पाँचथर । “हामी त सोल्टीनीहरु भेट्न रबि, सप्तमी बजार पुग्थ्यौं, भेट पनि आकलझुकल हुने, भेटहुन हटियानै पर्खनु पर्ने अनी त्यहि हटीयाबाट भेट नभएका साथिहरु लाई खबर पठाएर फेरी अर्को हटियामा भेट्ने गथ्यौं । अहिले त यो कथा जस्तै भयो ।” मिक्लाजुङ ३ का पुर्ण मगरले उबेलाको सम्झना सुनाए । कुनै बेला एक समय थियो,आफ्नो आफन्त तथा सोल्टी सोल्टीनीहरुको भेटघाटनै गाउँमा लाग्ने हटिया र मेलाहरुमा हुने गथ्यो । अनी फेरी अर्को हटिया भेटने बाचाका साथ छुटिने चलन थियो । उबेला यातायात र सञ्चारको अहिलेको जस्तो पहुच थिएन् । सूचना प्रवाहको महत्वपूणर् अंग रहेको थियो हटिया बजार । तर अहिले यि कुराहरु सुन्दा कथा झैं लाग्न थालेको छ । सूचना प्रविधि र सडक सञ्जालको विकाससँगै हाट बजारहरू हराउँदै गएका छन् ।
कुनै बेला तिथि मिलाएर लाग्दै आएका पाँचथरका ऐतिहासिक बजारमा हटिया लाग्न छाडेका छन् ।औँशी, पञ्चमी, दशमी, सप्तमी, नवमी,चतुरदशी, आदि तिथिबाट हटिया लाग्न सुरु भएका पाँचथरका अधिकांश हटिया हराउने अवस्थामा पुगेका छन् । जुन तिथिबाट बजार लाग्ने गरेको थियो प्रायः पाँचथरका अधिकांश ठाँउको नाम पनि तिथिबाटै राखिएका छन् । सप्तमी तिथिमा बजार लाग्ने भएको हुँदा मिक्लाजुङ-२ मा सप्तमी बजार, तुम्बेवा गाउँपालिका दशमी तिथिको नामबाट बजार लाग्दा दशमी बजार, फाल्गुनन्द गाँउपालिकाको केन्द्रमा पञ्चमी तिथिबाट बजार लाग्ने भएकाले पञ्चमी बजार नाम छन् ।
तिथिको नामबाट बजार लाग्दै आएका यी स्थानमा माओवादी द्वन्द्वकालमा तिथिलाई मासेर गतेबाट बजार लगाउन थालिएको थियो । पछि गतेबाट बजार नचलेपछि बारबाट बजार लगाउन थालेको स्थानीय बताउँछन् । कुनैबेला खचाखच्च हुने यी हटिया हिंजोआज सुनसान देखिन थालेका छन् । गाउँगाउँमा सडक पुगेपछि पनि हटियाको महत्व कम देखिन थालेको छ । गाउँगाउँमा खाद्यान्नलगायतका सामग्री पाउन थालेपछि स्थानीय खासै हटिया आउँदैनन् मिक्लाजुङ-२ सप्तमी बजारका गंगा आङदेम्बेले बताए ।
हाट बजार हराउँदै गएसँगै यहाँको इतिहास पनि हराउँदै जाने चिन्ता बढेको मिक्लाजुङ- ४ रबि बजारका स्थानिय रोहित राईले बताए । “धेरै पहिलाबाट तिथिको नामबाट रवि बजार, सप्तमी बजार, दशमी बजार, मिक्लाजुङ-३ पर्ने तृतीया बजार लाग्दै आएको थियो । तिथिबाट यी बजार लाग्न छाडेदेखि नै यी बजारको इतिहास संकटमा परेको छ, ।” राई भने, “हटिया हराउने खतार बढेसँगै यी बजारमा हुने कारोबार पनि हराएर जाने खतरा बढेको छ ।”
“पहिलाजस्तो ब्यापार तथा कारोबार छैन मान्छे हटिया बजार भनेर बजार आउन छाडे हामी बजार छाडेर कता जाने,” दशमी बजारमा ब्यापार गर्दै आएका रवि राईले गुनासो गरे । पुराना बजारमध्ये रवि बजार र पञ्चमी बजारमा तुलनात्मक रूपमा केही ठूलो हटिया लाग्छ । बाँकी सप्तमी, दशमी, आरुबोटे तृतीया, मैवा पञ्चमी बजारमा हटिया लाग्न छाडिसकेको स्थानीय बताउँछन् । पञ्चमी बजारमा अहिले महिनामा २ दिन हटिया लाग्ने गरेको छ । महिनाको १३ गते र २९ गते हटिया लाग्दा रवि बजारमा प्रत्येक शनिबार बजार लाग्ने गरेको छ । सप्तमी बजारमा प्रत्येक शुक्रबार, दशमी बजारमा बुधबार र तृतीयामा सोमबार हटिया लगाइने गरेको छ ।
अहिले त कोरोनाको कारण भिडभाड गर्ने र हटिया लगाउन मिल्दैन तर समय अनुकुल भए पछि यस्ता इतिहास बोकेका हटिया हराउन नदिन गाँउपालिकाले विशेष कार्यक्रम ल्याउने मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमरराज माखिमले बताए । हटियालाई पुनःस्थापना गर्ने खालका कार्यक्रम ल्याउने तयारीमा मिक्लाजुङ गाउँपालिका लागेको माखिमले जानकारी दिए ।
संकटमा पशु बजार
२०२४ सालदेखि लाग्दै आएको सप्तमी बजारको हटिया संकटमा परेसँगै पाँचथरको पुरानो पशु बजार पनि हराउने अवस्थामा पुगेको छ । जिल्लाको पुरानो एकमात्र पशु बजार हराउने खतारा बढेसँगै यहँका स्थानीयमा चिन्ता सुरु भएको छ । “सप्तमी बजारलाई चिनाउने एउटा पशु बजार पनि हराउँदा यहाँको इतिहास नै हराउने भयो,” मिकलाजुङ २ का वडाध्यक्ष सन्तकुमार शेर्माले बताए । पशु बजार पुरानो भए पनि बजार ब्यवस्थापन समितिको आफ्नो जग्गामा बजार नलाग्दा बजार संकटमा परेको हो । पुरानो पशु बजार अहिले पनि ब्यक्तिगत जग्गामा लाग्दै आएको छ ।
पशु बजारको लागि चाँडै जग्गाको प्रबन्ध गरी अझ ब्यवस्थित गरिने मिक्लाजुङ-२ का वडाध्यक्ष सन्तोष शेर्माले बताए ।