा त्यसरी बिक्री वा प्रयोग गरिने सम्भव छ भन्ने जानीजानी औषधिको प्रभाव शून्य हुने, घटी वा बदलिने वा हानिकारक हुने गरी कसैले कुनै औषधिमा मिसावट गरेमा वा त्यस्तो मिसावट भएको वा म्याद नाघेको औषधि हो भन्ने जानीजानी बिक्री गरेमा वा बिक्री गरेमा वा बिक्री गर्न उद्योग गरेमा वा बिक्री गर्न राखेमा वा उपचारको निमित्त कसैलाई दिएमा वा मिसावटको सम्बन्धमा जानकारी नभएका कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न लगाएमा निजलाई देहाय बमोजिमको सजाय हुन्छ ।
(क) ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्म कैद वा दश वर्षसम्म कैद र जरिवाना
(ख) शरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुनसक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना
(ग) अन्य अवस्थामा ५ वर्षसम्म कैद वा जरिवाना दुवै ।
सोही आधारमा अभियोजकले प्रतिवादी आशिष प्याकुरेलविरुद्ध ऐनको दफा ७ को उपदफा १ (क) बमोजिमको सजायको मागदावी गरेको थियो ।
स्यानिटाइजरमा विषाक्त मिथानोल मिसाएर बिक्री वितरणसमेत गरिसकेको, उक्त स्यानिटाइजरको बिक्री भई उपभोक्तासम्म पुगिसकेको र स्यानिटाइजरको मात्रा तथा उत्पादन पनि ठूलो भएको र यसले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको कारण ललितपुर जिल्ला अदालतका न्यायाधीश देवकुमार गिरीको इजलासले आशिषलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश सुनाए । र, आशिषलाई कारागार कार्यालय नख्खुमा पठाइयो ।
यस्तो छ दुर्गा भट्टराईको मुद्दा :
तानसेन नगरपालिका १३, छापटोल पाल्पाका २३ वर्षीय दुर्गा भट्टराई स्नातक चौथो वर्षमा अध्ययन गरिरहेका थिए । २०७७ फागुन महिनासम्म नयाँ बानेश्वरको एक बोर्डिङ स्कुलमा पढाउँथे । तर बोर्डिङ स्कुलले तलब दिन छाडेपछि उनले पनि रोजगारी गुमाए र आफैँ व्यापार व्यवसाय गर्ने सोच बनाए । अनि सर्जिकल सप्लायर्सको काम सुरु गरे ।
यही क्रममा कोभिड १९ को संक्रमण भयभित हुँदै गयो र नेपालमा स्यानिटाइजरको अभाव हुन थाल्यो । जतासुकैबाट ह्याण्ड स्यानिटाइजरको माग बढ्न थाल्यो । तर बजारमा स्यानिटाइजरको हाहाकार नै थियो । जहाँबाट पनि स्यानिटाइजरकै माग हुन थालेपछि भट्टराई आँफैले स्यानिटाइजर बनाउने सोच बनाए । इन्टरनेटमा स्यानिटाइजरको ‘फर्मुलेसन’ हेरे । अनि काठमाडौंकै विभिन्न स्थानबाट स्यानिटाइजर बनाउन इथानोल, मिथानोल, ग्लिसेरिन लगायतका कच्चा पदार्थ ल्याए र कुपण्डोलमा रहेको एक घरमा फ्ल्याट भाडामा लिएर स्यानिटाइजर बनाउन थाले ।
यही क्रममा प्रहरीले सूचना पायो कि भट्टराईले गुणस्तरहीन स्यानिटाइजर बनाइरहेका छन् । त्यसपछि २०७८ जेठ १० गते महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी औषधि व्यवस्था विभागका अधिकारीसहित भट्टराईले भाडामा लिएको घरमा पुग्यो । अनि तयारी अवस्थामा रहेको १ हजार २२३ लिटर तयारी स्यानिटाइजर बरामद ग-यो । ती स्यानिटाइजरहरुमा कतिमा मूल्यसहितको स्टिकर टाँसि सकिएको थियो भने केहीमा टाँस्न बाँकी नै थियो ।
तर भट्टराईले न स्यानिटाइजर बनाउने अनुमति लिएका थिए न उनलार्य यससम्बनधी कुनै ज्ञान नै थियो । न त स्यानिटाइजरको फर्मुलेसन मिलेको थियो न कतै गुणस्तर परीक्षणका लागि पठाएका थिए ।
