जनबल रहेको राष्ट्रिय कांग्रेस र धनबल रहेको प्रजातन्त्र कांग्रेसको मिलनपछि नेपाली कांग्रेसको शक्तिमा झनै बढोत्तरी आयो। सुवर्णशमशेर र महावीरशमशेर जबरा एकता प्रक्रियामा आएपछि नेपाली कांग्रेस एकाएक धनी पनि भयो।
नेपाली कांग्रेस स्थापनासँगै उसले शान्तिपूर्ण आन्दोलनको बाटो त्यागेर सशस्त्र क्रान्तिको नीति अख्तियार गर्यो। नेपाल प्रजातन्त्र कांग्रेसले एकताअघि नै मुक्ति सेना गठन गर्न थालिसकेको थियो। नेपाली कांग्रेसले त्यसैलाई निरन्तरता दियो। सेनाका लागि बर्माबाट हतियार संकलन गरियो।
अनेक प्रयत्नपछि २००७ सालमा राणा शासन ढल्यो। प्रजातन्त्र आयो। बीपी गृहमन्त्री र सुवर्ण शमशेर अर्थमन्त्री बने। यद्यपि, राणा शासन ढलेपछिको पहिलो सरकार लामो समय टिक्न सकेन। सहमतिअनुसार विधानसभाको चुनाव हुने स्थिति पनि टर्दै गयो।
त्यसपछि कांग्रेसभित्र विग्रह बढ्दै गयो। मातृकाले बीपीलगायत मन्त्रीहरुको आलोचना गर्न थाले। गृहमन्त्रीले केही गर्न नसकेको आरोप लगाए।
त्यही बेला सरकारले जारी गरेको सुरक्षासम्बन्धी कानुनको विरोधमा आन्दोलन भयो। आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गर्दा चिनियाकाजीको मृत्यु भयो। यो काण्डपछि बीपीले राजीनामा दिए। उनको राजीनामासँगै सरकार ढल्यो।
त्यसपछि पार्टीभित्र टकराव झनै बढ्यो। भारत र दरबारको बलमा मातृका प्रधानमन्त्री भए। उनले लिएका कतिपय नीतिले पार्टीभित्र आलोचना त बढ्यो नै, दाजुभाइबीच मनमुटाव पनि तीव्र भयो। परिणामतः नेपाली कांग्रेस बीपी समूह र मातृका समूहमा विभाजित भयो। त्यसैक्रममा बीपीले पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुहुँदैन भन्ने विचार अगाडि सारे।
दाजुभाइबीचको मतभेद तत्कालका लागि भारतीय नेता जयप्रकाश नारायणको मध्यस्थतामा टुंगियो। २००८ चैतमा उनीहरु कलकत्ता गई सम्झौता गरेका थिए। त्यसपछि मातृकाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नहुने र बिपीलाई समर्थन गर्ने वक्तव्य सार्वजनिक गरे। ‘म आफ्नो प्रतिद्वन्द्वितालाई वापस लिन्छु र अन्तःस्करणबाट श्री बीपी कोइरालालाई आशीर्वाद दिन्छु’, मातृकाद्वारा २००८ चैत २८ मा जारी वक्तव्यमा भनिएको छ।
दुवै दाजुभाइ मिली ‘कोइरालावाद’को सिर्जना गर्न थालेको भन्दै पार्टीभित्र अर्को मोर्चा खडा भयो। त्यो मोर्चामा केदारमान व्यथित, बालचन्द्र शर्मा, भरतमणि शर्मालगायत थिए। उनीहरुले सभापतिको उम्मेदवारमा केदारमान व्यथितलाई अघि सारे।
यसैबीच, कांग्रेसको पाँचौँ महाधिवेशन २००९ जेठ १० देखि १२ (सन् १९५२ मे २३ देखि २५) सम्म जनकपुरमा सम्पन्न भयो। सो महाधिवेशनमा बीपीलाई सघाउने बताए पनि मातृकाले सभापतिका लागि मनोनयन गरेको नाम कानुनी रुपमा फिर्ता लिएनन्।
मातृकालाई नै सभापति बनाउनुपर्ने भन्दै उनी पक्षका भद्रकाली मिश्र लगायतले आवाज उठाए। त्यति मात्र नभइ महाधिवेशन सार्न प्रस्ताव राखे। तर, पारित नभएपछि उनीहरु व्यथितलाई समर्थन गर्न थाले। त्यसबाट सिर्जित परिस्थितिले अधिवेशनस्थलमा झडप भयो। व्यथित समूहले अधिवेशनस्थल परित्याग गरे।
तनावपूर्ण स्थितिमा भएको मतदानमा सभापतिमा बीपी विजयी भए। उनले २९८ मत प्राप्त गरेका थिए। त्यस्तै, मातृकाले ६८ र व्यथितले २ मत प्राप्त गरे। यो महाधिवेशनबाट महामन्त्रीद्वयमा धनमानसिंह परियार र राजेश्वरीप्रसाद उपाध्याय तथा सदस्यहरुमा मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, सुवर्णशमशेर, गणेशमान सिंह, महेन्द्रविक्रम शाह लगायत चुनिए। महामन्त्रीमा पछि ऋषिकेश शाह पनि थपिए।
जनकपुर अधिवेशनपछि मातृका र बीपी कोइरालाबीचको राजनीतिक सम्बन्ध झनै बिग्रेर गयो। मातृका र बीपीसँग मिल्न नसक्ने केही कार्यकर्ताले नेपाली कांग्रेस छाडेर नयाँ दल स्थापना गर्न थाले।
विवादकैबीच २००९ साउनमा कांग्रेसले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् हेरफेरबारे केही निर्देशन दियो। त्यसबाट प्रधानमन्त्री मातृका रुष्ट भए। पार्टीले सरकारको काममा हस्तक्षेप गर्न नहुने र मन्त्रिपरिषद्मा कसलाई राख्ने र हटाउने भन्ने विषय प्रधानमन्त्रीको विशेषाधिकार भएको उनको तर्क थियो। सोही अनुसार पार्टीलाई जवाफ पठाए।
तर, निर्णय अवज्ञा गरेको भन्दै कांग्रेसले मातृकालाई प्रधानमन्त्रीबाट राजीनामा दिन निर्देशन दियो। मातृकाले राजीनामा नदिएपछि पार्टी कार्यसमितिको २००९ साउन १० को बैठकले उनलाई निष्कासन गर्यो। उनीसँगै सोही पक्षका महावीरशमशेर, महेन्द्रविक्रम शाह र नारदमुनि थुलुङ पनि निष्कासित भए।
मातृकाले आफूलाई महासमितिले मात्रै कारबाही गर्न सक्ने बताए। २००९ भदौ १३ र १४ मा काठमाडौंमा बसेको पार्टीको महासमिति बैठकमा मतदानद्वारा मातृकालाई निष्कासन गर्ने प्रस्ताव पारित भयो। त्यसपछि भने मातृकाले राजीनामा दिए। उनले २०१० वैशाख १६ देखि १८ मा वीरगञ्जमा अधिवेशन गरि राष्ट्रिय प्रजा पार्टी गठन गरे।
(यहाँ उल्लिखित तथ्यगत जानकारीहरु मुख्यरुपमा राजेश गौतमको पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-२ बाट लिइएको हो।)
नेपाल लाइभ