झापा । जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालयबाट लुटिएका १७ थान हतियार र १० हजार राउण्ड गोली अझै फेला परेकाे छैन ।आन्दोलनका क्रममा प्रदर्शनकारीबाट लुटिएका हतियार झाडी तथा चिया बगानमा भेटिन थाले पनि करिब डेढ दर्जन हतियार र १० हजार राउण्ड गोली भने अझै फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनको मौका छोपेर हतियार लुटेका थिए । जनपद प्रहरीबाट लुटिएको १५ थान हतियार नभेटिएको जिल्ला प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । जिल्लाकाे सशस्त्र प्रहरीबाट लुटिएको एक थान एसएलआर फेला नपरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीबाट लुटिएर फिर्ता नभएको हतियारमा एसएलआर १ थान, ३०३ राइफल १ थान, एसएमजी २ थान, सर्टगन १ थान, ईन्सास राइफल १ थान, मार्क फोर राइफल २ थान, रिवल्वर ४ थान, पेस्तोल १ थान र ग्यास गन २ थान गरी १५ थान हतियार फिर्ता भएको छैन । त्यस्तै ९ हजार ८१ राउण्ड गोली फिर्ता नभएको पनि प्रवक्ता खड्काले बताए ।
त्यस्तै, सशस्त्र प्रहरीतर्फ एसएलआर १ थान, एसएलआर म्याग्जिन ४ थान, राउण्ड ७.६२ एमएम ५३९ थान र ग्यास सेल ४ थान फिर्ता नभएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको हो ।