त्यसपछि उनलाई प्रहरीले पक्राउ गरी सामान बरामद ग-यो । र, उनले उत्पादन गरेको स्यानिटाइजर परीक्षणका लागि औषधि व्यवस्था विभागमार्फत् राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको लागि पठाइयो ।
औषधि व्यवस्था विभागबाट २०७८ जेठ २६ गते प्रहरीलाई उपलब्ध गराइएको परीक्षण प्रतिवेदनमा बरामद गरिएको स्यानीटाइजरमा विषाक्त मिथानोल मिसाइएको पाइएको, उक्त ह्याण्ड स्यानिटाइजर प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने, उक्त स्यानिटाइजर ‘इन्स्ट्याण्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर, २०७६’ बमोजिमको गुणस्तर नभएको, परीक्षणका क्रममा ह्याण्ड स्यानिटाइजरमा औषधीको मात्रा नपाइएको उल्लेख गरिएको छ ।
उक्त मिथानोल नामक रसायन स्वासप्रश्वास, मुख, छाला र आँखाको माध्यमबाट शरीरमा प्रवेश गरी नकारात्मक असर गर्ने । यसले खोकी लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी भई वान्ता हुने, शरीर कमजोर हुने, स्वास फेर्न अप्ठेरो हुने, छाला सुख्खा तथा रातो हुने, दृष्टि धमिलो भई दृष्टिसमेत गुम्न सक्ने र मानिसको ज्यानै जानेसम्मको मिथानोल नामक विषाक्त तत्व रहेको प्रतिवेदन दिएको थियो । औषधि व्यवस्था विभागले । त्यसकारण उक्त व्यक्तिलाई आवश्यक कानुनी कारवाही गर्दै उक्त स्यानिटाइजर नष्ट गर्नका लागि विभागले प्रहरीलाई पत्रसमेत लेखेको थियो ।
भट्टराईले सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयान र ललितपुरका जिल्ला न्यायाधीश कृष्णराम कोइरालासमक्ष गरेको बयानमा पनि एकै मिलानको बयान दिएका छन् । आफूले पक्राउ पर्नुभन्दा ३ दिन अगाडिबाट मात्रै स्यानिटाइजर बनाउन सुरु गरेको भन्दै बजारमा विक्रीका लागि नपठाएको र यसबाट कोही व्यक्ति पीडित नभएको भन्दै गल्ती स्वीकार गर्दै माफ पाउँ भनी न्यायाधीशसमक्ष बयान दिएका छन् । उनले आफ्नो गल्ती भएको स्वीकार गर्दै गल्ती नदोहोराउने भन्दै माफीका लागि आग्रह गरेका छन् ।
उनीविरुद्ध सरकारी वकिलले कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ७ अनुसार दण्ड सजायको माग गरेको थियो । ऐनको दफा ७ मा यस्तो लेखिएको छ :
औषधीमा मिसावट र मिसावट भएको औषधीको विक्री
१. शुद्ध औषधी सरह विक्री वा प्रयोग गराउने नियतले वा त्यसरी बिक्री वा प्रयोग गरिने सम्भव छ भन्ने जानीजानी ओषधिको प्रभाव शून्य हुने, घटी वा बदलिने वा हानीकारक हुने गरी कसैले कुनै औषधिमा मिसावट गरेमा वा त्यस्तो मिसावत भएको वा म्याद नाघेको औषधि हो भन्ने जानीजानी बिक्री गरेमा वा बिक्री गरेमा वा बिक्री गर्न उद्योग गरेमा वा बिmत्री गर्न राखेमा वा उपचारको निमित्त कसैलाई दिएमा वा मिसावटको सम्बन्धमा जानकारी नभएका कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न लगाएमा निजलाई देहाय बमोजिमको सजाय हुन्छ ।
(क) ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्म कैद वा दश वर्षसम्म कैद र जरिवाना
(ख) शरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुनसक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना
(ग) अन्य अवस्थामा ५ वर्षसम्म कैद वा जरिवाना दुवै ।
सोही आधारमा अभियोजकले प्रतिवादी दुर्गा भट्टराईविरुद्ध ऐनको दफा ७ को उपदफा १ (क) बमोजिमको सजायको मागदाबी गरेको थियो ।
