काठमाडौं। विभाजित नेकपा एमालेको शक्ति सन्तुलन त्रिकोणात्मक बनेको छ । केपी ओली पक्ष र माधव नेपाल पक्षका साथै घनश्याम भुसालहरुको तेस्रो धारसमेत जन्मेपछि एमालेमा त्रिकोणात्मक शक्ति संघर्ष शुरु भएको हो । केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए नयाँ दल दर्ता गर्न सकिने अध्यादेश आएसँगै अब घनश्याम भुसालहरुको ‘तेस्रो धार’ले पनि चाहेको खण्डमा नयाँ दल दर्ता गर्न सक्ने स्थिति बनेको छ ।
निर्वाचन आयोगले मान्यता दिएको नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य संख्या २०३ हो । यसमध्ये २० प्रतिशत अर्थात ४१ जना केन्द्रीय सदस्यको साथ पाउने समूहले नयाँ दल दर्ता गर्न अध्यादेशले बाटो खोलिदिएको छ । जबकि माधव नेपाल समूहले मात्र होइन, तेस्रो धारले समेत आफ्नो पक्षमा २० प्रतिशतभन्दा बढी सदस्यहरु रहेको दाबी गरेका छन् ।संघीय संसदमा एमालेका १५४ सांसद छन् । प्रतिनिधिसभाका १२१ र राष्ट्रियसभाका ३३ जोड्दा कुल संख्या १५४ पुग्छ । यसमध्ये माधव समूहले २० प्रतिशत, अर्थात ३१ सांसद जुटाएमा केन्द्रीय सदस्य संख्या २० प्रतिशत नपुगे पनि अध्यादेशअनुसार पार्टी विभाजनले वैधानिकता पाउन सक्छ । एमालेको नवौं महाधिवेशनले १८१ सदस्यीय सदस्य निर्वाचित गरेको थियो ।
जसमा पदाधिकारीसहित २६ जना स्थायी कमिटी सदस्य थिए भने ३९ जना पोलिटब्युरो सदस्य (२४ पूर्ण, १५ वैकल्पिक) र ११६ जना केन्द्रीय सदस्य (२४ पूर्ण, १५ वैकल्पिक) थिए । १० प्रतिशत सदस्य मनोनित गर्न सकिने गरी विधानले २०३ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको थियो । यीमध्ये केही सदस्यको निधन भएको छ भने केही राजनीतिक नियुक्तिमा गएका छन् । तथापि निर्वाचन आयोगमा दर्ता रहेको २०३ सदस्यीय कमिटी नै एमालेको नवौं महाधिवेशनको केन्द्रीय संरचना हो ।