काठमाडौँ । एमाले र जसपा विभाजको प्रभाव अब हुने तीनै तहको चुनावको मतपत्रमा पर्ने भएको छ।
गत बुधबार मात्रै संसदको सबैभन्दा ठूलो दल एमाले विभाजन भएर एकीकृत समाजवादी र चौथो ठूलो दल जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी बनेका छन्।
यसका कारण आउँदो फागुन–चैतमा हुने स्थानीय तहको चुनाव र १६ महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दलको चिन्हको स्थान पनि फेरबदल हुने भएको हो।
मतपत्रमा चुनाव चिन्ह राख्ने विषयमा सधैँ विवाद हुने गरेपछि २०७३ सालमा निर्वाचन सम्बन्धी कानुन बनाउँदा समानुपातिकतर्फ दलले प्राप्त गरेको मतका आधारमा अर्को चुनावका लागि चिन्ह निर्धारण हुने व्यवस्था गरिएको छ। मतपत्रमा हुने चिन्हको स्थानले पनि मतदातालाई प्रभाव पार्ने विश्वास गरिन्छ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६, प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ ले समानुपातिकमा पाएको मतका आधारमा अर्को चुनावका लागि चिन्ह निर्धारण हुने प्रबन्ध गरेको छ।
स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा उल्लेख गरिएको छ, ‘…निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा समावेश गरिनेछ।’
दल विभाजनका कारण समानुपातिकतर्फ पाएको मत पनि विभाजित भएको छ। यसका कारण मतपत्रमा हुने दलको चुनाव चिन्हको क्रम पनि फेरिएको छ। विभाजन नभएको अवस्थामा तीन तहको चुनावमा एमालेको चिन्ह ‘सूर्य’ पहिलो नम्बरमा रहने सुनिश्चित थियो।
तर अब प्रतिनिधिसभाका २३ जना सांसद मिलेर एकीकृत समाजवादी गठन गरेसँगै एमालको चिन्ह दोस्रोमा झरेको छ। गत २०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा एमालेले समानुपातिक तर्फ ४१ सिट जितेको थियो भने कांग्रेसले ४० सिट हात परेको थियो।
एकीकृत समाजवादीमा एमालेका १० जना समानुपातिकतर्फका सांसद नेकपा (एस)मा गएका छन्। यसले गर्दा कांग्रेसको चुनाव चिन्ह पहिलो नम्बरमा र एमालेको दोस्रोमा हुने भएको छ।
त्यस्तै गत चुनावमा समानुपातिक तर्फ १७ सिट जित्दै माओवोवादी केन्द्र तेस्रो भएको थियो। उसको समानुपातिकको चुनावमा कुनै फेरबदल नआएकाले अब हुने तीन तहको चुनावमा तेस्रो नम्बरमा गोलाकारभित्रको हँसिया हथौडा हुनेछ।
स्थानीय तह, प्रदेश र संघको चुनावमा चौथो नम्बरमा एकीकृत समाजवादीको चिन्ह हुनेछ। उसले अहिलेसम्म चुनाव चिन्हको टुङ्गो नलगाए पनि १० जना सांसद समानुपातिकतर्फ चौथो नम्बरमा छ।
त्यस्तै पाँच नम्बरमा उपेन्द्र यादव नेतृत्वको समाजवादीको चुनाव चिन्ह छाता हुनेछ। विभाजनपछि पनि जसापसँग प्रतिनिधिसभाका ८ जना सांसद छन्।
मतपत्रको छैठौँ नम्बरमा लोकतान्त्रिक समाजवादीको चिन्ह साइकल रहनेछ। जसापबाट विभाजन भएको लोकतान्त्रिक समाजवादीसँग समानुपातिक तर्फका ८ सहित २१ जना सांसद छन्।
मतपत्रको सातौँ नम्बरमा राप्रपाको हलो रहनेछ। विभाजन भएको भए राप्रपाले समानुपातिकतर्फ कम्तिमा ४ सिट कायम गर्ने अवस्था थियो। तर चुनावको मुखमा विभाजन भएको राप्रपा अहिले फेरि एकीकरण भइसकेको छ।
समाचार र तस्बिर देशसञ्चारबाट