तर ललितपुरका जिल्ला न्यायाधीश कृष्णराम कोइरालाको इजलासले प्रतिवादी दुर्गा भट्टराई अध्ययन गर्दै गरेको विद्यार्थी भएको, निजले उत्पादन गरेको स्यानिटाइजर बजारमा बिक्री गरी कसैलाई हानी नपुराएको, निजको उमेर पनि कम नै रहेको भन्दै ७ लाख ५० हजार धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएका थिए । यद्यपि न्यायाधीशले प्रतिवादी कसुरदार हो भन्ने यथेष्ठ प्रमाण रहेको भन्दै पछि ठहरे बमोजिम हुने गरी हाललाई थुनामुक्त गर्न आदेश दिएका थिए । त्यसपछि दुर्गा ७ लाख ५० हजार धरौटी बुझाएर असारको ३ गते छुटेका थिए ।
यी दुवै मुद्दा एकै प्रकृतिको मुद्दा थियो । ललितपुर जिल्ला अदालतले कसुरको मात्रा, प्रतिवादीको उमेर तथा आर्थिक अवस्था आदि सबैलाई ध्यानमा राखेर प्रतिवादी दुर्गा भट्टराईलाई धरौटी लिई तारेखमा छाड्ने आदेश दिएको थियो भने आशिष प्याकुरेललाई व्यापार गरिसकेको, ठूलो परिमाणमा बरामद भएको आदि कारणले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।
तर सरकारी वकिललाई आशिषलाई थुनामै पठाउने आदेश चित्त बुझेपनि दुर्गा भट्टराईलाई थुनामुक्त गर्ने आदेश मन परेन । अनि सरकारी वकिल दुर्गालाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटन गयो ।
यता थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश सुनाइएका प्रतिवादी आशिष प्याकुरेल पनि थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्दै उच्च अदालतमा निवेदन लिएर पुगे ।
आशिषको मुद्दा उच्च अदालत पाटनका न्यायाधीशद्वय बामदेव ज्ञवाली र किरणकुमार पोखरेलको संयुक्त इजलासमा प-यो । अनि साउन २८ गते तिनै न्यायाधीशले आशिष प्याकुरेललाई पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै २० लाख धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिए ।
त्यसैगरी, अर्का प्रतिवादी दुर्गा भट्टराईको थुनछेकको निवेदन पनि सोही अदालतमै थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय श्रीमण कुमार गौतम र नीलम पौडेलको संयुक्त इजलासले भदौ १७ गते दुर्गा भट्टराईको थुनछेक आदेश उल्टाइदियो । ललितपुर जिल्ला अदालतको ७ लाख ५० हजार धरौटी राखेर थुना बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउने आदेश बेरितको देखिएको भन्दै उनलाई थुनामै पठाउने आदेश दियो ।
उच्च अदालत पाटनले ललितपुर जिल्ला अदालतमा एकैदिन दर्ता भएको मुद्दामा थुनछेक निवेदनमा फरकफरक आदेश दिएर आफ्नै अदालतको आदेश ‘बेरित’को बनाएको छ । थोरै परिमाणमा सामान जफत भएका, एक पढ्दै गरेका गरिब विद्यार्थीलाई थुनामा पठाउने आदेश दिएको छ भने पहिलेदेखि नै करोडौँका व्यापार गरिरहेका व्यापारी र बजारमा विषाक्त स्यानिटाइजर विक्री गरिसकेका व्यक्तिलाई भने धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।
हुन त यी दुवै आदेश फरक–फरक न्यायाधीशले दिएका छन् । यद्यपि बढी अपराध गर्नेलाई बढी सजाय र कम अपराध गर्नेलाई कम सजाय गर्ने न्यायको सर्वमान्य सिद्धान्त विपरीत एउटै अदालतबाट एकै प्रकृतिको अपराधमा फरकफरक आदेश आएको छ, जुन आदेश अदालतले भने झैँ ‘बेरित’को आदेश देखिन्छ ।
शनिबार, असोज १६, २०७८ मा प्रकाशित